२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

कृष्णभीरमा सडक भासिएपछि काठमाडौं बाहिरै ग्यास भर्न थालियो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा आपूर्ति हुने एलपी ग्यास वैकल्पिक रूपमा राजधानी बाहिरका उद्योगमा भर्न थालिएको छ ।

ग्यास बोकेका बुलेट कृष्णभीरको सडक हुँदै काठमाडौं आउन नसक्ने भएपछि उपत्यका र आसपासका जिल्लामा रहेका ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगसँग समन्वय गरेर ग्यास भर्न थालेका हुन् ।

नेपाल आयल निगमले पनि आपूर्ति सहज बनाउन उद्योगीलाई राजधानीबाहिर ग्यास भर्न अनुमति दिएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले जानकारी दिए । उनका अनुसार उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बाहिरका उद्योगसँग समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाएका छन् ।

उपत्यका र आसपासका जिल्लामा मात्रै मुलुकमा खपत हुने कुल ग्यासको ४० प्रतिशतभन्दा बढी माग हुने भएकाले सडक अवरुद्ध हुँदा आपूर्तिमा समस्या आउन नदिन वैकल्पिक व्यवस्था गरिएको संघले जनाएको छ ।

संघका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार कृष्णभीरको सडक नखुलेसम्म राजधानीबाहिर ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याइनेछ । बाहिरी जिल्लाका उद्योगमा भरिएको ग्यास त्रिभुवन राजपथलगायत उपलब्ध वैकल्पिक सडक प्रयोग गरी उपत्यका भित्र्याइने उनले बताए ।

ग्यास भर्ने वैकल्पिक व्यवस्था सुरु भइसकेकाले तत्काल उपत्यका र आसपासका जिल्लामा ग्यासको अभाव नहुने कालाखेतीको दाबी छ । उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्नसमेत आग्रह गरेका छन् ।

उनका अनुसार श्री ग्यासले बाबा, श्रीकृष्ण ग्यासले साइबाबा, श्रीराम ग्यासले जानकी तथा नेपाल ग्यासले नेपाल गण्डकी उद्योगसँग समन्वय गरी ग्यास भर्न सुरु गरिसकेका छन् । त्यस्तै एभरेष्ट र सुगम ग्यासले साहारा उद्योगमा ग्यास भर्न थालेका छन् ।

अन्य ग्यास उद्योगले पनि राजधानीबाहिर रहेका उद्योग वा आपसी समन्वयमा ग्यास भर्ने प्रक्रिया अघि बढाएका छन् ।

कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्गबाट हुने ग्याससहितका अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भएको छ । सडक नियमित रूपमा सञ्चालनमा नआएसम्म वैकल्पिक मार्ग र बाहिरी जिल्लाका उद्योगमार्फत ग्यास आपूर्ति कायम राख्ने तयारी उद्योगीहरूले गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।