काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । नजिकिँदै गरेको चाडपर्वका बेला बैंकका काउन्टरमा हुने भीड कम गर्नुका साथै सर्वसाधारणलाई सहज बनाउन राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न भनेको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँका नोटसमेत उपलब्ध हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
हाल अधिकांश बैंक तथा वित्तीय संस्थाका एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिन्छ। साना दरका नोट आवश्यक पर्ने ग्राहकले बैंकको काउन्टरमै पुग्नुपर्ने अवस्था छ ।
विशेषगरी दसैँलगायतका चाडपर्वमा साना दरका नोट सटही तथा झिक्न बैंकमा सर्वसाधारणको भीड बढ्ने गरेको छ । यही अवस्थालाई ध्यानमा राखेर राष्ट्र बैंकले एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउने व्यवस्था गर्न लागेको हो ।
केही बैंकसँग प्राविधिक तयारीबारे छलफल गर्दा एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न सम्भव देखिएपछि राष्ट्र बैंकले आवश्यक व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको छ ।











