२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

नेपालीमूलका दम्पती लन्डनको स्थानीय तहमा निर्वाचित

काठमाडौं । बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । लन्डनस्थित रोयल ग्रीनवीच बरोको प्लमस्टेड एन्ड ग्लिन्डन वार्डबाट नेपाली मूलका पूर्वमेयर जित रानाभाट काउन्सिलरमा निर्वाचित भएका छन् । उनी लेबर पार्टीबाट उम्मेदवार बनेका थिए र एक हजार ६ सय १० मतसहित विजयी भए । सोही वार्डका अन्य दुई सिटमा पनि लेबर पार्टीकै उम्मेदवार टमी अहेदो र अडेल खैरा विजयी भएका छन् ।

रानाभाटकी पत्नी गौमाया गुरुङ पनि पहिलोपटक काउन्सिलरमा निर्वाचित भएकी छन् । उनले एबिउड वार्डबाट एक हजार २ सय ९२ मत प्राप्त गर्दै जीत हासिल गरिन् । उक्त वार्डका तीनवटै सिटमा पनि लेबर पार्टीकै उम्मेदवार विजयी भएका छन् ।

यसअघि रोयल ग्रीनवीच बरोको मेयर तथा उपमेयरको जिम्मेवारी सम्हालिसकेका रानाभाट दम्पतीको सफलता नेपाली समुदायका लागि गौरवको विषय बनेको छ ।

त्यस्तै, अल्डरसटस्थित रश्मोर बरोको म्यानोर पार्क वार्डबाट कन्जरभेटिभ पार्टीका जीवनारायण बेल्वासे दोस्रो पटक काउन्सिलरमा निर्वाचित भएका छन् । उनले ८ सय ९१ मत प्राप्त गरे । सोही बरोको वेलिङटन वार्डबाट पूर्वगोर्खा उत्तरबहादुर गुरुङ पनि ५ सय ५१ मतसहित काउन्सिलरमा विजयी भए ।

रेडिङ बरोको ब्याटल वार्डबाट लेबर पार्टीकी प्रतिक्षा गुरुङ एक हजार १ सय ८० मतसहित निर्वाचित हुँदै रेडिङ बरोमा नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बनेकी छन् । यस्तै, लन्डन बरो अफ बार्नेटको एड्जवेरबरी वार्डबाट कन्जरभेटिभ पार्टीका लक्ष्य गुरुङ तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित भएका छन् । उनले एक हजार ९ सय ५१ मत प्राप्त गरेका छन् ।

बिहीबार सम्पन्न बेलायती स्थानीय निर्वाचनमा करिब डेढ दर्जन नेपाली मूलका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।

यस निर्वाचनमा भने सत्तारुढ लेबर पार्टीले अपेक्षाकृत कमजोर नतिजा व्यहोरेको छ । शुक्रबार मध्यरातिसम्म सार्वजनिक परिणामअनुसार १ सय ३६ मध्ये १ सय ३१ काउन्सिलको नतिजा आउँदा नाइजल फराज नेतृत्वको रिफर्म युके सबैभन्दा ठूलो दलका रूपमा उभिएको छ । रिफर्म युकेले एक हजार ४ सय ४३ काउन्सिलर सिट जितेको छ भने लेबर पार्टीले ९ सय ५९ सिटमा सीमित भएको छ ।

त्यसैगरी, लिबरल डेमोक्र्याट्सले ८ सय ३४, कन्जरभेटिभ पार्टीले ७ सय ७३, ग्रीन पार्टीले ५ सय ११ तथा अन्य दलले २ सय ४४ सिट जितेका छन् । अघिल्लो निर्वाचनको तुलनामा लेबर पार्टीले करिब एक हजार ३ सय ९५ सिट गुमाएको छ भने रिफर्म युकेले एक हजार ४ सय ४१ सिट थप्दै उल्लेखनीय उछाल हासिल गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।