२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

सल्यान । भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ ।

बुधबार दिउँसो करिब साढे १ बजे बनगाड नगरपालिका–स्थित बालुवासंग्रहीबाट सल्लीबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीका अनुसार जिप नदीमा खसेपछि त्यसमा सवार दुई जना पौडिएर बाहिर निस्किएका थिए । उनीहरूको सल्लीबजारमा उपचार भइरहेको छ ।

जिपमा सवार थप दुई जना भने जिपसहित भेरी नदीमा बेपत्ता भएका छन् । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर बेपत्ताको खोजी तथा उद्धार कार्यमा जुटेको प्रहरीले जनाएको छ ।

काठमाडौं । थाइल्याण्डबाट हङकङ हुँदै नेपाल ल्याइएको १८ किलो गाँजासहित दुई भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका अनुसार विमानस्थलमा विदेशबाट आउने यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको पञ्जाबका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार छन् ।

प्रहरीले उनीहरूको साथबाट १८ किलो लागुऔषध गाँजासहित दुई थान पासपोर्ट, दुई थान मोबाइल फोन र चार थान झोला बरामद गरेको जनाएको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका भारतीय नागरिकहरूले थाइल्याण्डबाट गाँजा नेपाल ल्याउने र विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रमा लगेज छाडेर बाहिरिने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ । त्यसपछि केही दिनपछि नेपाली एजेन्टमार्फत उक्त लगेज दाबी गरेर लैजाने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोको भनाइ छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा कारोबारको थप विवरण पत्ता लगाउन अनुसन्धान जारी रहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाको बैठक बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् । मुख्यमन्त्री शाहले भोलि साँझ ५ बजे विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गर्न आग्रह गरेका हुन् ।

मुख्यमन्त्रीको पत्र प्रदेशसभा सचिवालयमा प्राप्त भएको सभामुख भण्डारीले पुष्टि गरेका छन् ।

नेकपा एमालेले गत महिनाको ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए । संवैधानिक व्यवस्थाअनुसार समर्थन गर्ने दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने अवस्था छ ।

यद्यपि, विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाउन पत्र पठाएका मुख्यमन्त्री शाहले बैठकमा विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतको दाबी छ । स्रोतका अनुसार शाहले भोलि प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने विषयमा आन्तरिक छलफल गरिरहेका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार जोगाउन २७ सांसदको समर्थन आवश्यक हुन्छ । हाल नेपाली कांग्रेसका १८ सांसद मुख्यमन्त्री शाहको पक्षमा छन् । कांग्रेस सांसद प्रकाश देउवा भने हाल अमेरिकामा छन् ।

कांग्रेसको १८ मतबाहेक सरकार टिकाउन थप ९ सांसद आवश्यक पर्ने भए पनि आवश्यक समर्थन जुट्ने अवस्था नरहेको कांग्रेसको दाबी छ । यही कारण मुख्यमन्त्री शाह राजीनामा दिने निष्कर्षमा पुगेको कांग्रेस नेताहरू बताउँछन् ।

मुख्यमन्त्रीको राजीनामालगायत विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे बोलाइएको प्रमुख सचेतक सरस्वती खड्काले जानकारी दिइन् ।

शाहले राजीनामा दिए सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । नयाँ सरकारका लागि नेकपा संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने विषयमा केन्द्रमा नेकपा र एमालेबीच सहमति भइसकेको नेताहरूले बताउँदै आएका छन् । त्यसअनुसार शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सत्ता समीकरण बन्ने सम्भावना देखिएको छ ।

जनकपुरधाम । धनुषा जिल्ला अदालतको गेटअगाडि एक मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

अदालत परिसरअगाडि न्यायको माग गर्दै मिटरब्याज पीडितहरूले प्रदर्शन गरिरहेका बेला जनकपुर उपमहानगरपालिका–४ की फूलकुमारी रजकले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् । पेट्रोल छर्किएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर आत्मदाह गर्नबाट रोकेको थियो ।

