
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्दै उक्त आकारको बजेट घोषणा गरेका हुन् ।
जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि तथा उत्पादनमुखी क्षेत्रलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
२७ पृष्ठमा समेटिएको नीति तथा कार्यक्रममा प्रदेशको आर्थिक आधार सुदृढ बनाउन कृषि, उद्यमशीलता र स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । सरकारले ‘मेड इन मधेस, समृद्ध प्रदेश’ तथा ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ भन्ने नारालाई मुख्य आधार बनाएर उत्पादन र स्वरोजगार प्रवर्द्धनमा जोड दिएको छ ।
सरकारले परम्परागत तथा स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनलाई समेत विशेष महत्व दिएको छ । ‘किसानको शान, मधेसको मखान’ अभियानमार्फत मखान उत्पादनको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गरी बजार विस्तार गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।
त्यसैगरी, ‘कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार’ नारासहित प्रदेश सरकारले प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने, रासायनिक विषादीको प्रयोग घटाउने तथा माटो परीक्षणलाई व्यवस्थित बनाउने नीति अघि सारेको छ । सरकारको भनाइ अनुसार यी कार्यक्रमले कृषिको उत्पादनशीलता वृद्धि गर्नुका साथै स्वस्थ र दिगो कृषि प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । आज जेठ १५ गते सुनको मूल्य एकैदिन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढ्दो क्रममा रहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन् ।
काठमाडौं । आज सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संघीय संसद्को संयुक्त बैठकमार्फत बजेट प्रस्तुत गर्ने तयारी गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पहिलोपटक पूर्ण बजेट ल्याउन लागेको हो ।
अर्थ मन्त्रालयका अनुसार बजेट निर्माणमा पार्टीको निर्वाचन घोषणापत्र, सरकारको १०० बुँदे शासकीय सुधार योजना तथा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई मुख्य आधार बनाइएको छ । साथै, सांसदहरूबाट प्राप्त सुझाव, सुशासन र प्रशासनिक सुधारसम्बन्धी सरकारको दृष्टिकोण तथा जनअपेक्षालाई समेत समेटिएको बताइएको छ ।
नेपालमा नयाँ संविधान जारी भएपछि प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने परम्पराअनुसार यस वर्ष पनि आज दिउँसो ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार बजेट प्रस्तुतिका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
सरकारले यसपटकको बजेटलाई पारदर्शी, व्यवस्थित र नतिजामुखी बनाउने लक्ष्य लिएको जनाएको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको थियो । विभिन्न सरोकारवाला निकायबाट प्राप्त सुझावलाई समेत बजेटमा प्राथमिकता दिइएको अर्थ मन्त्रालयको भनाइ छ ।
चालू आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइएको थियो । तर, गत भदौमा भएको आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै गठित सरकारले मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १६ खर्ब ८८ अर्ब रुपैयाँमा सीमित गरेको थियो । उक्त समीक्षा तत्कालीन अर्थमन्त्री रामेश्वर खनाल ले गरेका थिए ।
काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदै छ । गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
वि.सं. २०६५ जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाले निरंकुश राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो । सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।
जनआन्दोलन २०६२÷६३ को उपलब्धिका रूपमा स्थापित गणतन्त्रले राज्यसत्ताको सम्पूर्ण अधिकार जनतामा निहित रहने व्यवस्था सुनिश्चित गरेको मानिन्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले वि.सं. २०६३ वैशाख ११ गते विघटित संसद् पुनःस्थापना गरेपछि गणतन्त्र स्थापनाको राजनीतिक प्रक्रिया अघि बढेको थियो ।
यस वर्षको गणतन्त्र दिवस विशेष रूपमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने मुख्य समारोहमार्फत मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुने उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता, उच्चपदस्थ सरकारी अधिकारी तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ ।
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका नेताहरूले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । साथै, गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
यसैबीच, प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भने यस वर्षको गणतन्त्र दिवस समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले संविधानको धारा ६६ को उपधारा (२) अनुसार राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध गर्दै पत्राचार गरिसकेको जनाइएको छ ।
यसअघि गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यसपटक फरक अभ्यास गरिएको हो । पछिल्लो समय प्रधानमन्त्री बालेनले संसद्मा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा समेत प्रत्यक्ष सम्बोधन नगरेको विषय राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।
प्रधानमन्त्रीले निर्वाचित भएपछि हालसम्म देशवासीका नाममा औपचारिक सम्बोधन नगरेको उल्लेख गर्दै विपक्षी दलहरूले समेत टिप्पणी गर्दै आएका छन् ।





