२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको केही भूभाग मिचेको जानकारी आफूलाई प्राप्त भएको बताएका विषयमा नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले समेत भारतको सीमा अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्ति दिएका थिए । उक्त भनाइपछि कांग्रेसले संसद्मा आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जानकारी दिन माग गरेको हो ।

कांग्रेसकी सचेतक बासना थापाले प्रधानमन्त्रीले दुई देशबीचको सीमासँग सम्बन्धित संवेदनशील विषयमा आधारहीन टिप्पणी गर्न नहुने बताइन् । उनले नेपालले भारतको कुन भूभाग मिचेको हो भन्नेबारे सरकारसँग स्पष्ट विवरण माग गरिन् ।

थापाले संसद्मा बोल्दै प्रधानमन्त्रीको भनाइ गम्भीर प्रकृतिको रहेको उल्लेख गर्दै यदि त्यस्तो दाबी सत्य हो भने सरकारले प्रमाण सार्वजनिक गर्नुपर्ने, अन्यथा उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरिन् ।

उनले सीमा जस्तो राष्ट्रिय महत्वको विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिले तथ्य र प्रमाणका आधारमा मात्रै धारणा राख्नुपर्ने बताउँदै प्रधानमन्त्रीको अभिव्यक्तिले अनावश्यक भ्रम सिर्जना गर्न सक्ने धारणा व्यक्त गरिन् ।

प्रधानमन्त्रीको भनाइलाई लिएर संसद्मा प्रश्न उठेपछि सीमा सम्बन्धी विषय पुनः राजनीतिक बहसको केन्द्रमा आएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने भारत भ्रमणका लागि भोलि (जेठ १८ गते) नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको औपचारिक निमन्त्रणामा उनी भारत जान लागेका हुन् ।

लामिछानेको नेतृत्वमा जाने प्रतिनिधिमण्डलले भारतका राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग विभिन्न उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको रास्वपा स्रोतले जनाएको छ ।

भ्रमण टोलीमा लामिछानेकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, रास्वपाका सहमहामन्त्री विपिन आचार्य तथा विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी रहनेछन् ।

भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको बताइएको छ । साथै, भारतीय विदेशमन्त्री एस जयशंकरसहित अन्य मन्त्री तथा उच्च अधिकारीहरूसँग पनि छलफल गर्ने कार्यसूची रहेको स्रोतको भनाइ छ ।

जेठ १९ गते भाजपा मुख्यालयमा आयोजना हुने विशेष कार्यक्रममा भाजपा अध्यक्ष नीतिन नवीनले लामिछानेलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।

स्रोतका अनुसार भारत भ्रमणका विषयमा प्रधानमन्त्री वालेन्द्र शाह र लामिछानेबीच पछिल्ला दिनहरूमा निरन्तर संवाद भइरहेको छ । भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल जेठ २० गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा नयाँ दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले भारतले मात्र नभई नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको जानकारी आफूले हालै प्राप्त गरेको बताएका हुन्।

प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विषयलाई तथ्य र प्रमाणका आधारमा समाधान गर्नुपर्ने उल्लेख गर्दै दुवै देशबीच वार्तामार्फत छलफल गरिने बताए।

उनले संसदमा भने, “तपाईंहरूलाई सुन्दा अचम्म लाग्न सक्छ, मैले पनि भर्खरै थाहा पाएँ। भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ। हामी टेबल टकमा बसेर एकअर्काको जमिन मिचिएको विषयमा छलफल गर्नेछौं।”

उनको उक्त अभिव्यक्तिपछि संसदमा केहीबेर सीमा विवादको विषय चर्चाको केन्द्र बनेको थियो। नेपाल र भारतबीच कालापानी, लिपुलेक तथा लिम्पियाधुरा लगायतका क्षेत्रलाई लिएर लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। प्रधानमन्त्रीले भने दुवै पक्षका दाबी र तथ्यलाई आधार बनाएर संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आइतबार एकै दिन सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ३०५ रुपैयाँले उकालो लागेर ५ हजार ३४५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको परिवर्तनको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन् । सुन र चाँदी दुवैको मूल्यमा एकै दिन उल्लेख्य वृद्धि भएपछि बजारमा यसको चर्चा बढेको छ ।

