
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवेदनशील विषयमा आरोप, आशंका वा प्रचारका आधारमा धारणा बनाउनेभन्दा तथ्य र प्रमाणका आधारमा बहस गर्नुपर्ने बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले सञ्चारमाध्यममा आएका विषय, अदालतमा विचाराधीन मुद्दा र बयानका क्रममा कसैले नाम लिएको विषयलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने धारणा राखे । उनका अनुसार संवेदनशील विषयमा प्रश्न उठाउँदा सम्बन्धित व्यक्तिसँगै राज्यका संवैधानिक निकाय र संस्थाको प्रतिष्ठालाई समेत ध्यान दिन आवश्यक छ ।
‘आवाज ठूलो हुँदैमा तथ्य ठूलो हुने होइन,’ उनले भने, ‘प्रमाणहरू यति बलियो होउन् कि हामीले मुख रातो पारेर प्रश्न गर्न नपरोस्, प्रमाण देखेर आउनेहरूको मुख रातो होस् ।’
समितिमा प्रस्तुत हुने विषय तथ्य, प्रमाण, कानून र संविधानमा आधारित हुनुपर्ने उनको भनाइ थियो । समितिको गरिमा कायम राख्दै त्यहाँ उठाइने विषयलाई पछि चुनौती दिन नसक्ने गरी तथ्यपरक ढङ्गले प्रस्तुत गर्नुपर्ने उनले बताए ।
संविधान संशोधनका विषयमा पनि प्रतिनिधि सभामा दुई तिहाइ बहुमत पुग्दैमा मात्र प्रक्रिया पूरा नहुने लामिछानेले स्पष्ट पारे । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ पु¥याउन आफूहरू तयार रहेको बताएका सन्दर्भमा लामिछानेले संविधान संशोधनका अन्य संवैधानिक प्रक्रियालाई समेत ध्यान दिनुपर्ने बताए ।
‘प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा संविधान संशोधन गर्दैनौँ भन्ने त पक्कै पनि होइन,’ उनले भने, ‘संविधान संशोधनका लागि प्रतिनिधि सभाको मात्र दुई तिहाइले हुन सक्दैन ।’
सरकारलाई आवश्यक विषयमा सहयोग गर्ने प्रतिबद्धताको समेत उनले स्वागत गरे । संवैधानिक निकायमा नियुक्ति गर्दा संविधानले तोकेको प्रक्रियाअनुसार योग्यताका आधारमा अधिकतम मेरिटलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
कुनै व्यक्तिसँग असहमति वा विवाद भएकै कारण संवैधानिक संस्था र त्यसको नेतृत्वमाथि निरन्तर प्रश्न उठाउँदा संस्थाको गरिमा र विश्वसनीयतामाथि असर पर्न सक्ने लामिछानेले बताए ।
लोकतन्त्रका आधारस्तम्भका रूपमा रहेका संस्थालाई व्यक्तिप्रतिको असन्तुष्टिका कारण कमजोर बनाउन नहुने उनको धारणा थियो । संवैधानिक संस्थाको विश्वसनीयता नै समाप्त भए त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक प्रणालीमाथि पर्ने उनले चेतावनी दिए ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदसँग सम्बन्धित विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका निमित्त सचिव पद्म मैनालीले सेक्युरिटी प्रेस खरिद प्रकरण अहिले पनि अनुसन्धानकै चरणमा रहेको जानकारी दिएका हुन् ।
उनका अनुसार सार्वजनिक लेखा समितिबाट आयोगमा आएका करिब १० वटा निर्देशनमध्ये सेक्युरिटी प्रेस खरिदसम्बन्धी विषय पनि अध्ययन तथा अनुसन्धानको दायरामा छ । त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशनका आधारमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित २–३ वटा उजुरीमाथि समेत विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।
मैनालीले रौतहटको दुर्गा भगवती गाउँपालिका कार्यालयसँग सम्बन्धित अनुसन्धान भने पूरा भइसकेको र मुद्दा दायर गरिएको जानकारी दिए ।