मिटरब्याजसम्बन्धी मुद्दामा पक्राउ परेका तीन आरोपीविरुद्ध बुधबार जिल्ला अदालत धनुषामा थुनछेक बहस भइरहेको छ । पक्राउ पर्नेमा गोपाल साह, रेखा साह र हरेराम साह छन् ।

आरोपीलाई कानुनी कारबाही र आफूहरूलाई न्याय दिन माग गर्दै दर्जनौं पीडित अदालतअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले मिटरब्याजसम्बन्धी मुद्दामा आरोपीहरूलाई आर्थिक प्रभावमा पारेर उन्मुक्ति दिने प्रयास भइरहेको आरोप लगाएका छन् ।

अदालतमा आरोपीहरूको थुनछेक बहस चलिरहेकै समयमा पीडित महिलाले आत्मदाहको प्रयास गरेपछि अदालत परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।

कोइराला बुधबार खड्काको गल्फुटारस्थित निवासमा पुगेर भेट गरेका हुन् । भेटका क्रममा कोइरालाले खड्कालाई आगामी राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका थिए । कोइराला सचिवालयका अनुसार उक्त आग्रहप्रति खड्काले सकारात्मक धारणा व्यक्त गरेका छन् ।

भेटमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदसमेत सहभागी थिए ।

पूर्वसभापति शेरबहादुर देउवा समूहले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । भेलाको नेतृत्वका लागि कोइरालालाई अघि सारिएपछि खड्का भने पछिल्लो समय पार्टीका गतिविधिमा सक्रिय देखिएका छैनन् ।

यसअघि पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले निस्सा दिएपछि खड्काले यसलाई पार्टी एकताको ढोका खुलेको रूपमा टिप्पणी गरेका थिए ।

देउवा समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले समेत सम्बोधन गर्ने तयारी रहेको बताइएको छ ।

काठमाडौं । आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ । सूर्य, चन्द्रमा र पृथ्वी एकै सीधामा आउँदा चन्द्रमाले सूर्यको सम्पूर्ण भाग छेक्ने भएकाले यसलाई पूर्ण अर्थात् खग्रास सूर्यग्रहण भनिन्छ ।

सूर्यग्रहण चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँदा चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा हुने खगोलीय घटना हो । चन्द्रमाको गहिरो छायाँ पर्ने क्षेत्रमा सूर्य पूर्ण रूपमा ढाकिन्छ भने बाहिरी छायाँ पर्ने क्षेत्रमा आंशिक सूर्यग्रहण देखिन्छ ।

पूर्ण सूर्यग्रहणका क्रममा केही समय सूर्यको चम्किलो बाहिरी वायुमण्डल ‘कोरोना’ समेत देख्न सकिन्छ । सामान्य अवस्थामा सूर्यको अत्यधिक चमकका कारण कोरोना देखिँदैन । चन्द्रमा सूर्यबाट पृथ्वीको तुलनामा सानो देखिने अवस्थामा भने सूर्यको बीचको भाग मात्र ढाकिएर वरिपरि चम्किलो घेरा देखिन्छ, जसलाई वलयाकार सूर्यग्रहण भनिन्छ ।

उत्तरी रुसबाट सुरु भएर स्पेनसम्म
आजको ग्रहण १५ः३५ ग्रीनविच समयदेखि उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही क्षेत्रमा देखिनेछ । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार पूर्ण सूर्यग्रहणको मुख्य चरण उत्तरी रुसको दुर्गम क्षेत्रमा देखिएपछि ग्रहणको छायाँ पूर्वतर्फ सर्दै आइसल्यान्ड हुँदै स्पेन पुग्नेछ ।

स्पेनका लियोन, जारागोजा र भ्यालेन्सियालगायतका स्थानबाट पूर्ण सूर्यग्रहण देखिनेछ । नासाका अनुसार लियोनमा स्थानीय समयअनुसार साँझ ८ः२८ बजे पूर्ण ग्रहण सुरु भएर करिब दुई मिनेट रहनेछ । आइसल्यान्डको रेक्जाभिकमा भने साँझ करिब ५ः४८ बजे पूर्ण ग्रहण सुरु हुनेछ ।

