काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी निकायहरुलाई सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन कडा निर्देशन दिएको छ । अत्यावश्यक अवस्थाबाहेक नयाँ सामग्री खरिद नगर्न भन्दै कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय तथा प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयहरुलाई परिपत्र जारी गरेको हो ।

परिपत्रमा कार्यालयमा हाल प्रयोग भइरहेका सामान, उपकरण, फर्निचर तथा सवारीसाधनलाई मर्मत सम्भार गरी चालु अवस्थामै प्रयोग गर्न भनिएको छ । अनावश्यक खरिद रोक्दै राज्यको खर्च घटाउने उद्देश्यले यस्तो निर्देशन जारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
पछिल्लो समय प्रयोग गर्न मिल्ने अवस्थामै रहेका कुर्सी, सोफा, दराज, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटपलगायत सामग्री विस्थापित गरेर नयाँ खरिद गर्ने प्रवृत्ति बढेको भन्दै कार्यालयले चासो व्यक्त गरेको छ । यस्तै सामान्य मर्मतसम्भारमै अत्यधिक खर्च देखाएर राज्यकोषमा अनावश्यक भार पारिएको गुनासो आएपछि खर्च नियन्त्रणमा जोड दिइएको बताइएको छ ।
प्रधानमन्त्री कार्यालयले सरकारी निकायहरुलाई उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्न र सार्वजनिक खर्चलाई पारदर्शी तथा प्रभावकारी बनाउन समेत आग्रह गरेको छ ।