बैठकमा आर्थिक वर्ष २०७४/७५ बाहेक अन्य आर्थिक वर्षमा अदालतबाट फैसला भएका अख्तियारका मुद्दामा ७० प्रतिशतभन्दा बढीमा कसुर कायम भएको जानकारी पनि दिइयो ।
विशेष अदालतबाट कसुर कायम नभएका अर्थात् सफाइ पाएका मुद्दामा आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्ने गरेको मैनालीले बताए।
सिमरा । तीन वर्षीया बालिका गरिमा चौधरी हराएपछि सिमराको दशधुरे बस्तीमा आइतबारदेखि नै खोजी सुरु भयो । परिवार, स्थानीय र प्रहरी बालिकाको खोजीमा जुटे । खोजीमा सघाउनेहरूमध्ये एक थिए सुमन थापा । तर मंगलबार साँझसम्म आइपुग्दा घटनाले यस्तो मोड लियो, प्रहरीसँगै बालिका खोजिरहेका थापा नै हत्याको आरोपमा पक्राउ परे ।
भदौ २ गते साँझ करिब ५ः४५ बजे जितपुरसिमरा उपमहानगरपालिका–२ भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाबाट बालिकाको शव फेला परेको थियो । शव भेटिएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब निरीक्षक दिलिप क्षेत्रीको कमाण्डमा ‘सोको’ सहितको टोली घटनास्थल पुग्यो ।
जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा थप टोली परिचालन गरियो। घटनास्थल सुरक्षित राखेर प्रहरीले अनुसन्धान अघि बढायो । शवको पहिचान गर्दा उनी जितपुरसिमरा–२ दशधुरीकी तीन वर्षीया गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिका साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन् । त्यसपछि परिवार र स्थानीयले खोजी थालेका थिए ।
मंगलबार साँझ प्रहरीले तालिमप्राप्त कुकुरसहित घटनास्थलमा अनुसन्धान गरिरहेको थियो । त्यही भीडमा थिए सुमन थापा । बालिका खोज्न प्रहरीलाई सघाइरहेका थापा घटनास्थलमा अरू स्थानीयझैं देखिन्थे ।
तर अनुसन्धानका क्रममा तालिमप्राप्त कुकुरले थापातर्फ संकेत गरेपछि प्रहरीको ध्यान उनीमाथि केन्द्रित भयो । अन्ततः उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिइयो ।
प्रहरीका अनुसार थापा वीरगञ्ज–पथलैया रुटमा चल्ने ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक हुन् । उनको काम गर्ने गाडीका चालक प्रोग्रेस चौधरीको घर बालिकाको घरनजिकै थियो । बालिका उक्त घरमा आउजाउ गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार थापाले बालिकालाई चकलेट दिने प्रलोभन देखाएर चालकको घरबाट घटनास्थलसम्म लगेको खुलेको छ । थापाले बलात्कारपछि बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । हत्या गरेपछि शवलाई कपडामा पोको पारेर खाली घरमा लगेर छाडिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनामा चालक चौधरीको समेत संलग्नता हुनसक्ने देखिएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ । यद्यपि थापाले प्रहरीसमक्ष घटनामा आफ्नो मात्रै संलग्नता रहेको बयान दिएको बताइएको छ । घटनामा अन्य व्यक्तिको संलग्नता भए÷नभएकोबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।
घटनाको खबर फैलिएसँगै सिमरामा आक्रोश बढेको छ । बालिकाको हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय सिमराअघि प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण वीरगञ्ज–पथलैया सडकखण्डमा केही समय यातायातसमेत प्रभावित भएको छ ।
गरिमा सरस्वती आधारभूत विद्यालयमा भर्खरै प्ले ग्रुपमा भर्ना भएकी थिइन् । घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कानुनअनुसार कडा कारबाहीको माग गर्दै स्थानीयले दबाब बढाइरहेका छन् ।
