काठमाडौं । इरानसँग अमेरिका र इजरायलबीचको सैन्य तनावको प्रभावले विश्वव्यापी रूपमा इन्धन र खाना पकाउने ग्याँसको अभाव सिर्जना गरेको छ । यसै क्रममा भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा एक महिला आफ्ना पाँच महिने शिशु लिएर बेपत्ता भएकी हुन् ।

बौधनी मजरे खटौली गाउँकी समुन देवी करिब दुई वर्षअघि विवाह गरेकी थिइन् । उनका श्रीमान् अनिलकुमारका अनुसार केही दिनअघि घरमा खाना पकाउने ग्यास सकिएको थियो । रातिको ड्युटी सकेर बिहान फर्किएका अनिलले भोकै बसेको देखेपछि पत्नीलाई सोध्दा उनले ग्यास नभएको कारण खाना नपाकेको बताए ।
अनिलले भने, ‘भोकै बस्नुभन्दा दाउरा बालेर भए पनि खाना पकाउन सकिन्थ्यो ।’ यस्तै तर्कपछि दम्पतीबीच विवाद बढ्यो र अनिल आफ्नो कोठामा गएर सुते ।
तर अपराह्न करिब ४ बजेतिर उठ्दा उनले आफ्नी पत्नी र बच्चालाई घरमा पाएनन् । छरछिमेकमा सोधखोज गर्दा पनि फेला नपरेकाले उनले प्रहरी कार्यालयमा निवेदन दिई खोजतलास सुरु गराएका छन् ।
प्रहरीका अनुसार अनिलको निवेदनको आधारमा आवश्यक अनुसन्धान र खोजी कार्य जारी छ ।









