२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

बाढी–पहिरोले बाजुराको जनजीवन प्रभावित, सडक र विद्युत् सेवा अवरुद्ध

बाजुरामा गत भदौ १८ गतेदेखि जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । वर्षासँगै आएको बाढी र पहिरोले विभिन्न क्षेत्रमा घर तथा गोठमा क्षति पुर्‍याउनुका साथै यातायात र विद्युत् सेवा अवरुद्ध भएको हो ।

गौमुल क्षेत्र तथा बडीमालिका नगरपालिका–८ र ९ मा वर्षाजन्य विपद्बाट ठूलो क्षति पुगेको छ । मार्तडी नजिकैको गडखेतमा पहिरोले घर तथा गोठ भत्काउँदा केही गोरु पुरिएर मरेका छन् ।

पहिरोको जोखिममा रहेका विरेखोला क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रशासनले जनाएको छ । प्रभावितलाई रेडक्रस र स्थानीय प्रशासनको समन्वयमा पाल तथा अन्य राहत सामग्री उपलब्ध गराइएको छ ।

बाढी–पहिरोका कारण साफे–मार्तडी सडकखण्डका विभिन्न स्थानमा यातायात ठप्प छ । कारागार मोड, सुवाकाध, राप्का र जडङ्गालगायत क्षेत्रमा ठूला पहिरो खसेका छन् । सडक विभागका डोजर परिचालन गरी सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर वर्षा र ठूला ढुंगाका कारण समस्या भइरहेको छ ।

पहिरोले विद्युत्का पोलसमेत ढालेपछि सदरमुकाम मार्तडी र आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणको टोलीले पोल तथा तार मर्मतको काम गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकायसहित कमाण्ड पोस्ट स्थापना गरी उद्धार तथा पुनःस्थापनाका कामको अनुगमन गरिरहेको छ । मौसममा सुधार आए सडक र विद्युत् सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

वर्षा रोकिए पनि आकाशमा बादल लागिरहेकाले पहिरोको जोखिम भने कायमै छ । प्रशासनले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।