काठमाडौं । विश्वकप फुटबल अन्तर्गत अमेरिकामा सम्पन्न खेलमा पोर्चुगल र डीआर कंगोले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलको सुरुआती छैटौँ मिनेटमै पोर्चुगलले अग्रता लिएको थियो। पेड्रो नेटोको आकर्षक पासमा जोआओ नेभ्सले हेडमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए ।
तर पहिलो हाफको अन्त्यतिर डीआर कंगोले खेलमा पुनरागमन गर्यो । आर्थर मोसाकाओको पासलाई योआन विनेसाले उत्कृष्ट हेडरमार्फत जाली चुमाउँदै बराबरी गोल गरे । यो गोलसँगै कंगोले ५२ वर्षपछि विश्वकपमा गोल गर्ने ऐतिहासिक उपलब्धि पनि हासिल गर्यो ।
दोस्रो हाफको ५५औँ मिनेटमा पोर्चुगलका जुआओ क्यान्सेलोले आकर्षक एक्रोब्याटिक प्रहारमार्फत गोल गरेका थिए । तर रेफ्रीले अफसाइडको निर्णय दिएपछि उक्त गोल मान्यता पाएन ।
विश्वकपमा २३औँ पटक सहभागिता जनाएको पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पनि यस खेलमा गोल गर्न असफल रहे । खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक–एक अंक प्राप्त गरेका छन् ।











