काठमाडौं । रुसले आइतबार बिहान युक्रेनको राजधानी किभमा व्यापक मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । पूर्वी युक्रेनमा रुस नियन्त्रित क्षेत्रमा भएको घातक हमलापछि बदला लिने चेतावनी दिएको केही समयमै किभमाथि ठूलो आक्रमण गरिएको हो ।

युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा पाँचजना घाइते भएका छन् । विस्फोटका कारण राजधानीका केही भवनहरू हल्लिएका थिए भने सर्वसाधारण सुरक्षित स्थान खोज्दै भूमिगत मेट्रो स्टेशनतर्फ पुगेका थिए ।
किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले राजधानीमा ठूलो स्तरको ब्यालिस्टिक मिसाइल आक्रमण भएको बताएका छन् । किभका मेयर भिटाली क्लित्स्कोले घाइतेमध्ये एकजनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै ड्रोन आक्रमणको खतरा अझै कायम रहेको बताएका छन् । उनले नागरिकहरूलाई सुरक्षित आश्रयस्थल नछोड्न आग्रह गरेका छन् ।
आक्रमणका क्रममा किभको पोडिल्स्की क्षेत्रमा मिसाइलका भग्नावशेष खसेपछि आपत्कालीन उद्धार टोली परिचालन गरिएको थियो । त्यस्तै शेभचेन्किभ्स्की जिल्लामा एक आवासीय भवन नजिक आगलागीसमेत भएको स्थानीय प्रशासनले जनाएको छ ।
यसअघि रुसले आफ्नो नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा भएको आक्रमणका जिम्मेवारमाथि कडा कारबाही गर्ने चेतावनी दिएको थियो । त्यसपछि किभस्थित अमेरिकी दूतावाससहित युक्रेनी अधिकारीहरूले राजधानीमा ठूलो आक्रमण हुन सक्ने संकेत गरेका थिए ।
युक्रेनी सेनाले पछिल्ला दिनहरूमा रुस नियन्त्रित क्षेत्रमा व्यापक ड्रोन आक्रमण गरेको थियो । रुसका अनुसार ती आक्रमणमध्ये एकमा कलेजको छात्रावासमा प्रहार हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो भने ४२ जना घाइते भएका थिए ।
रुसले उक्त आक्रमणलाई पछिल्ला केही महिनामध्येकै सबैभन्दा घातक युक्रेनी हमलामध्ये एक भनेको छ । घटनामा लुहान्स्क क्षेत्रको स्टारोबिल्स्कमा धेरै मानिस भग्नावशेषमा थुनिएको बताइएको छ ।
युक्रेनले भने नागरिकलाई लक्षित गरेर आक्रमण नगरेको दाबी गर्दै स्टारोबिल्स्क क्षेत्रमा रहेका रुसी ड्रोन युनिटलाई निशाना बनाइएको जनाएको छ ।