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।

यो कीर्तिमान उनले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको खेलमा पूरा गरेका हुन् । कुशलले हालसम्म ७७ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै दुई हजार रनको आँकडा पार गरेका छन् ।

यससँगै उनी टी–२० अन्तर्राष्ट्रियमा दुई हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याट्सम्यान बनेका छन् ।

यसअघि नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रियमा दुई हजारभन्दा बढी रन (२,१८० रन) बनाइसकेका छन् ।

काठमाडौं । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस आज विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने गम्भीर असरबारे सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष मे ३१ मा यो दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार हाल विश्वभर करिब १.३ अर्ब मानिसले कुनै न कुनै प्रकारका सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन् । यद्यपि पछिल्ला वर्षहरूमा यसको प्रयोगदर केही घटेको भए पनि विश्वका पाँचमध्ये एक वयस्क अझै सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न रहेको तथ्याङ्कले देखाएको छ ।

डब्लुएचओका अनुसार सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । तीमध्ये करिब १२ लाख जनाले आफैं धूमपान नगरे पनि निष्क्रिय धूमपानका कारण ज्यान गुमाउने गरेका छन् ।

यस वर्षको विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसमा डब्लुएचओले विशेषगरी बालबालिका र युवालाई लक्षित गर्दै फैलिरहेको निकोटिनजन्य उत्पादनको प्रयोगप्रति चिन्ता व्यक्त गरेको छ । सङ्गठनका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका करिब चार करोड बालबालिका सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न छन् ।

विद्युतीय चुरोट (ई–सिगरेट), निकोटिन पाउच तथा स्वादयुक्त निकोटिनजन्य उत्पादनको प्रयोग युवामाझ तीव्र रूपमा बढ्दै गएको डब्लुएचओले जनाएको छ । यस्ता उत्पादनहरूलाई आकर्षक बनाउँदै नयाँ पुस्तालाई निकोटिनको लतमा फसाउने प्रयास भइरहेको सङ्गठनको आरोप छ ।

डब्लुएचओका स्वास्थ्य निर्धारक, प्रवद्र्धन तथा रोकथाम विभागका निर्देशक डा. एटिएन क्रुगले परम्परागत चुरोटको प्रयोग घट्दै गए पनि सुर्ती उद्योगले नयाँ उत्पादनमार्फत युवा पुस्तालाई लक्षित गरिरहेको बताए । उनले स्वादयुक्त ई–सिगरेट र निकोटिन पाउचको आक्रामक बजार विस्तारले किशोर तथा युवामा लत बढाइरहेको उल्लेख गरे ।

निकोटिन अत्यधिक लत लाग्ने पदार्थ भएकाले बालबालिका तथा किशोरहरूको मस्तिष्क विकासमा दीर्घकालीन असर पर्न सक्ने डब्लुएचओको चेतावनी छ । हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गरिरहेको अनुमान गरिएको छ ।

हालै सार्वजनिक गरिएको प्रतिवेदनमा निकोटिन पाउचको प्रचार–प्रसार सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूमार्फत व्यापक रूपमा भइरहेको उल्लेख गरिएको छ । आकर्षक प्याकेजिङ, मिठा स्वाद तथा जीवनशैलीसँग जोडिएका विज्ञापनमार्फत युवालाई लक्षित गर्ने रणनीति अपनाइएको प्रतिवेदनमा जनाइएको छ ।

डब्लुएचओका अनुसार विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी व्यवस्था र नियमनको अभाव छ । पर्याप्त नियन्त्रण नहुँदा यसको प्रयोग तीव्र गतिमा फैलिने जोखिम बढेको छ ।

सङ्गठनले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन तथा प्रायोजन रोक्न, सार्वजनिक स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न र कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ ।

डब्लुएचओले सुर्ती तथा निकोटिनजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने चेतावनी दिँदै स्वस्थ र सुरक्षित समाज निर्माणका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।