काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा गोली प्रहारबारे तत्कालीन गृहमन्त्री रमेश लेखकले आफूले आदेश नदिएको बताएका छन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगमा दिएको बयानमा लेखकले संसद भवनको सुरक्षा सुनिश्चित गर्नु उनका प्राथमिक उद्देश्य थिए तर गोली चलाउन नभनिएको बताएका हुन् । ’संसद भवनलाई कुनै पनि हालतमा सुरक्षित राख्नुपर्छ भन्ने धारणा थियो। तर अन्तिम बल प्रयोग अर्थात् गोली प्रहार गर्न कुनै पनि आदेश दिएको थिइनँ,’ उनले बयानमा भनेका छन् ।
उनका अनुसार घटनाक्रम सुरु हुनुअघि नै सामाजिक सञ्जाल र अन्य माध्यममार्फत असन्तुष्टि र आक्रोश बढिरहेको जानकारी सुरक्षा निकायमार्फत प्राप्त भएको थियो । यसका आधारमा गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,र राष्ट्रिय अनुसन्धान विभागसँग निरन्तर समन्वय गर्दै स्थिति अनुगमन गर्दै आएको थियो ।
लेखकले आफ्नो जिम्मेवारी नीतिगत निर्देशन, समन्वय र राजनीतिक तहबाट आवश्यक सहजीकरणमा सीमित रहेको पनि उल्लेख गरेका छन् ।
अर्कोतर्फ, बानेश्वरतर्फ प्रदर्शन उग्र र हिंसात्मक बन्दै गएको जानकारी पाएलगत्तै उनले प्रधानमन्त्री, रक्षामन्त्री र नेपाली सेनाका प्रधानसेनापतिलाई समेत तत्काल जानकारी गराएको बताएका छन् ।









