काठमाडौं । नेकपा (एमाले)ले ललितपुरको च्यासलमा रहेको आफ्नो पार्टी कार्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा तथा त्यसमाथि बनेका संरचना खाली गर्न निर्देशनसहित सूचना जारी गरेपछि उक्त कार्यालय पनि हटाउनुपर्ने भएको हो ।

एमाले सचिव पद्मा अर्यालका अनुसार पार्टी कार्यालय सार्ने तयारी भइरहेको छ । उनले बर्खायाममा कार्यालय डुबानमा पर्ने समस्या लामो समयदेखि रहँदै आएको बताउँदै नयाँ स्थानको खोजी भइरहेको जानकारी दिइन् । ‘बर्खाको समयमा हामीले दुःख भोग्दै आएका छौँ । पानीले दुःख दिन्छ, कार्यालय नै डुबाउँछ,’ उनले भनिन्, ‘राम्रो स्थान खोजिरहेका छौँ ।’
एमालेले तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानका नाममा २०५८ साल चैतमा मन्त्रिपरिषद्को स्वीकृतिपछि च्यासलस्थित १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गा भोगचलन गर्दै आएको थियो । तर, उक्त जग्गा अहिलेसम्म ‘लिज’ प्रक्रियामा रूपान्तरण गरिएको छैन ।











