काठमाडौं । प्रतिनिधिसभाको मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले विशेष कारण जनाउँदै बैठक स्थगित गरिएको जनाएको हो ।

बैठक स्थगित भएपछि आजका लागि तय गरिएका सबै कार्यसूची अर्को बैठकमा सर्ने भएका छन् ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम थियो । त्यस्तै, उनले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत थियो ।
यसैगरी, मन्त्री गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने कार्यक्रम पनि तय गरिएको थियो । यी सबै कार्यसूची अब बस्ने बैठकमा अघि बढाइनेछन् ।
प्रतिनिधिसभा बैठक स्थगित हुनुको कारणबारे औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक नभए पनि सभामुख डोलप्रसाद अर्यालको स्वास्थ्य अवस्थासँग यसको सम्बन्ध रहेको स्रोतले जनाएको छ ।
सभामुख अर्याल छातीमा समस्या देखिएपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् । स्रोतका अनुसार उनी सोमबार साँझ करिब ७ः३० बजे अस्पताल पुगेका थिए ।
चिकित्सकहरूले उनको मुटुको रक्तनलीमा अवरोध वा साँघुरोपन भए–नभएको जाँच गर्न ‘सिटी कोरोनरी एन्जियोग्राफी’ गरेका छन् । हाल उनी अस्पतालको आकस्मिक कक्षमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको बताइएको छ ।
एन्जियोग्राफीको विस्तृत रिपोर्ट आउन बाँकी रहेकाले त्यसपछि मात्रै सभामुख अर्यालको स्वास्थ्य अवस्थाअनुसार थप उपचार प्रक्रिया तय गरिने अस्पताल स्रोतले जनाएको छ ।