नेपाल र भारतबाट नदेखिने
सूर्यग्रहण पृथ्वीका सबै स्थानबाट देखिने घटना होइन। चन्द्रमाको छायाँ पृथ्वीको सीमित भूभागमा मात्र पर्ने भएकाले ग्रहण देखिने क्षेत्र पनि निश्चित हुन्छ ।

आजको ग्रहणमा चन्द्रमाको ‘उम्ब्रा’ अर्थात् पूर्ण छायाँ उत्तरी गोलार्धका उच्च अक्षांश हुँदै जानेछ । यसको मार्ग उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड हुँदै उत्तर एटलान्टिक क्षेत्र र स्पेनसम्म फैलिनेछ ।

नेपाल उक्त छायाको क्षेत्रमा नपर्ने भएकाले यहाँबाट आजको सूर्यग्रहण देखिने छैन । भारतबाट समेत यो ग्रहण देखिने छैन । त्यसैले नेपालमा ग्रहण अवलोकनका लागि विशेष व्यवस्था गर्नुपर्ने अवस्था छैन ।

नांगो आँखाले हेर्न जोखिम
सूर्यग्रहणलाई प्रत्यक्ष नांगो आँखाले हेर्नु आँखाका लागि अत्यन्त जोखिमपूर्ण मानिन्छ । सामान्य घामका चस्माले सूर्यको तीव्र प्रकाशबाट आँखालाई पर्याप्त सुरक्षा नदिने भएकाले त्यस्ता चस्मा प्रयोग गरेर सूर्यतर्फ हेर्न हुँदैन ।

ग्रहण हेर्नुपरे अन्तर्राष्ट्रिय मापदण्डअनुसारका विशेष ग्रहण चस्मा प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्ता चस्मा सामान्य सनग्लासभन्दा हजारौँ गुणा गाढा हुन्छन् र आईएसओ १२३१२–२ मापदण्डअनुसारका हुनुपर्ने बताइएको छ ।

नासाले ग्रहण चस्मा लगाएको अवस्थामा समेत क्यामेरा, दूरबिन, द्विनेत्री वा अन्य प्रकाशीय उपकरणबाट सूर्यलाई सीधै नहेर्न सुझाव दिएको छ । यस्ता उपकरणले सूर्यको प्रकाशलाई केन्द्रित गर्ने भएकाले आँखामा गम्भीर तथा स्थायी क्षति पुग्न सक्ने जोखिम हुन्छ ।

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेजले विवाह गरेका छन् । लामो समयदेखि सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाले अगस्ट ११ मा पोर्चुगलको कास्काइसमा विवाह गरेको पुष्टि गरेका हुन् ।

स्पेनी खेलकुद अखबार ‘मार्का’का अनुसार विवाह समारोहमा रोनाल्डो र जर्जिनाका पाँचै सन्तानसहित उनीहरूका अत्यन्तै निकट आफन्तहरू मात्र सहभागी थिए । समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार विवाह रोनाल्डोकै निजी निवासमा भएको हो ।

कास्काइसको महँगो तथा विशेष क्षेत्र क्विन्टा दा मारिन्हामा रहेको रोनाल्डोको निवासमा विवाह गर्नुको उद्देश्य समारोहलाई निजी राख्नु रहेको अनुमान गरिएको छ । सञ्चारमाध्यम र क्यामेराबाट टाढा रहेर सीमित आफन्तको उपस्थितिमा विवाह गर्न सहज हुने भएकाले उनीहरूले आफ्नै निवास रोजेको ‘मार्का’ले जनाएको छ ।

रोनाल्डोले उक्त घर सुरुदेखि नै निर्माण गराएका हुन्। करिब १२ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको घर निर्माण सम्पन्न हुन तीन वर्षभन्दा बढी समय लागेको थियो ।

रोनाल्डो र जर्जिनाको विवाह उनीहरूले इन्गेजमेन्ट गरेको ठीक एक वर्षपछि भएको हो । जर्जिनाले सन् २०२५ अगस्ट ११ मा सामाजिक सञ्जालमार्फत रोनाल्डोसँग इन्गेजमेन्ट भएको सार्वजनिक गरेकी थिइन् ।

