काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेजले विवाह गरेका छन् । लामो समयदेखि सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाले अगस्ट ११ मा पोर्चुगलको कास्काइसमा विवाह गरेको पुष्टि गरेका हुन् ।

स्पेनी खेलकुद अखबार ‘मार्का’का अनुसार विवाह समारोहमा रोनाल्डो र जर्जिनाका पाँचै सन्तानसहित उनीहरूका अत्यन्तै निकट आफन्तहरू मात्र सहभागी थिए । समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार विवाह रोनाल्डोकै निजी निवासमा भएको हो ।
कास्काइसको महँगो तथा विशेष क्षेत्र क्विन्टा दा मारिन्हामा रहेको रोनाल्डोको निवासमा विवाह गर्नुको उद्देश्य समारोहलाई निजी राख्नु रहेको अनुमान गरिएको छ । सञ्चारमाध्यम र क्यामेराबाट टाढा रहेर सीमित आफन्तको उपस्थितिमा विवाह गर्न सहज हुने भएकाले उनीहरूले आफ्नै निवास रोजेको ‘मार्का’ले जनाएको छ ।
रोनाल्डोले उक्त घर सुरुदेखि नै निर्माण गराएका हुन्। करिब १२ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको घर निर्माण सम्पन्न हुन तीन वर्षभन्दा बढी समय लागेको थियो ।
रोनाल्डो र जर्जिनाको विवाह उनीहरूले इन्गेजमेन्ट गरेको ठीक एक वर्षपछि भएको हो । जर्जिनाले सन् २०२५ अगस्ट ११ मा सामाजिक सञ्जालमार्फत रोनाल्डोसँग इन्गेजमेन्ट भएको सार्वजनिक गरेकी थिइन् ।
करिब एक दशकदेखि सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाको पहिलो भेट स्पेनको म्याड्रिडमा भएको थियो। इन्गेजमेन्टपछि उनीहरूका समर्थकले विवाहको मिति र स्थानबारे निरन्तर चासो राख्दै आएका थिए।
रोनाल्डोले यसअघि विश्वकपपछि विवाह गर्ने इच्छा व्यक्त गरेका थिए। यद्यपि उनले निश्चित मिति सार्वजनिक गरेका थिएनन्। त्यसपछि विवाहलाई लिएर विभिन्न अनुमान हुँदै आएका थिए। सन् २०२६ को अगस्टका पहिलो दुई शनिबारसमेत सम्भावित विवाह मितिका रूपमा चर्चामा आएका थिए।
विवाहस्थलका विषयमा पनि विभिन्न अड्कलबाजी भएका थिए। कतिपय प्रशंसकले रोनाल्डो र जर्जिनाको विवाह भएको ठानेर एउटा समारोहस्थल नजिकै पुगेर समेत चासो देखाएका थिए। पछि उक्त समारोह उनीहरूसँग सम्बन्धित नभएको खुलेको थियो।

४१ वर्षीय रोनाल्डो पाँच पटक विश्वका उत्कृष्ट फुटबलर घोषित भइसकेका छन्। उनले हालै पोर्चुगलका लागि कीर्तिमानी छैटौँ विश्वकप खेलेका थिए।
हाल साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोको टोलीले शनिबार घरेलु सिजनको सुरुवात गर्दैछ।










