काठमाडौं । नेपाल आयल निगमले बिना उचित कारण पेट्रोल पम्प बन्द गरी इन्धन अभावको अवस्था सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने व्यवस्था लागू गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली, २०७५ संशोधन गर्दै यस्तो कानुनी प्रावधान थपेको हो ।

संशोधित व्यवस्थाअनुसार कुनै पनि बिक्रेताले पेट्रोल पम्पको नोजल ‘ड्राई’ बनाएर पेट्रोलियम पदार्थ उपलब्ध नभएको अवस्था सिर्जना गर्न पाउने छैन । यस्तो कसुर पहिलो पटक गरे ३ लाख रुपैयाँ जरिबाना र ५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गरिनेछ । दोस्रो पटक दोहोरिए ६ लाख रुपैयाँ जरिबानासहित १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक १० लाख रुपैयाँ जरिबाना र १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिने व्यवस्था गरिएको छ ।
मंगलबार पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै निगमका डिपोबाट इन्धन नउठाएपछि बुधबार देशका विभिन्न स्थानमा पेट्रोल र डिजेलको आपूर्तिमा समस्या देखिएको थियो । त्यसक्रममा अत्यावश्यक वस्तुको आपूर्ति अवरुद्ध गर्ने व्यवसायीलाई कारबाही गर्ने स्पष्ट कानुनी व्यवस्था नभएको देखिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले तत्काल आवश्यक कानुनी संशोधन गर्न निर्देशन दिएकी थिइन् ।
मन्त्रीको निर्देशनपछि बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले बिनियमावलीको दफा २९ घ (१) मा ‘बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ भन्ने व्यवस्था थपेको हो ।
मन्त्री यादवको सचिवालयका अनुसार नयाँ व्यवस्थाले अब उचित कारणबिना पेट्रोल पम्प बन्द गरेर इन्धन अभाव सिर्जना गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गर्न सकिनेछ ।












