काठमाडौं । विश्व फुटबलका दुई पुस्ताका प्रतिनिधि लियोनल मेसी र लामिन यामाल विश्वकप २०२६ को फाइनलमा एकअर्काविरुद्ध उत्रने भएपछि उनीहरूबीचको १९ वर्ष पुरानो एउटा दुर्लभ तस्वीर फेरि विश्वभर चर्चाको विषय बनेको छ ।

सन् २००७ मा बार्सिलोना फाउन्डेसन र स्पेनी खेल पत्रिका डियारियो स्पोर्टले आयोजना गरेको च्यारिटी फोटोशुटका क्रममा त्यतिबेला २० वर्षीय मेसीले पाँच महिनाका शिशु यामाललाई नुहाइदिएको भावुक क्षण क्यामेरामा कैद गरिएको थियो । उक्त अभियानबाट संकलित रकम युनिसेफसहित विभिन्न परोपकारी संस्थालाई सहयोग गरिएको थियो ।
तस्वीर खिच्ने फोटोग्राफर जोआन मोनफोर्टका अनुसार त्यो फोटोशुट सहज थिएन । मेसी स्वभावले निकै लजालु थिए भने अपरिचित व्यक्तिसँग सानो यामाल पनि सहज थिएनन् । अन्ततः यामालकी आमा शिला एबानाको सहयोगपछि मात्र सबैलाई सम्झन लायक ऐतिहासिक तस्वीर खिच्न सम्भव भएको थियो ।
यो तस्वीर लामो समयसम्म सार्वजनिक रूपमा खासै चर्चामा आएन । तर सन् २०२४ को युरोकपका बेला यामालका बुबा मुनिर नस्राउईले सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गरेपछि यसले विश्वव्यापी चर्चा पायो । अहिले विश्वकप फाइनलमा मेसी र यामाल आमनेसामने हुने निश्चित भएसँगै यही तस्वीर पुनः भाइरल बनेको छ ।
पाँच महिनाको त्यो शिशु भविष्यमा स्पेनकै सबैभन्दा ठूलो फुटबल स्टार बन्ने कल्पना कसैले पनि नगरेको मोनफोर्टले बताए । अहिले ती दुई खेलाडी विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्न लाग्नु आफूका लागि “लट्री जिते जत्तिकै दुर्लभ संयोग” भएको उनले बताएका छन् ।
यामाल अहिले बार्सिलोनाको प्रतिष्ठित नम्बर १० जर्सी लगाएर खेलिरहेका छन्, जुन जर्सीलाई मेसीले वर्षौंसम्म विश्व फुटबलमा ऐतिहासिक पहिचान दिलाएका थिए । मेसीका सम्भावित उत्तराधिकारीका रूपमा हेरिएका यामाल र अर्जेन्टिनी कप्तान मेसीबीचको बहुप्रतीक्षित विश्वकप २०२६ को फाइनल आइतबार मध्यराति हुँदैछ । फुटबल समर्थकहरूका लागि यो केवल उपाधिको लडाइँ मात्र नभई दुई पुस्ताबीचको ऐतिहासिक भेट पनि हुनेछ ।

Photo : Joan Monfort/AP











