काठमाडौं । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस आज विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने गम्भीर असरबारे सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष मे ३१ मा यो दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार हाल विश्वभर करिब १.३ अर्ब मानिसले कुनै न कुनै प्रकारका सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन् । यद्यपि पछिल्ला वर्षहरूमा यसको प्रयोगदर केही घटेको भए पनि विश्वका पाँचमध्ये एक वयस्क अझै सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न रहेको तथ्याङ्कले देखाएको छ ।
डब्लुएचओका अनुसार सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । तीमध्ये करिब १२ लाख जनाले आफैं धूमपान नगरे पनि निष्क्रिय धूमपानका कारण ज्यान गुमाउने गरेका छन् ।
यस वर्षको विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसमा डब्लुएचओले विशेषगरी बालबालिका र युवालाई लक्षित गर्दै फैलिरहेको निकोटिनजन्य उत्पादनको प्रयोगप्रति चिन्ता व्यक्त गरेको छ । सङ्गठनका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका करिब चार करोड बालबालिका सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न छन् ।
विद्युतीय चुरोट (ई–सिगरेट), निकोटिन पाउच तथा स्वादयुक्त निकोटिनजन्य उत्पादनको प्रयोग युवामाझ तीव्र रूपमा बढ्दै गएको डब्लुएचओले जनाएको छ । यस्ता उत्पादनहरूलाई आकर्षक बनाउँदै नयाँ पुस्तालाई निकोटिनको लतमा फसाउने प्रयास भइरहेको सङ्गठनको आरोप छ ।
डब्लुएचओका स्वास्थ्य निर्धारक, प्रवद्र्धन तथा रोकथाम विभागका निर्देशक डा. एटिएन क्रुगले परम्परागत चुरोटको प्रयोग घट्दै गए पनि सुर्ती उद्योगले नयाँ उत्पादनमार्फत युवा पुस्तालाई लक्षित गरिरहेको बताए । उनले स्वादयुक्त ई–सिगरेट र निकोटिन पाउचको आक्रामक बजार विस्तारले किशोर तथा युवामा लत बढाइरहेको उल्लेख गरे ।
निकोटिन अत्यधिक लत लाग्ने पदार्थ भएकाले बालबालिका तथा किशोरहरूको मस्तिष्क विकासमा दीर्घकालीन असर पर्न सक्ने डब्लुएचओको चेतावनी छ । हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गरिरहेको अनुमान गरिएको छ ।
हालै सार्वजनिक गरिएको प्रतिवेदनमा निकोटिन पाउचको प्रचार–प्रसार सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूमार्फत व्यापक रूपमा भइरहेको उल्लेख गरिएको छ । आकर्षक प्याकेजिङ, मिठा स्वाद तथा जीवनशैलीसँग जोडिएका विज्ञापनमार्फत युवालाई लक्षित गर्ने रणनीति अपनाइएको प्रतिवेदनमा जनाइएको छ ।

डब्लुएचओका अनुसार विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी व्यवस्था र नियमनको अभाव छ । पर्याप्त नियन्त्रण नहुँदा यसको प्रयोग तीव्र गतिमा फैलिने जोखिम बढेको छ ।
सङ्गठनले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन तथा प्रायोजन रोक्न, सार्वजनिक स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न र कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ ।
डब्लुएचओले सुर्ती तथा निकोटिनजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने चेतावनी दिँदै स्वस्थ र सुरक्षित समाज निर्माणका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको जनाएको छ ।










