काठमाडौं । फिफा विश्वकपमा स्वीडेनले विजयी सुरुआत गरेको छ । अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोल अन्तरले पराजित गर्दै तीन अंक जोडेको हो ।

खेलको सातौँ मिनेटमै यासिन आएरीले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । आफ्नै पितृभूमि ट्युनिसियाविरुद्ध गोल गरेपछि उनले संयमित ढंगले खुसी व्यक्त गरेका थिए । त्यसपछि २८औँ मिनेटमा अलेक्जेन्डर इजाकले गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको अन्त्यतिर ट्युनिसियाका ओमार रेकिकले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । उनले ४२औँ मिनेटमा गोल गरेपछि पहिलो हाफ २–१ को अवस्थामा सकिएको थियो ।
तर दोस्रो हाफमा स्वीडेनले पुनः खेलमाथि पूर्ण नियन्त्रण जमायो । ५९औँ मिनेटमा भिक्टर ग्योकेरेसले गोल गर्दै स्कोर ३–१ बनाए । खेलको ८८औँ मिनेटमा माटियास स्भानबर्गले गरेको गोललाई सुरुमा अफसाइड ठहर गरिए पनि भीएआर परीक्षणपछि गोल मान्यता पायो ।
इन्जुरी समयमा यासिन आएरीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल थपेपछि स्वीडेन ५–१ को सहज जित निकाल्न सफल भयो ।
यस नतिजासँगै स्वीडेनले समूह चरणको अभियान तीन अंकसहित सुरु गरेको छ ।
यता, समूह ‘ई’ अन्तर्गत जर्मनीले क्युरासाओलाई ७–१ ले हराउँदै प्रभावशाली जित दर्ता गरेको छ । समूह ‘एफ’ मा जापान र नेदरल्याण्ड्सले २–२ को बराबरी खेले भने आइभरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।











