काठमाडौं । अमेरिकाले इरानविरुद्ध तेस्रो चरणको सैन्य कारबाही सुरु गरेको घोषणा गरेको छ । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)ले होर्मुज जलघाँटीमा साइप्रसको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि आक्रमण गरेपछि नयाँ सैन्य अभियान सुरु गरिएको हो ।

सेन्टकमले सार्वजनिक गरेको विवरणअनुसार आक्रमणबाट जहाजमा आगलागी भएको छ भने इन्जिनमा क्षति पुगेपछि जहाजले यात्रा जारी राख्न सकेन । घटनामा चालक दलका एक सदस्य अझै बेपत्ता रहेको अमेरिकी पक्षको दाबी छ ।
अमेरिकाले जुन १६ मा भएको शान्ति सम्झौताअनुसार इरानलाई आफ्नो प्रतिबद्धता पूरा गर्ने थप अवसर दिइएको भए पनि त्यसको पालना नगरेको आरोप लगाएको छ । सेन्टकमले व्यापारिक जहाजमाथिका निरन्तर आक्रमणको जवाफस्वरूप इरानको समुद्री आक्रमण क्षमतालाई कमजोर पार्ने उद्देश्यले सैन्य कारबाही जारी रहेको जनाएको छ ।
यता इरानले भने अमेरिकी आरोपलाई अस्वीकार गर्दै होर्मुज जलघाँटी अर्को सूचना नभएसम्म बन्द गरिएको घोषणा गरेको छ । आईआरजीसीको नौसैनिक शाखाले जारी गरेको विज्ञप्तिअनुसार केही जहाजले ‘अनधिकृत मार्ग’ प्रयोग गरी जलमार्ग पार गर्ने प्रयास गरेपछि चेतावनीस्वरूप गोली चलाइएको थियो ।
आईआरजीसीले विदेशी शक्तिको हस्तक्षेपका कारण क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनेको दाबी गर्दै अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म कुनै पनि जहाज वा नौसैनिक साधनलाई होर्मुज जलघाँटी पार गर्न अनुमति नदिने जनाएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविरामसम्बन्धी वार्ता जारी रहने संकेत दिएका छन्। उनले युद्धविरामको प्रयास जारी रहे पनि आवश्यक परे सैन्य कारबाहीसँगै कूटनीतिक संवाद पनि अघि बढ्ने बताएका छन् ।











