
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा घोषणा गरेको हो।
बोर्डका अनुसार यसपटक ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यद्यपि, नतिजा वेबसाइटमा भने केही समयपछि मात्र हेर्न मिल्ने जानकारी दिइएको छ।
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण अघिल्ला वर्षको तुलनामा नतिजा छिट्टै सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।
एसईईमा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए।
परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन्।
कार्यालयद्वारा जारी सूचनाअनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) तथा विभिन्न वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।
एसएमएस तथा आईभीआर सेवामार्फत नतिजा हेर्न नेपाल टेलिकमको १६०० नम्बर प्रयोग गर्न सकिनेछ। यसैगरी जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ नम्बरमा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, अनलाइनमार्फत नतिजा हेर्नका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न वेबसाइटलाई अनुमति दिइएको छ। आधिकारिक रूपमा www.see.gov.np र www.neb.gov.np बाट नतिजा हेर्न सकिनेछ भने नेपाल टेलिकमको www.see.ntc.net.np, कान्तिपुरको www.ekantipur.com, इडियु सञ्जालको www.see.edusanjal.com तथा खल्ती एपमार्फत पनि नतिजा उपलब्ध हुने जनाइएको छ।
यसका साथै निमा एजुकेशन, फोनिक्स एजुकेशन, मेरो स्टडी, एम्बिसन गुरु र इन्द्रेणी टाइम्सलगायतका प्लेटफर्मबाट पनि विद्यार्थीहरूले आफ्नो नतिजा हेर्न सक्नेछन्।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक भएपछि आधिकारिक माध्यममार्फत मात्रै नतिजा हेर्न तथा पुष्टि गर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ।
काठमाडौं । सरकारले विश्वविद्यालयहरूमा रहेका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को संरचना खारेज गर्ने निर्णय तत्काल लागू नगर्न सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।
विद्यार्थी संगठनहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अर्को आदेश नभएसम्म स्ववियु खारेजसम्बन्धी निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा आदेश दिएको हो ।
सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन पनि निर्देशन दिएको छ । अदालतको वेबसाइटमा प्रकाशित सूचनाअनुसार रिट निवेदकहरूले माग गरेअनुसार आदेश जारी गर्न नपर्ने कुनै आधार भए त्यसबारे लिखित जवाफ पेश गर्न सरकारलाई भनिएको छ ।
एमाले निकट अनेरास्ववियु, नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीसहित आठ विद्यार्थी संगठनले अध्यादेशमार्फत गरिएको स्ववियु खारेजीको निर्णयविरुद्ध गत शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा उनीहरूले सरकारको कदमले संविधानले सुनिश्चित गरेको संगठन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप गरेको दाबी गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सम्बन्धित निकायलाई विपक्षी बनाउँदै विद्यार्थी संगठनहरूले उक्त निर्णय खारेज गर्न माग गरेका छन् ।
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले उकालो लाग्दै ३८.१९ अंकले बढेर २ हजार ७८३ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा लगानीकर्ताको सक्रिय सहभागिता देखिएको छ । नेप्सेमा १ करोड ४ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । आज २४७ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
फस्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक १४.१९ प्रतिशतले उकालो लागेको छ । कारोबार रकमका आधारमा भने रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ । कम्पनीको २१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले पदबाट राजीनामा दिएका छन् । बैंकका एक सञ्चालकका अनुसार पाण्डेको बहिर्गमनको पुष्टि भएको हो ।
कार्यकाल सकिने चरणमा रहेका पाण्डे पछिल्लो समय सरकारी स्वामित्वको स्मार्ट सेलको सम्पत्ति लिलामी प्रक्रियासम्बन्धी विषयमा जोडिएपछि अनुसन्धानको दायरामा परेको चर्चा पनि चलिरहेको थियो । यसैबीच, बैंक सञ्चालक समितिले हालका डेपुटी सीईओ महेश शर्मा ढकाललाई नयाँ सीईओको जिम्मेवारी दिने तयारी गरेको बताइएको छ ।
त्यसैगरी, बैंककी असिस्टेन्ट जनरल म्यानेजर (एजीएम) जेनु थापाले पनि पदबाट राजीनामा दिएकी छन् ।
थापा पूर्व नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग जोडिएको भनिएको शंकास्पद वित्तीय कारोबारसम्बन्धी आरोपपछि विवादमा परेकी थिइन् । उनलाई अधिकारीसँग सम्बन्धित भनिएको अवैध धन (कालो धन) व्यवस्थापनमा सहयोग गरेको आरोप लागेपछि उनीमाथि पनि अनुसन्धानको चर्चा चलेको छ ।
काठमाडौं । विश्वमा महिलाको सुरक्षाको अवस्था सम्बन्धी हालै सार्वजनिक एक प्रतिवेदनअनुसार अफगानिस्तान महिलाका लागि सबैभन्दा असुरक्षित देशको रूपमा रहेको देखिएको छ ।
‘वर्ल्ड पपुलेशन रिभ्यु’ले सार्वजनिक गरेको तथ्यांक तथा ‘पिस सेक्युरिटी इन्डेक्स’ का आधारमा तयार गरिएको सूचीले सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगानिस्तानमा महिलाको अवस्था झनै कमजोर बनेको देखाएको हो । महिला सुरक्षा सूचकांकमा अफगानिस्तानले ०.२७९ स्कोरसहित सबैभन्दा कमजोर स्थान प्राप्त गरेको छ ।
