काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार आयातसँगै निर्यातमा पनि उच्च वृद्धि हुँदा महिनाभरि नेपालको कुल वैदेशिक व्यापार दुई खर्ब रुपैयाँभन्दा माथि पुगेको हो ।

साउनमा नेपालले एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ बराबरका वस्तु विदेशबाट आयात गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को साउनमा एक खर्ब ४३ अर्ब ४० करोड ६९ लाख रुपैयाँको आयात भएको थियो । यस आधारमा एक वर्षमा आयात ३१.०४ प्रतिशतले बढेको छ ।
यस अवधिमा निर्यातको वृद्धिदर भने आयातभन्दा झण्डै दोब्बर देखिएको छ । साउनमा नेपालबाट ३८ अर्ब ७० करोड ४४ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन् । गत वर्षको सोही महिनामा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँको निर्यात भएकोमा यस वर्ष निर्यात ६१.७२ प्रतिशतले बढेको हो ।
निर्यातमा उल्लेख्य सुधार देखिए पनि नेपालको वैदेशिक व्यापार अझै आयातमुखी रहेको तथ्यांकले देखाएको छ । आयातको तुलनामा निर्यातको परिमाण निकै कम रहेकाले साउनमा मात्रै व्यापार घाटा एक खर्ब ४८ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
गत वर्षको साउनमा व्यापार घाटा एक खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ थियो। यस वर्ष घाटा २४.८८ प्रतिशतले बढेको हो ।
आयात र निर्यात दुवै जोड्दा साउनमा नेपालको कुल वैदेशिक व्यापार दुई खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कुल व्यापार एक खर्ब ६६ अर्ब ९७ करोड १० लाख रुपैयाँ रहेकामा यस वर्ष ३५.४४ प्रतिशतले वृद्धि भएको हो ।
यद्यपि, कुल वैदेशिक व्यापारमा नेपालको निर्यात हिस्सा भने बढेको छ । गत वर्ष साउनमा कुल व्यापारमा निर्यातको हिस्सा १४.३३ प्रतिशत रहेकामा चालू आर्थिक वर्षको पहिलो महिनामा यो बढेर १७.११ प्रतिशत पुगेको छ ।