काठमाडौं । युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा रुसले गरेको पछिल्लो मिसाइल आक्रमणमा ८ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । बुधबार राति भएको आक्रमणपछि क्षतिग्रस्त संरचनाका भग्नावशेषमा मानिस फसेको हुनसक्ने भन्दै उद्धार तथा खोजी कार्य जारी छ ।
युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रुसी आक्रमणबाट आवासीय भवन, गोदाम तथा अन्य संरचनामा क्षति पुगेको छ । केही क्षेत्रमा आगलागीसमेत भएको छ भने उद्धार टोलीले भग्नावशेषमा फसेकाको खोजी गरिरहेको छ ।
किभका मेयर भिताली क्लित्स्कोका अनुसार आक्रमणबाट एउटा बाल अस्पतालसमेत प्रभावित भएको छ । अस्पतालका झ्यालका सिसा फुटेका छन्। आसपास पार्क गरिएका केही सवारीसाधनमा आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
आक्रमणको जोखिम बढेपछि किभ प्रशासनले राति नै हवाई आक्रमणको चेतावनी जारी गर्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । रुसी मिसाइलको सम्भावित आक्रमण रोक्न युक्रेनी हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको थियो ।
रुसको पछिल्लो आक्रमणपछि छिमेकी पोल्यान्डले पनि आफ्नो हवाई सुरक्षालाई उच्च सतर्कतामा राखेको छ । पोल्यान्डको सेनाले युक्रेनमा जारी रुसी आक्रमणको प्रभावलाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्रमा ‘सावधानीमूलक सैन्य विमान अभियान’ सुरु गरेको जनाएको छ । आवश्यक सैन्य स्रोत तथा फौजलाई तयारी अवस्थामा राखिएको पोल्यान्डले बताएको छ ।
नेपालगन्ज । लामो समयदेखि बन्द रहेको नेपालगन्ज–पोखरा नियमित हवाई सेवा भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ। निजी वायुसेवा कम्पनी बुद्ध एयरले यात्रुको माग बढेपछि यो रुटमा पुनः नियमित उडान सुरु गर्न लागेको हो।
बुद्ध एयर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहका अनुसार नेपालगन्जबाट पोखरा जाने यात्रुको संख्या बढ्नुका साथै भारतको उत्तर प्रदेशबाट आउने धार्मिक पर्यटकको आवागमन पनि बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो।
नेपालगन्ज–पोखरा उडानले भारतको उत्तर प्रदेश क्षेत्रलाई पोखरासँग हवाईमार्फत जोड्ने भएकाले धार्मिक तथा पर्यटन आवागमनका लागि महत्वपूर्ण मानिन्छ। यसअघि गत जेठ ५ गतेदेखि यो सेवा स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र सञ्चालन खर्चमा इन्धनको हिस्सा बढ्नुका कारण उडान रोकिएको बुद्ध एयरले जनाएको थियो।
पछिल्लो समय पर्यटकको चहलपहल बढेसँगै उक्त रुटमा यात्रुको माग पनि बढेपछि कम्पनीले सेवा पुनः सुरु गर्न लागेको हो। बुद्ध एयरका अनुसार अब नेपालगन्ज–पोखरा उडान सातामा तीन दिन हुनेछ। आइतबार, बुधबार र शुक्रबार उडान सञ्चालन हुने गरी तालिका तय गरिएको छ भने यात्रुका लागि बुकिङसमेत खुला गरिएको छ।
उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। यसले नेपालगन्ज र पोखराबीचको पर्यटन तथा व्यावसायिक आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
स्थानीय पर्यटन व्यवसायीको लामो पहलपछि २०७८ साल साउन १७ गतेदेखि नेपालगन्ज–पोखरा रुटमा सातामा तीन दिन नियमित उडान सुरु गरिएको थियो। सेवा पुनः सञ्चालन भएसँगै यस क्षेत्रका पर्यटन व्यवसायीले पर्यटक आवागमन थप बढ्ने अपेक्षा गरेका छन्।





