काठमाडौं । युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा रुसले गरेको पछिल्लो मिसाइल आक्रमणमा ८ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । बुधबार राति भएको आक्रमणपछि क्षतिग्रस्त संरचनाका भग्नावशेषमा मानिस फसेको हुनसक्ने भन्दै उद्धार तथा खोजी कार्य जारी छ ।

युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रुसी आक्रमणबाट आवासीय भवन, गोदाम तथा अन्य संरचनामा क्षति पुगेको छ । केही क्षेत्रमा आगलागीसमेत भएको छ भने उद्धार टोलीले भग्नावशेषमा फसेकाको खोजी गरिरहेको छ ।
किभका मेयर भिताली क्लित्स्कोका अनुसार आक्रमणबाट एउटा बाल अस्पतालसमेत प्रभावित भएको छ । अस्पतालका झ्यालका सिसा फुटेका छन्। आसपास पार्क गरिएका केही सवारीसाधनमा आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
आक्रमणको जोखिम बढेपछि किभ प्रशासनले राति नै हवाई आक्रमणको चेतावनी जारी गर्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । रुसी मिसाइलको सम्भावित आक्रमण रोक्न युक्रेनी हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको थियो ।
रुसको पछिल्लो आक्रमणपछि छिमेकी पोल्यान्डले पनि आफ्नो हवाई सुरक्षालाई उच्च सतर्कतामा राखेको छ । पोल्यान्डको सेनाले युक्रेनमा जारी रुसी आक्रमणको प्रभावलाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्रमा ‘सावधानीमूलक सैन्य विमान अभियान’ सुरु गरेको जनाएको छ । आवश्यक सैन्य स्रोत तथा फौजलाई तयारी अवस्थामा राखिएको पोल्यान्डले बताएको छ ।











