२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण नहुँदासम्म सरकारले मासिक आवास खर्च उपलब्ध गराउने भएको छ।

मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । चार जनाभन्दा बढी सदस्य रहेको परिवारका लागि भने थप प्रत्येक सदस्यबापत मासिक २ हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराइनेछ ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार सामाजिक सञ्जालमार्फत सरकारको राहत, पुनस्र्थापना र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेर यस्तो निर्णय गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार उक्त रकम भोटेकोशी बाढी प्रभावित परिवारले स्थायी आवास निर्माण नहुन्जेलसम्म घरभाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि प्रयोग गर्न सक्नेछन् ।

सरकारले नगद आवास भाडा सुविधा लिन नचाहने परिवारका लागि वैकल्पिक व्यवस्था पनि गरेको छ । त्यस्ता परिवारलाई स्थायी आवास निर्माण सम्पन्न नभएसम्म सरकारले नै अस्थायी आवासको व्यवस्था गर्नेछ ।

मन्त्री तिमिल्सिनाका अनुसार प्रभावित परिवारको संख्या तथा आवश्यक विवरण संकलनका लागि सम्बन्धित स्थानीय तहहरूमा फाराम पठाइसकिएको छ । प्राप्त विवरणका आधारमा राहत तथा आवास व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ ।

काठमाडौं । नेपालमा जोखिमपूर्ण अवस्थामा रहेका हिमतालबाट सम्भावित विपद् रोक्न सरकारले पानीको सतह घटाउने तयारी थालेको छ । अति उच्च जोखिममा रहेका हिमतालको पानी वैज्ञानिक विधिबाट सुरक्षित रूपमा पास गर्ने विकल्पमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गृहकार्य गरिरहेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार जोखिमयुक्त हिमतालमा आवश्यक परे ब्लास्टिङमार्फत पानीको निकास गराउने विषयमा विज्ञहरूसँग छलफल भइरहेको छ । कुन–कुन हिमतालमा यस्तो काम गर्ने भन्ने विषय भने अहिलेसम्म टुंगो लागेको छैन ।

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले जोखिमको मात्रा र सम्भावित क्षतिको अध्ययन गरेर पानीको सतह घटाउने निर्णय गरिने बताए । उनका अनुसार विज्ञहरूले विभिन्न हिमतालको नाम प्रस्ताव गरेका छन् र तीमध्ये प्राथमिकताका आधारमा थप अध्ययन भइरहेको छ ।

“जोखिममा रहेका हिमताल ब्लास्टिङ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ । जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्छ,” मन्त्री श्रेष्ठले भने ।

सरकारले हिमतालबाट उत्पन्न हुन सक्ने सम्भावित बाढी तथा अन्य विपद्को जोखिम न्यूनीकरणलाई पूर्वतयारीकै चरणमा सम्बोधन गर्ने तयारी गरेको उनको भनाइ छ ।

यसका लागि ग्रिन क्लाइमेट फण्ड (जीसीएफ) बाट प्राप्त सहयोग परिचालन गर्ने सरकारको योजना छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने काम यही वर्ष अघि बढाइने मन्त्री श्रेष्ठले जानकारी दिए ।

हिमतालको पानीको सतह घटाउने काम संवेदनशील र प्राविधिक विषय भएकाले सरकारले विज्ञहरूको सुझावका आधारमा प्रक्रिया अघि बढाउने जनाएको छ । कुन तालमा कस्तो विधि अपनाउने भन्ने निर्णय भने विस्तृत अध्ययनपछि मात्रै गरिनेछ ।

इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त अवस्थामा छन् । तीमध्ये कोसी र गण्डकी जलाधार क्षेत्रमा चार वटा हिमताललाई अति उच्च जोखिमयुक्त मानिएको छ ।

हिमताल विस्फोट भएर अचानक ठूलो परिमाणमा पानी तल्लो तटीय क्षेत्रमा बग्दा जनधन तथा पूर्वाधारमा ठूलो क्षति पुग्न सक्ने भएकाले जोखिमयुक्त तालको पानीको सतह घटाउने उपायलाई सरकारले सम्भावित विपद् न्यूनीकरणको महत्वपूर्ण पूर्वतयारीका रूपमा अघि बढाउन लागेको हो ।

काठमाडौं । इन्डोनेसियामा २४० जना यात्रु सवार यात्रुवाहक पानीजहाज जाभा सागरमा सम्पर्कविहीन भएको छ ।

इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीका अनुसार पूर्वी जाभाको सुराबायाबाट दक्षिण कालीमन्तानको बान्जारमासिनतर्फ जाँदै गरेको जहाज यात्राकै क्रममा सम्पर्कबाहिर पुगेको हो ।

जहाजसँग अन्तिमपटक बान्जारमासिनस्थित खोज तथा उद्धार केन्द्रबाट करिब ८० समुद्री माइल टाढा हुँदा सम्पर्क भएको थियो । त्यसपछि जहाजको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको अधिकारीहरूले बताएका छन् ।

जहाज हराएपछि इन्डोनेसियाली उद्धार निकायले खोजी अभियान सुरु गर्दै एउटा उद्धार जहाज घटनास्थलतर्फ पठाएको छ । उद्धार टोलीले सम्पर्कविहीन जहाजको अवस्था र त्यसमा सवार यात्रुको अवस्थाबारे जानकारी संकलन गर्ने प्रयास गरिरहेको छ ।

अधिकारीहरूका अनुसार सम्पर्क टुट्नुअघि जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गरेको थियो । मौसमकै कारण जहाजको सम्पर्क टुटेको हो वा अन्य कुनै कारणले घटना भएको हो भन्नेबारे भने तत्काल स्पष्ट भइसकेको छैन ।

इन्डोनेसियाली अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जहाज सम्पर्कविहीन भएको जानकारी दिएको हो ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न बस्ने भएको छ । पार्टीको १५औँ महाधिवेशनको तयारी तथा त्यससँग सम्बन्धित विषयमा बैठकमा छलफल हुने जनाइएको हो ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनका विषयमा आवश्यक छलफल र निर्णय गरिने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै सबै प्रदेश सभापतिलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।

काठमाडौं । देशका विभिन्न जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिम कायमै छ । वर्षाका कारण साना तथा ठूला नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाका अनुसार आज पाँचथर, संखुवासभा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, जाजरकोट, दैलेख र सुर्खेत तथा आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना छ ।

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । वर्षाको मात्रा बढेमा खोला तथा नदीमा पानीको सतह छोटो समयमै बढ्न सक्ने भएकाले नदी आसपास र तल्लो तटीय क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ ।

महाशाखाले देशका केही ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरेको छ । वर्षाको अवस्था र नदीको बहाव निरन्तर निगरानीमा रहेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।