जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि तथा उत्पादनमुखी क्षेत्रलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

२७ पृष्ठमा समेटिएको नीति तथा कार्यक्रममा प्रदेशको आर्थिक आधार सुदृढ बनाउन कृषि, उद्यमशीलता र स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । सरकारले ‘मेड इन मधेस, समृद्ध प्रदेश’ तथा ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ भन्ने नारालाई मुख्य आधार बनाएर उत्पादन र स्वरोजगार प्रवर्द्धनमा जोड दिएको छ ।
सरकारले परम्परागत तथा स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनलाई समेत विशेष महत्व दिएको छ । ‘किसानको शान, मधेसको मखान’ अभियानमार्फत मखान उत्पादनको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गरी बजार विस्तार गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।
त्यसैगरी, ‘कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार’ नारासहित प्रदेश सरकारले प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने, रासायनिक विषादीको प्रयोग घटाउने तथा माटो परीक्षणलाई व्यवस्थित बनाउने नीति अघि सारेको छ । सरकारको भनाइ अनुसार यी कार्यक्रमले कृषिको उत्पादनशीलता वृद्धि गर्नुका साथै स्वस्थ र दिगो कृषि प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।











