काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (वैशाख ३) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ जारी गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकेको छ । साथै, १ लाख ७१ हजार ६०० कित्ता कर्मचारी र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइसकिएको छ ।
अब कम्पनीले बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणका लागि निष्काशन गरेको हो, जसको मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ हुन्छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति वैशाख ८ गते तोकिएको छ । सो अवधिमा पूर्ण आवेदन नपरेमा म्याद वैशाख १७ गतेसम्म थपिनेछ ।
आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
रेटिङ्गतर्फ, केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।








