शैलुङ । दोलखाका विभिन्न उच्च हिमाली क्षेत्रमा शनिबार बिहानदेखि हिमपात भएको छ । जिल्लाको माथिल्लो भूभागमा सेताम्मे हिमपात भइरहँदा तल्लो क्षेत्रमा भने निरन्तर वर्षा भइरहेको हो ।

प्रमुख पर्यटकीय गन्तव्य कालिञ्चोकमा हिमपात भएसँगै आन्तरिक पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्न थालेको छ । त्यस्तै शैलुङ, चेर्दुङ र हनुमन्ते डाँडालगायतका स्थानहरूमा पनि हिमपात भएको स्थानीयले बताएका छन् ।
हिमपातले पर्यटन क्षेत्र चलायमान बन्ने अपेक्षामा होटल तथा व्यवसायीहरू उत्साहित देखिएका छन् । यसले आगामी दिनमा पर्यटकको चहलपहल अझै बढ्ने विश्वास गरिएको छ ।
यता, कृषकहरू पनि मौसम परिवर्तनसँगै खुसी भएका छन् । हिमपात र वर्षाले आलु बालीलाई आवश्यक चिस्यान पुग्ने भएकाले माथिल्लो भेगका किसानलाई राहत मिल्ने भएको छ । साथै, मकै छर्ने समयमै पानी परेकाले उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।











