
काठमाडौं । विसं २०८२ चैत १३ गते गठन भएको बालेन्द्र शाह नेतृत्वको सरकारमा मन्त्रीहरू विवादमा पर्ने र बाहिरिने क्रम देखिएको छ । सरकार गठन भएको करिब ६ महिनामै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै सरकारबाट बाहिरिने मन्त्रीको संख्या दुई पुगेको छ ।
यादवले बिहीबार, भदौ २५ गते पदबाट राजीनामा दिएकी हुन् । पछिल्लो समय एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न नसकेको विषयमा सरकारमाथि दबाब बढिरहेका बेला उनको राजीनामा आएको हो ।
ग्यास अभावबारे मन्त्री यादवले दिएको अभिव्यक्तिले समेत विवाद निम्त्याएको थियो । ग्यासको आपूर्ति सहज हुन नसक्नुमा उद्योगी तथा व्यवसायी जिम्मेवार रहेको संकेत गर्दै उनले ‘उद्योगी व्यवसायीको पाता नफर्काएसम्म ग्यासको आपूर्ति सहज नहुने’ अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिप्रति व्यवसायीहरूले सार्वजनिक रूपमा आपत्ति जनाएका थिए ।
मन्त्री यादवको पछिल्लो विवाद भने ग्यास आपूर्ति व्यवस्थापनमा केन्द्रित थियो । विभागीय मन्त्रालयको नेतृत्वमा रहेर समस्या समाधान गर्न नसकेको भन्दै प्रधानमन्त्री शाह उनीसँग असन्तुष्ट रहेको स्रोतको दाबी छ । समस्या तत्काल सम्बोधन गर्न नसके यादवलाई ‘असक्षम’ भन्दै पदबाट हटाउने तयारीसमेत भएको र त्यसअघि नै उनले राजीनामा दिएको स्रोतको भनाइ छ ।
यादव यसअघि पनि मन्त्रालयका निर्णय र गतिविधिका कारण प्रधानमन्त्रीको असन्तुष्टिमा परेकी थिइन् । पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुअघि नेपाल आयल निगमले पेट्रोलियम व्यवसायीहरूसँग मन्त्रालयमै भेट गरेको विषयमा समेत प्रधानमन्त्री असन्तुष्ट रहेको बताइएको छ ।
यही प्रकरणमा प्रधानमन्त्रीले प्रहरी नेतृत्वलाई मन्त्री यादवलाई पक्राउ गर्न निर्देशन दिएको र प्रहरी प्रमुखले बहालवाला मन्त्रीलाई सिधै पक्राउ गर्न नमिल्ने बताएपछि प्रक्रिया रोकिएको समाचारहरू सार्वजनिक भएका थिए । यद्यपि, उक्त घटनाबारे सरकारका तर्फबाट औपचारिक पुष्टि भएको छैन ।
१५३ दिनमै राजीनामा
चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएकी यादवले करिब १५३ दिन मन्त्रालय सम्हालिन् । राजीनामापछि उनी मन्त्रालयबाट भावुक हुँदै बाहिरिएकी थिइन् ।
यादवभन्दा अघि बालेन सरकारबाट बाहिरिने मन्त्री थिए-दीपक साह । चैत १३ गते सरकार गठन हुँदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका साहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अतिरिक्त जिम्मेवारीसमेत सम्हालेका थिए ।
तर, आफ्नी श्रीमती जुनू श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्त गराउन प्रभाव पारेको आरोप लागेपछि शाहले साहलाई पदबाट हटाएका थिए । श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको बैठकमा लगातार अनुपस्थित भएर रिक्त भएको पदमा पुनः निरन्तरता दिन दबाब दिएको आरोप साहमाथि लागेको थियो ।
पछि स्वास्थ्य मन्त्रालयले श्रेष्ठलाई नयाँ सदस्यका रूपमा नियुक्त गरेपछि विवाद थप चर्किएको थियो । सामाजिक सञ्जालमा विरोध बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत प्रधानमन्त्री शाहलाई पत्र लेखेर साहलाई पदमुक्त गर्न आग्रह गरेका थिए ।
चैत १३ गते शपथ लिएका साह २६ चैतमै पदमुक्त भएका थिए । अर्थात्, उनको मन्त्री पदको कार्यकाल १३ दिनमै टुंगिएको थियो ।
साहलाई हटाएपछि श्रम मन्त्रालयको जिम्मेवारी रामजी यादव र उद्योग मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादवलाई दिइएको थियो ।
विवादित गृहमन्त्रीलाई भने पुनः जिम्मेवारी
बालेन सरकारमा मन्त्री हटाउने घटनासँगै विवादित मन्त्रीलाई पुनः जिम्मेवारी दिने निर्णय पनि भएको छ ।
सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । उनको सम्पत्तिसम्बन्धी विषयमा छानबिन गर्न समिति गठन गरिएको थियो ।
छानबिन समितिले गुरुङले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दा पनि सम्पत्ति विवरणसम्बन्धी प्रणालीगत समस्या देखाउँदै प्रतिवेदन बुझाएको दाबी गरिएको छ । त्यसपछि प्रधानमन्त्री शाहले गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गरेका थिए ।
