ललितपुर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन, पाटन इकाई समितिले आफ्ना व्यवसायीहरूमाथि प्रहरीले गरेको धरपकड र गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको छ ।

समितिले आज जारी गरेको विज्ञप्तिमा भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरबाट कुनै आधार र प्रमाणबिना व्यवसायीहरूलाई ‘बिचौलिया’को आरोप लगाउँदै पक्राउ गरिएकोप्रति कडा विरोध जनाइएको छ ।
विज्ञप्तिअनुसार २०८२ चैत २२ गते मालपोत कार्यालय ललितपुरमा कार्यरत लेखापढी व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी परिसर जावलाखेल पुर्याएको थियो । कानूनी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका भू–सेवा केन्द्रका सञ्चालक तथा लेखापढी व्यवसायीहरूलाई अपराधी सरह व्यवहार गरिएकोप्रति समितिले दुःख व्यक्त गरेको छ ।
समितिका सचिव भरत घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० तथा लेखापढी व्यवसायीसम्बन्धी नियमावली, २०५१ अनुसार प्रमाणपत्र प्राप्त गरी सेवा प्रदान गरिरहेको उल्लेख गरिएको छ । साथै, भूमि व्यवस्थापन तथा अभिलेख विभागको २०७६ को निर्देशिकाअनुसार सञ्चालनमा रहेका व्यवसायीलाई ‘बिचौलिया’ भन्नु गलत र अपमानजनक भएको दाबी गरिएको छ ।
प्रहरीको यस कार्यले पेशागत मर्यादा र संवैधानिक अधिकारमाथि असर परेको निष्कर्ष निकाल्दै एशोसिएशनले देशभरका लेखापढी व्यवसायीलाई अर्को निर्णय नहुँदासम्म ‘पेन डाउन’ आन्दोलनमा उत्रिन आह्वान गरेको छ ।
आन्दोलनका क्रममा कसैले लुकिछिपी सेवा सञ्चालन गरेको पाइएमा संस्थागत कारबाही गरिने र भविष्यमा सहयोगसमेत नपाउने चेतावनी दिइएको छ ।
एशोसिएशनले राज्य पक्षबाट भएको व्यवहार सच्याएर निर्वाध रूपमा पेशा सञ्चालन गर्ने वातावरण नबन्दासम्म आन्दोलन जारी रहने जनाएको छ । यद्यपि, हिजो पक्राउ परेका व्यवसायीहरू भने हाल रिहा भइसकेका छन् ।












