काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढ्दै हरियो भएर बन्द भएको छ । बजार परिसूचक ७ दशमलव ५० अंकले उकालो लाग्दै २ हजार ५९७ दशमलव ६४ बिन्दुमा पुगेको हो ।

कारोबार सुरु भएको केही समय बजार सकारात्मक देखिए पनि दिउँसो २ः३४ बजे नेप्से घटेर २ हजार ५८१ बिन्दुसम्म पुगेको थियो । उक्त बिन्दु नै बिहीबारको न्यूनतम विन्दु बन्यो । तर, कारोबारको अन्तिम समयमा खरिद चाप बढ्दा नेप्से पुनः उकालो लाग्यो र लगातार तेस्रो दिन वृद्धि कायम राख्न सफल भयो ।
बिहीबार शेयर कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । बुधबार ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार कुल ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
कुल २७५ कम्पनीको कारोबार हुँदा १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ३ कम्पनीको मूल्य स्थिर रह्यो ।
समूहगत प्रदर्शनतर्फ अधिकांश उपसूचक सकारात्मक रहे । यसदिन बैंकिङ शून्य दशमलव ६२, विकास बैंक शून्य दशमलव ०८, लगानी शून्य दशमलव ११, जीवन बीमा शून्य दशमलव २५, लघुवित्त १ शून्य दशमलव २३, निर्जीवन बीमा १ शून्य दशमलव ११, अन्य शून्य दशमलव ३१ र व्यापार समूहको उपसूचक शून्य दशमलव ३२ प्रतिशतले बढेको छ ।
यस्तै उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ११, जलविद्युत्शून्य दशमलव ३४, होटल तथा पर्यटन शून्य दशमलव ०९ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव ६६ प्रतिशतले घटेका छन् ।
बिहीबार फस्र्ट माइक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै १४ दशमलव ६७ प्रतिशतले बढेको छ । त्यस्तै चिरख्वा हाइड्रोपावर १४ दशमलव ३४, पियोर इनर्जी १३ दशमलव ९७, माइखोला हाइड्रोपावर १२ दशमलव ५२ र सयपत्री हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव ५५ प्रतिशतले बढेको छ ।
यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ८ दशमलव ७७, भुजुङ हाइड्रोपावर ४ दशमलव ३५ र स्वेतगंगा हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव १९ प्रतिशतले ह्रास आएको छ ।

भोलिदेखि नयाँ पूँजीगत लाभकर व्यवस्था लागू
यसैबीच, नयाँ आर्थिक वर्ष सुरु भएसँगै शेयर लगानीकर्ताका लागि पूँजीगत लाभकरको नयाँ व्यवस्था लागू हुने भएको छ । सरकारले बजेटमार्फत घोषणा गरेको व्यवस्था अनुसार अब एक वर्षभन्दा कम अवधि राखेर बिक्री गरिएको शेयरको नाफामा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधि होल्ड गरिएको सेयरको नाफामा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ ।
नयाँ व्यवस्था साउन १ गतेदेखि लागू हुनेछ । यससँगै छोटो अवधिका लगानीकर्ता र दीर्घकालीन लगानीकर्ताले तिर्नुपर्ने लाभकर दरमा फरक पर्नेछ ।










