काठमाडौं । संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीले अब महिनामा दुईपटक तलबभत्ता पाउने व्यवस्था कार्यान्वयनमा ल्याउन महालेखा नियन्त्रक कार्यालयले पुनः निर्देशन दिएको छ ।

कार्यालयले आइतबार देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन तथा चालू आर्थिक वर्षको बजेट वक्तव्यमा गरिएको व्यवस्थाअनुसार अर्धमासिक तलब भुक्तानी प्रणाली लागू गर्न लागिएको महालेखाको परिपत्रमा उल्लेख छ । नयाँ व्यवस्था कार्यान्वयनका लागि आवश्यक प्रणालीगत सुधारसमेत भइसकेको कार्यालयले जनाएको छ ।
अब कर्मचारीले नियमित रूपमा पाउँदै आएको मासिक तलबभत्तासँगै थप गरिएको कर्मचारी प्रोत्साहन भत्तासमेत अर्धमासिक रूपमा प्राप्त गर्नेछन् । महिनाको १५ दिन पूरा भएपछि सो अवधिमा प्राप्त हुने पारिश्रमिक भुक्तानीको प्रक्रिया अघि बढाउन कोष तथा लेखा नियन्त्रक कार्यालयलाई भनिएको छ ।
यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैशाख ४ गते नै नीतिगत मार्गदर्शनअनुसार प्रत्येक १५ दिनमा कर्मचारीलाई तलब भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएका थिए । तर, आवश्यक प्रक्रिया र प्रणालीगत तयारी पूरा हुन नसक्दा उक्त व्यवस्था तत्काल कार्यान्वयनमा आउन सकेको थिएन ।
महालेखाका अधिकारीका अनुसार हाल यो व्यवस्था संघीय सरकारअन्तर्गतका कर्मचारीमा मात्र लागू हुनेछ । प्रदेश तथा स्थानीय तहका कर्मचारीको हकमा भने सम्बन्धित प्रदेश वा स्थानीय सरकारले आवश्यक निर्णय गरी अर्धमासिक तलब भुक्तानीको व्यवस्था अघि बढाउन सक्नेछन् ।












