काठमाडौं । अमेरिका–इरान तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेपछि तेहरानले रणनीतिक महत्वको होर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार अमेरिकी सेनाले इरानको निरन्तर आक्रामक गतिविधिको जवाफस्वरूप बुधबार राति ती आक्रमणहरू गरेको जनाएको छ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले होर्मुज जलमार्ग आसपासका क्युसिम टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा शक्तिशाली विस्फोट भएको जानकारी दिएका छन्। दक्षिणी सहर करगानमा भएको बमबारीमा कम्तीमा दुई जना घाइते भएको बताइएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकाले गत अप्रिलमा भएको युद्धविराम सम्झौता पटक–पटक उल्लंघन गरेको आरोप लगाउँदै अर्को सूचना जारी नभएसम्म होर्मुज जलमार्ग बन्द रहने जनाएको छ।
आईआरजीसीका अनुसार उक्त निर्णयले तेल ट्यांकरसहित व्यापारिक जहाजहरूको आवतजावतमा प्रत्यक्ष असर पर्नेछ। साथै, इरानले जलमार्गमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सहयोग गरिरहेको भन्ने अमेरिकी दाबीलाई पनि खारेज गरेको छ।
होर्मुज क्षेत्रमा अमेरिकी ‘अपाचे’ हेलिकोप्टर खसालिएको घटनापछि अमेरिका र इरानबीच सैन्य गतिविधि तीव्र बन्दै गएको छ। पछिल्लो हवाई आक्रमण र जलमार्ग बन्दको निर्णयले क्षेत्रीय तनावलाई अझ बढाएको विश्लेषण गरिएको छ।
यसअघि राष्ट्रपति ट्रम्पले इरानविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका थिए। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिका र इरानबीच सम्झौता नजिक पुगेको भए पनि तेहरानले वार्तालाई जटिल बनाएको आरोप लगाए।
उता, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले ट्रम्पको अभिव्यक्तिको आलोचना गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले यातायात, विद्युत् तथा खानेपानीजस्ता महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाउने धम्कीलाई शक्तिको प्रदर्शन नभई दबाब सिर्जना गर्ने असफल प्रयासको रूपमा टिप्पणी गरेका छन्।











