काठमाडौं । हरितालिका तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । पशुपतिनाथको दर्शनका लागि भक्तजन रातिदेखि नै मन्दिर परिसरमा पुग्न थालेका थिए ।

भक्तजनको चापलाई व्यवस्थित गर्न पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोलिएका छन् । पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीलाई सहज रूपमा मन्दिर प्रवेश गराउने र दर्शनपछि छिटो बाहिर निकाल्ने गरी विभिन्न चारवटा दर्शन मार्ग सञ्चालनमा ल्याएको छ ।
कोषका अनुसार मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति हुँदै कैलाश बद्रीनरसिंह भवनको मार्गबाट आउने भक्तजनलाई वासुकीनाथको उत्तरतर्फको ढोकाबाट प्रवेश गराई मन्दिरको उत्तरतर्फको र्याम्प हुँदै दर्शन गराएर पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ।

त्यस्तै, जयवागेश्वरीतर्फबाट आउने भक्तजनका लागि दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार हुँदै महास्नानघरअघिको आकाशे पुलबाट भुवनेश्वरी र नासलचोकतर्फको मार्ग प्रयोग गरिएको छ । शङ्कराचार्य मठअघिको आकाशे पुल हुँदै प्रहरी पहरा गणको सानो ढोकाबाट प्रवेश गर्ने भक्तजनलाई पशुपतिको पश्चिमतर्फको काठको र्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निकाल्ने व्यवस्था गरिएको छ ।
तिलगङ्गातर्फबाट आउने भक्तजनका लागि भने पर्यटन काउन्टरसँगैको ढोका, राम मन्दिर र वाग्मती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनालसम्म पुग्ने मार्ग तोकिएको छ । त्यहाँबाट पूर्व ढोकामा रहेको र्याम्प हुँदै पशुपतिनाथको पूर्वी मुहारको दर्शन गर्ने र सोही ढोकाबाट फर्किने व्यवस्था गरिएको छ ।

पिङ्गलास्थानतर्फबाट आउने दर्शनार्थीका लागि पनि छुट्टै मार्ग बनाइएको छ । चार शिवालय, पञ्चदेवल वृद्धाश्रम हुँदै अस्थायी आकाशे पुलबाट प्रवेश गराई चौसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन गराउने र उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवासअघिको बाटो हुँदै बाहिरिने प्रबन्ध मिलाइएको छ ।

पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य एवं प्रचारप्रसार उपसमिति संयोजक सङ्गीताकुमारी रामका अनुसार आजको व्यवस्थाअनुसार मन्दिर प्रवेश गरेपछि बढीमा दुई घण्टाभित्र भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइन व्यवस्थापन गरिएको छ ।

भक्तजनको चापलाई ध्यानमा राख्दै पशुपति क्षेत्रमा स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको छ । सम्भावित चोरी तथा अन्य सुरक्षा जोखिमलाई ध्यानमा राख्दै कोषले दर्शनका लागि आउने भक्तजनलाई बहुमूल्य गरगहना नलगाउनसमेत आग्रह गरेको छ ।
दर्शनार्थीका सवारीसाधन व्यवस्थापनका लागि गुह्येश्वरी पारिको क्षेत्र, सिफलचौर, तिलगङ्गाका खाली स्थान, पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर तथा गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा पार्किङको व्यवस्था गरिएको छ ।

सरकारी सवारीसाधनका लागि कोषको कार्यालय परिसर र सुरक्षा निकायका सवारीसाधनका लागि गौशालास्थित प्रहरी प्रभागको कार्यालयमा पार्किङको प्रबन्ध गरिएको कोषले जनाएको छ । तस्बिर: हरिराम भेटुवाल