करिब एक दशकदेखि सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाको पहिलो भेट स्पेनको म्याड्रिडमा भएको थियो। इन्गेजमेन्टपछि उनीहरूका समर्थकले विवाहको मिति र स्थानबारे निरन्तर चासो राख्दै आएका थिए।

रोनाल्डोले यसअघि विश्वकपपछि विवाह गर्ने इच्छा व्यक्त गरेका थिए। यद्यपि उनले निश्चित मिति सार्वजनिक गरेका थिएनन्। त्यसपछि विवाहलाई लिएर विभिन्न अनुमान हुँदै आएका थिए। सन् २०२६ को अगस्टका पहिलो दुई शनिबारसमेत सम्भावित विवाह मितिका रूपमा चर्चामा आएका थिए।

विवाहस्थलका विषयमा पनि विभिन्न अड्कलबाजी भएका थिए। कतिपय प्रशंसकले रोनाल्डो र जर्जिनाको विवाह भएको ठानेर एउटा समारोहस्थल नजिकै पुगेर समेत चासो देखाएका थिए। पछि उक्त समारोह उनीहरूसँग सम्बन्धित नभएको खुलेको थियो।

४१ वर्षीय रोनाल्डो पाँच पटक विश्वका उत्कृष्ट फुटबलर घोषित भइसकेका छन्। उनले हालै पोर्चुगलका लागि कीर्तिमानी छैटौँ विश्वकप खेलेका थिए।

हाल साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोको टोलीले शनिबार घरेलु सिजनको सुरुवात गर्दैछ।

धनगढी । यहाँ धानखेतीका लागि मलको माग बढिरहेका बेला डीएपीको आपूर्ति भने निकै कमजोर देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडको धनगढीस्थित प्रादेशिक कार्यालयका अनुसार साउन १ देखि २६ गतेसम्म २९५.७ मेट्रिक टन डीएपी बिक्री भएको हो ।

सोही अवधिमा कम्पनीले एक हजार २८७.७ मेट्रिक टन युरिया र ३३.२५ मेट्रिक टन पोटास बिक्री गरेको छ । कम्पनीले सहकारी तथा कृषि सामग्री बिक्री केन्द्रमार्फत किसानलाई मल उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रादेशिक कार्यालयका प्रबन्धक नवलसिंह बोगटीका अनुसार धानखेतीको मुख्य समय भएकाले मलको माग बढेको छ । उपलब्ध मल बिक्री भइरहे पनि मागअनुसार आपूर्ति पर्याप्त हुन नसकेको उनले बताए ।

धनगढीका लागि युरियाको आवश्यक कोटा एक हजार ९४७.७०५ मेट्रिक टन र डीएपीको एक हजार ९१५.८१५ मेट्रिक टन रहेको छ । तर हालसम्मको बिक्री र मौज्दात जोड्दा युरिया एक हजार ३९७.९५५ तथा डीएपी ३२६.७ मेट्रिक टन मात्र पुगेको छ ।

हाल कम्पनीसँग ११०.२५० मेट्रिक टन युरिया, ३१ मेट्रिक टन डीएपी र ९३.६५० मेट्रिक टन पोटास मौज्दात छ ।

आवश्यक कोटाको तुलनामा बिक्री तथा मौज्दातमा रहेको युरिया करिब ७२ प्रतिशत पुगेको छ भने डीएपी करिब १७ प्रतिशत मात्रै छ । कम्पनीका अनुसार युरियामा ५४९.७५५ मेट्रिक टन र डीएपीमा एक हजार ५८९.११५ मेट्रिक टन कमी रहेको छ ।

धान रोपाइँ तथा गोडमेलको समयमा डीएपीको आपूर्ति कमजोर भएपछि किसानले मलका लागि समस्या भोग्नुपरेको छ । माग उच्च रहेको समयमा डीएपीको आपूर्ति अन्तर झनै ठूलो देखिएकाले तत्काल आपूर्ति बढाउनुपर्ने अवस्था देखिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।