२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

संन्यासदेखि विश्वकपका सर्वाधिक गोलकर्तासम्म: मेस्सीको एकपछि अर्को कीर्तिमान

काठमाडौं । सन् २०१६ मा लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गर्दा विश्व फुटबल स्तब्ध बनेको थियो । चिलीसँगको कोपा अमेरिका फाइनलमा पराजय, पेनाल्टी सुटआउटमा असफलता र लगातार ठूला प्रतियोगितामा हारको पीडाले उनलाई थकित बनाएको थियो ।

‘मेरो लागि, राष्ट्रिय टोली सकियो,’ उनले त्यतिबेला भनेका थिए, ‘मैले सक्दो गरेको छु, च्याम्पियन नहुनु पीडादायी छ ।’

तर फुटबलको इतिहासमा केही कथाहरू यस्ता हुन्छन्, जुन अधुरो भएर अन्त्य हुँदैनन् । मेस्सीको कथा पनि त्यस्तै बन्यो ।

करिब एक दशकपछि, ३९औँ जन्मदिन आउन दुई दिन बाँकी रहँदा उनी अर्जेन्टिनाको जर्सीमा मैदानमा उत्रिरहेका मात्र छैनन्, विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेर नयाँ कीर्तिमान बनाइरहेका छन् ।

संन्यास फिर्तापछि सुरु भएको स्वर्णिम युग
राष्ट्रिय टोलीमा फर्कने मेस्सीको निर्णयले अर्जेन्टिनालाई इतिहासकै सबैभन्दा सफल युगमा पुर्‍यायो । लगातार दुई कोपा अमेरिका उपाधि जितेको अर्जेन्टिनाले सन् २०२२ मा विश्वकप ट्रफी पनि उचाल्यो । कप्तान मेस्सीले प्रतियोगिताभर सात गोल गर्दै टोलीलाई ३६ वर्षपछि विश्व च्याम्पियन बनाएका थिए ।

Leo Messi

अब सन् २०२६ को विश्वकपमा पनि उनी उस्तै चम्किरहेका छन् । अष्ट्रियाविरुद्ध २–० को जितमा दुवै गोल गर्दै मेस्सीले विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए । ‘मेस्सीको अर्को एउटा अमर क्षण थियो,’ कमेन्टेटर स्टीभ बोवरले टिप्पणी गरे ।

खेलपछि मुस्कुराउँदै मेस्सीले भने, ‘मलाई मैदानमा खेल्न र रम्न मनपर्छ, समर्थकहरू यसरी खुसी भएको देख्दा हामीलाई झन् बढी आनन्द आउँछ ।’

‘हामीसँग मूर्ति बनाउने समय छैन’
खेलको आठौँ मिनेटमा मेस्सीले पेनाल्टी मिस गर्दा समर्थकहरू निराश भए । तर, त्यसको ३० मिनेटपछि नै मेस्सीले गोल गर्दै विश्वकपमा आफ्नो १७औँ गोल पुरा गरे । यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान तोड्दै विश्वकप इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान बनाए ।

यतिमा मात्र मेस्सी रोकिएनन्, दोस्रो हाफको इन्जुरी समयमा दुई डिफेन्डरको बीच, साँघुरो कोणबाट दोस्रो गोल गर्दै आफ्नो १८औँ विश्वकप गोल पूरा गरे ।

‘हामीसँग लियोनेल मेस्सीको लागि मूर्ति बनाउने वा पत्रपत्रिकाहरूमा उनको लागि गहिरो विश्लेषण गर्ने समय छैन, हामी गति कायम राख्न सक्दैनौं,’ बीबीसी रेडियो ५ लाइभमा स्पेनी फुटबल पत्रकार गुइलेम बालागले भने ।

विश्वकपमा गरेका १८ गोलमध्ये १२ गोल उनले ३५ वर्षपछि गरेका छन् । अझ रोचक तथ्य, उनका १४ गोल बायाँ खुट्टाबाट आएका छन् भने चार गोल पेनाल्टी क्षेत्रबाहिरबाट ।

Lionel Messi - Inter Miami CF Forward - ESPN (UK)

मेस्सीको प्रभाव गोलमा मात्रै सीमित छैन । उनले विश्वकप इतिहासमा सबैभन्दा धेरै अवसर सिर्जना गर्ने खेलाडीको कीर्तिमान पनि कायम गरेका छन् । हालसम्म उनले ७६ वटा निर्णायक अवसर सिर्जना गरिसकेका छन् ।

मेस्सीले यस विश्वकपमा अर्जेन्टिनाका लागि ५ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचीमा सबैभन्दा अगाडि छन् । फ्रान्सका जुस्ट फन्टेन (१९५८) र ब्राजिलका जर्जिन्यो (१९७०) पछि लगातार ६ विश्वकप खेलमा गोल गर्ने उनी तेस्रो खेलाडी बनेका छन् ।

पूर्व वेल्श डिफेन्डर एशले विलियम्स भन्छन्, ‘के हामी इतिहासकै सर्वश्रेष्ठ खेलाडीलाई हेरिरहेका छौँ ? पक्कै पनि, सायद हामीले फुटबल इतिहासकै सबैभन्दा महान् खेलाडीलाई प्रत्यक्ष देख्ने मौका पाइरहेका छौँ ।’

यसैबीच इंग्ल्याण्डका पूर्व स्ट्राइकर क्रिस सटनले प्रश्न गर्दै भने, ‘मेस्सीको जादु गजबको छ, तर प्रशिक्षक लियोनेल स्कालोनीका लागि चिन्ताको विषय यो हुन सक्छ, अन्य खेलाडीले गोलमा योगदान दिन सकेका छैनन्, के अर्जेन्टिना सधैँ मेस्सीमा मात्रै निर्भर रहन सक्छ ?’

कीर्तिमानकै बीच मेस्सीलाई लाउटारो मार्टिनेजलाई बक्समा लडाइएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो, तर उनी चुके ।

‘पेनाल्टी मिस हुँदा नराम्रो लाग्यो,’ मेस्सीले भने, ‘तर भाग्यवश हामीले खेलमा पुनरागमन गर्दै तीन अंक लिन सफल भयौँ ।’

मेस्सी विश्वकप इतिहासमा सबैभन्दा धेरै पेनाल्टी प्रहार गर्ने (७ पटक) र सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने (३ पटक) खेलाडी पनि बनेका छन् । पूर्व मिडफिल्डर ड्यानी मर्फी ठट्टा गर्दै भन्छन्, ‘मेस्सी पनि मानिस हुन्, उनलाई कहिलेकाँही गल्ती गर्ने छुट छ, सायद उनले कीर्तिमान पेनाल्टीबाट होइन, उत्कृष्ट ओपन प्ले गोलबाटै बनोस् भनेर जानाजानी मिस गरेका होलान् ।’

Lionel Messi becomes World Cup all-time leading goalscorer - how has he  stayed at the top? - BBC Sport

मेस्सीका अगाडि अझै धेरै कीर्तिमानहरू छन् । अब उनको नजर विश्वकपमा सबैभन्दा धेरै असिस्ट (गोल गर्न पास दिने) गर्ने माराडोनाको कीर्तिमान (८ असिस्ट) बराबरी गर्ने वा तोड्नेमा हुनेछ । अर्जेन्टिनाले समूह चरणको अन्तिम खेल जोर्डनविरुद्ध खेल्दैछ, जहाँ मेस्सीले फुटबल इतिहासमा फेरि अर्को सुनौलो पाना थप्ने निश्चित छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।