काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ८ दशमलव ५० अंकले घटेर दुई हजार ६५१ दशमलव ५२ बिन्दुमा कायम भएको हो ।

यस दिन ६४ लाख ८० हजार ५९९ कित्ता शेयर खरिद–बिक्री हुँदा २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँको कारोबार भएको थियो, जसको तुलनामा कारोबार रकम घटेको देखिन्छ ।
कारोबारमा सहभागी ३३८ धितोपत्रमध्ये ८३ कम्पनीको शेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ । यस्तै १९ कम्पनीको मूल्य स्थिर रह्यो ।
समूहगत सूचकतर्फ उत्पादन तथा प्रशोधन शून्य दशमलव १४ प्रतिशत समूहबाहेक सबै उपसूचक राताम्मे भएका छन् । यसदिन व्यापार समूह सर्वाधिक १ दशमलव ९६ प्रतिशतले घटेको छ ।
यसदिन होटेल तथा पर्यटन शून्य दशमलव ५३, अन्य शून्य दशमलव ४७, हाइड्रोपावर शून्य दशमलव ४१, फाइनान्स शून्य दशमलव ३६, जीवन बीमा शून्य दशमलव २२, बैंकिङ शून्य दशमलव १९, लगानी शून्य दशमलव १६, माइक्रोफाइनान्स र विकास बैंकको समान शून्य दशमलव १५, म्युचुअल फण्ड शून्य दशमलव १४ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ३७ प्रतिशतले घटेको छ ।
आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा याम्बालिङ हाइड्रोपावार र टक्सार खोला हाइड्रोपावर रहेका छन् । यस्तै कालिका लघुवित्त १२ दशमलव ८४, सप्तकोशी डेभलवमेन्ट बैंक ५ दशमलव १६ र हिमालयन इन्भेष्टमेन्ट इन्सुरेन्स प्रमोटरको शेयर मूल्य ३ दशमलव ५७ प्रतिशतले बढेको छ ।
यस्तै भुगुंग हाइड्रोपावर ११ दशमलव ०३, सीवाइसी नेपाल लघुवित्त ८ दशमलव ९७, भगवती हाइड्रोपावर डेभलवमेन्ट ५ दशमलव ८४ र थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ५७ प्रतिशतले घटेको छ ।