त्यसैगरी, महिलाका लागि दोस्रो सबैभन्दा असुरक्षित देश यमन रहेको छ, जसको स्कोर ०.३२३ रहेको छ । लामो समयदेखिको गृहयुद्धले यमनको स्वास्थ्य, पूर्वाधार र सामाजिक सेवामा गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ ।
सूचीमा तेस्रो र चौथो स्थानमा क्रमशः सेन्ट्रल अफ्रिकन रिपब्लिक (०.३६२) र सिरिया (०.३६४) रहेका छन् । सिरियामा जारी द्वन्द्वका कारण महिलाहरू ठूलो मात्रामा विस्थापित हुनुका साथै मानसिक तनाव र असुरक्षाको सामना गरिरहेका छन् । पाँचौँ स्थानमा कंगो लोकतान्त्रिक गणतन्त्र (०.३८४) रहेको छ ।

प्रतिवेदनले युद्ध, राजनीतिक अस्थिरता र कठोर सामाजिक मान्यताका कारण धेरै देशमा महिलाको जीवन अत्यन्त जोखिमपूर्ण बनेको उल्लेख गरेको छ । अफगानिस्तानमा त सार्वजनिक जीवनमा महिलाको सहभागिता लगभग शून्य बराबर रहेको तथा शिक्षा र रोजगारीजस्ता आधारभूत अधिकारसमेत सीमित भएको बताइएको छ ।
सुडान (०.३९७) र दक्षिण सुडान (०.४११) पनि सूचीमा परेका छन्, जहाँ राजनीतिक अस्थिरता र आर्थिक संकटले महिलाको जीवन थप कठिन बनाएको छ ।
विज्ञहरूले यो सूची केवल अंक मात्र नभई विश्वका लाखौँ महिलाले भोगिरहेको वास्तविक पीडा र संघर्षको प्रतिबिम्ब भएको टिप्पणी गरेका छन् ।
त्यसैबीच, नेपालको अवस्था तुलनात्मक रूपमा सुरक्षित देखिएको छ । नेपाल सूचीमा १२०औँ स्थानमा रहेको छ । यद्यपि, सन् २०२३ को तुलनामा नेपालको स्कोर ०.६४४ बाट घटेर ०.६३१ पुगेको प्रतिवेदनमा उल्लेख छ, जसले केही चुनौती अझै कायम रहेको संकेत गर्छ ।
![]()
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको भाउ बढेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने उकालो लागेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन प्रारम्भ हुँदैछ । संसद् सचिवालयका अनुसार अधिवेशनको पहिलो दिन आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्ने तय गरिएको छ ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेले जारी गरेको सूचनाअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ अनुसार संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यसका लागि सांसदहरुलाई अपराह्न ३ः४५ बजेसम्म सिंहदरबारस्थित प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय भवन) मा उपस्थित हुन आग्रह गरिएको छ ।
संयुक्त बैठकअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक छुट्टाछुट्टै बस्ने कार्यतालिका छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइनेछ भने मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पनि सदनमा प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली–२०७९ अन्तर्गत जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि प्रस्तुत गर्ने तथा नियमावलीको मस्यौदा पेस गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
अधिवेशनको प्रारम्भसँगै सरकारले ल्याएका विभिन्न अध्यादेश पनि संसद्मा प्रस्तुत गरिने भएका छन् । संसद् सचिवालयका अनुसार ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ सहित आठ वटा अध्यादेश दुवै सदनमा पेस गरिने कार्यसूची रहेको छ ।
‘स्वच्छ प्रशासनको नयाँ संकल्प’ भन्ने नारासहित सरकारले आजदेखि देशव्यापी रूपमा ‘सरसफाइ सप्ताह २०८३’ अभियान सुरु गरेको छ । सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यो अभियान आगामी जेठ १ गतेसम्म जारी रहने जनाइएको छ ।
अभियानको शुभारम्भ स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले वीर अस्पतालमा आयोजित सरसफाइ कार्यक्रममा सहभागी हुँदै गरेकी छन् । उनले अस्पताल परिसरमा सरसफाइ गर्दै अभियानको औपचारिक उद्घाटन गरेकी हुन् ।
सरकारले सरकारी कार्यालय, अस्पताल तथा सार्वजनिक निकायमा स्वच्छता र जिम्मेवार सेवा संस्कृतिको विकास गर्ने लक्ष्यसहित देशभर विभिन्न सरसफाइ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी







काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा चक्कामा आगलागी भएपछि केही समय अवरुद्ध भएको उडान–अवतरण सेवा करिब डेढ घण्टापछि पुनः सञ्चालनमा आएको छ ।
टर्कीको इस्तानबुलबाट काठमाडौँ आएको टिके–७२६ नम्बरको विमान आज बिहान अवतरण गर्ने क्रममा चक्काबाट धुवाँसहित आगो देखिएपछि विमानस्थलको सेवा तत्कालका लागि रोकिएको थियो ।
विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार बिहान ६ः४५ बजेदेखि बन्द गरिएको विमानस्थल करिब ८ः३० बजेपछि पुनः सञ्चालनमा ल्याइएको हो । त्यसपछि एयर इन्डिया र फ्लाइ दुबईका विमान सुरक्षित रूपमा अवतरण गरिसकेका छन् भने अन्य केही उडान पनि नियमित हुन थालेका छन् ।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले विमानको चक्कामा लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जानकारी दिए । आगलागीपछि विमानलाई रनवेमै रोकेर आपतकालीन ढोकामार्फत यात्रुहरूको सुरक्षित उद्धार गरिएको थियो ।
उक्त विमानमा २ सय ७३ जना यात्रु र ११ जना चालक दलका सदस्य सवार रहेको जनाइएको छ । घटनामा मानवीय क्षति भएको विवरण भने सार्वजनिक गरिएको छैन ।
-1778468772.jpeg)
-1778468772.jpeg)
-1778468772.jpeg)
-1778468771.jpeg)
-1778468771.jpeg)
-1778468771.jpeg)





