काठमाडौं । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य हुने संकेत देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका उपपरराष्ट्रमन्त्रीले युद्ध अन्त्य तथा स्ट्रेट अफ होर्मुजमार्फत हुने समुद्री यातायात पुनः सञ्चालन गर्ने विषयमा प्रारम्भिक सहमति भएको जानकारी दिएपछि सोमबार तेलको मूल्य गत मार्चयताकै न्यून स्तरमा झरेको हो ।

समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारेल ३.५८ डलर अर्थात् ४.१० प्रतिशतले घटेर ८३.७५ डलरमा पुगेको छ । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) को मूल्य पनि प्रतिब्यारेल ४.०१ डलर अर्थात् ४.७२ प्रतिशतले घटेर ८०.८७ डलरमा कायम भएको छ। यसअघि गत शुक्रबार पनि यी दुवै प्रकारका तेलको मूल्य तीन प्रतिशतभन्दा बढीले घटेको थियो ।
पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच आगामी शुक्रबार स्विट्जरल्यान्डमा एक समझदारीपत्रमा हस्ताक्षर हुने तयारी रहेको बताइएको छ । राष्ट्रपति ट्रम्पले आइतबार स्ट्रेट अफ होर्मुज क्षेत्र कुनै शुल्कबिना खुला रहने तथा इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाइने घोषणा गरेका थिए । इरानको अर्धसरकारी मेहर समाचार एजेन्सीका अनुसार प्रस्तावित सम्झौतामा इरानी व्यवस्थापनअन्तर्गत ३० दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने प्रावधान समावेश गरिएको छ ।
बजार विश्लेषकहरूका अनुसार तेल आपूर्ति पुनः सहज हुने अपेक्षाले कच्चा तेलको मूल्यमा समावेश गरिएको भूराजनीतिक जोखिमको प्रभाव घट्न थालेको छ । केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररले तेलको आपूर्ति पुरानै अवस्थामा फर्किने सम्भावनालाई व्यापारीहरूले सकारात्मक रूपमा लिन थालेकाले बजारमा दबाब बढेको बताए ।
विश्वको कुल तेल तथा तरल प्राकृतिक ग्यास आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओसारपसार हुने स्ट्रेट अफ होर्मुज तीन महिनाभन्दा बढी समय युद्धका कारण बन्द हुँदा विश्व बजारमा लाखौँ ब्यारेल तेल र ग्यासको आपूर्ति प्रभावित भएको थियो ।
लगानीकर्ताहरू अहिले पश्चिम एसियाली उत्पादक राष्ट्रहरूले उत्पादन तथा निर्यात कति छिटो पुनः सञ्चालन गर्न सक्छन् भन्ने विषयमा केन्द्रित छन् । कमोडिटी रणनीतिकार विवेक धरका अनुसार स्ट्रेट अफ होर्मुजबाट हुने तेल प्रवाह युद्धअघिको अवस्थाको ६० देखि ७० प्रतिशतसम्म पुगे पनि बजारलाई स्थिर अवस्थामा फर्काउन पर्याप्त हुन सक्छ ।
इरानका उपपरराष्ट्रमन्त्री काजेम गरिबाबादीले ६० दिनको युद्धविराम अवधिमा थप व्यापक सम्झौताका लागि वार्ता जारी रहने बताएका छन् । यद्यपि, बजार विश्लेषक टोनी सिकामोरका अनुसार आगामी चरणका वार्ता, विशेषगरी आणविक कार्यक्रमसँग सम्बन्धित विषयमा अझै अनिश्चितता कायम रहेकाले कच्चा तेलको मूल्य तत्काल थप ठूलो मात्रामा घट्ने सम्भावना भने कम देखिएको छ ।











