काठमाडौं । अमद डियालोले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि आइभरी कोस्टले फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा इक्वेडरलाई १–० ले पराजित गरेको छ ।

सोमबार बिहान फिलाडेल्फिया स्टेडियममा सम्पन्न समूह ‘इ’ को प्रतिस्पर्धात्मक खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका डियालोले ९०औँ मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । उनले विलफ्रेड सिंगोको उत्कृष्ट पासलाई सदुपयोग गर्दै विजयी गोल गरेका हुन् ।
खेलभर दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि गोल गर्न सकेका थिएनन्। निर्धारित समय सकिनै लाग्दा डियालोले गरेको गोल नै खेलको निर्णायक क्षण बन्यो ।
यस जितसँगै आइभरी कोस्टले समूह ‘इ’ मा महत्वपूर्ण तीन अंक जोडेको छ । यसअघि भएको समूहको अर्को खेलमा जर्मनीले कुरासाओलाई ७–१ ले हराउँदै शानदार सुरुआत गरेको थियो ।
जर्मनी र आइभरी कोस्ट दुवैको समान तीन अंक भए पनि उत्कृष्ट गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा रहेको छ । इक्वेडर र कुरासाओ भने अंकविहीन छन् ।
समूह चरणअन्तर्गत आइभरी कोस्टले अब जुन २० मा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ ।











