काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसद् बैठकमा सनग्लास लगाउनुपर्ने कारण खुलाउँदै प्रतिनिधिसभा सचिवालयमा चिकित्सकीय रिपोर्टसहितको पत्र बुझाएका छन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहले आँखासम्बन्धी समस्याका कारण उज्यालो प्रकाशमा सनग्लास प्रयोग गर्नुपर्ने भन्दै चिकित्सकको रिपोर्टसहित पत्र पठाएका हुन् ।
यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख डिपी अर्यालले सांसदहरूलाई संसद् बैठकमा सनग्लास नलगाउन निर्देशन दिएका थिए । स्वास्थ्यसम्बन्धी कारणले अनिवार्य रूपमा सनग्लास प्रयोग गर्नुपर्ने अवस्था भए चिकित्सकीय रिपोर्ट पेश गर्नुपर्ने सभामुखको भनाइ थियो ।
त्यसैअनुसार प्रधानमन्त्री शाहले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै सचिवालयमा मेडिकल रिपोर्ट पेश गरेका हुन् ।
प्रधानमन्त्री शाह भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुँदैछन् । बैठकमा उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ । स्वास्थ्यसम्बन्धी कारण देखाउँदै उनले बैठकमा पनि सनग्लास प्रयोग गर्ने भएका छन् ।
प्रधानमन्त्री शाहले आफूलाई आँखामा सुख्खापनको समस्या रहेकाले उज्यालो प्रकाशमा हेर्न कठिन हुने पत्रमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालबाट जारी गरिएको मेडिकल रिपोर्टसमेत सचिवालयमा बुझाएका छन् । रिपोर्टमा प्रधानमन्त्री शाहको परीक्षण गर्दा ‘ड्राई आई डिजिज’ अर्थात् आँखा सुख्खा हुने समस्या देखिएको उल्लेख छ ।
चिकित्सकले आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने गरी कार्बोक्सिमिथाइलसेलुलोज ०.५ प्रतिशतको आँखामा हाल्ने ड्रप प्रयोग गर्न सुझाव दिएका छन् । साथै, उज्यालो प्रकाश भएको वातावरणमा समस्या कम गर्न आँखाको सुरक्षाका लागि सनग्लास वा शेड्स प्रयोग गर्न चिकित्सकीय सल्लाह दिइएको रिपोर्टमा उल्लेख छ ।

यससँगै संसद् बैठकमा प्रधानमन्त्री शाहले सनग्लास लगाएर उपस्थित हुने विषयमा देखिएको विवादको कारणसमेत स्पष्ट भएको छ ।