वैशाख ९ गते राजीनामा दिएका गुरुङ जेठ २६ गते पुनः गृहमन्त्री बने। तर, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिएको छैन । प्रतिवेदन गोप्य राखिएपछि त्यसको निष्कर्ष र सरकारको निर्णयमाथि प्रश्नसमेत उठ्दै आएको छ ।
यसरी बालेन सरकारको सुरुवाती ६ महिनाको राजनीतिक अभ्यास हेर्दा एकातिर विवादित मन्त्रीलाई पदबाट हटाइएको छ भने अर्कोतिर छानबिनपछि उही मन्त्रीलाई पुनः जिम्मेवारी दिइएको छ । उद्योगमन्त्री यादवको पछिल्लो राजीनामाले भने सरकारभित्र मन्त्रीहरूको कार्यसम्पादन, निर्णय प्रक्रिया र प्रधानमन्त्रीसँगको सम्बन्धलाई फेरि बहसमा ल्याएको छ ।
काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका हुन् ।
मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिको ग्यास उद्योगीहरूले विरोध जनाउँदै प्रधानमन्त्री शाहसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।
अभिव्यक्तिलाई लिएर विवाद बढ्दै गएपछि मन्त्री यादवले राजीनामा दिएकी हुन् ।
दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ । हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने गरी उर्लेर आएको भीषण बाढीले रसुवाको भोटेकोशी र त्रिशूली नदी किनारका सुन्दर बस्ती र भूगोललाई क्षणभरमै क्षतविच्छेद तुल्यायो ।
नेपाल–चीनबीच रहेको केरुङ अन्तरराष्ट्रिय नाकामा दुवै देशका महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीको हताहत भयो भने दशकौँलगाएर तयार गरिएका भौतिक पूर्वाधारसम्बन्धी संरचना पनि एकैसाथ ढले । नदी किनारका सुन्दर बस्तीहरू खण्डहरमा परिणत भयो । ती ठाउँ सञ्चार र सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भए । त्यस बाढीमा परी हराइरहेकामध्ये एक हजार ३६७ जनाको शव प्राप्त भएको छ ।
मानसरोवर र गोसाइँकुण्डको तीर्थयात्रमा रहेका ५०० भन्दा बढी विदेशी नागरिकको ज्यान गयो । त्यस बाढीमा परी पाँच हजारभन्दा बढी नागरिक अहिले सम्पर्कविहीन छन् । त्यस क्षेत्रबाट हालसम्म बाढीप्रभावित १३ हजारभन्दा धेरैको उद्धार गरिएको छ । बाढीसँगै आएको लेदोसहितको छालले विद्यालयमा पढिरहेका विद्यार्थी, डयुटीमा खटिरहेका सुरक्षाकर्मी, घरधन्दा गरिरहेका गृहणी, व्यापार व्यवसाय गरिरहेको नागरिक, सुरुङमा काम गरिरहेका इन्जिनियर, मजदुरसहित ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान लियो ।
त्यस क्षेत्रका सडक भत्केर खोचमा परिणत भए । चारैतिर हिलोको साम्राज्यजस्तो भयो । दुवै नदी किनारका क्षेत्र सिमेन्ट प्लास्टर गरेको मैदानजस्तो भयो । बाढीको त्यस खालको क्रन्दनबाट परिवार, आफन्त र धनमाल गुमाएका रसुवावासीको आँसु, चित्कार र कोलाहलकाबीचमा रसुवावासीका लागि हेलिकप्टरको उडान नै बाँच्ने र बचाउने एकमात्र जीवनको आधार बन्न पुग्यो ।
बाढीको उग्ररुपले प्रभावित क्षेत्रका सबै खाले पुलपुलेसो बगाएकाले वारि–पारि तथा ओल्लोबाट पल्लोगाउँ पुग्ने विषय कल्पना बाहिर थियो । यही विभिषिका र त्रासदीको भूमरीका बीच रसुवाको अस्थायी हेलिप्याडमा हेलिकप्टर चालक क्याप्टेन प्रिया उत्रनुभयो ।
त्यस दिनको घटनाको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “मेरो वरिपरि रोइरहेका आफन्तहरू, पहिरोमा पुरिएर घाइते भएकाको छटपटी र टोलाइरहेका वृद्धवृद्धाको भीड थियो । मौसम असाध्यै प्रतिकूल थियो । बाक्लो कुहिरो र कालो बादलले रसुवाका अप्ठ्यारा पहाडका टाकुरालाई पूर्ण रूपमा ढाकेका थिए । हावाको गति तीव्र थियो । यस्तो अवस्थामा उडान भर्नु भनेको सिधै मृत्युको ककपिटमा बस्नुसरह थियो ।”
त्यसबेला बाढीप्रभावित क्षेत्रमा उद्धार टोली र स्थानीय आकाशतिर हेर्दै प्रार्थना गरिरहेका थिए । ठीक त्यही निसासिँदो बादललाई चिर्दै, पहाडका कापबाट जोगिँदै धुञ्चेको आकाशमा एउटा हेलिकप्टर ओर्लियो । ब्लेडको कानै खाने आवाजका बीच हेलिकप्टर भुइँमा टेक्यो र ककपिटको ढोका खुल्यो । सैनिक पोशाकजस्तै कडा मिहिनेत झल्किने पोशाक, एभिएटर चश्मा र अनुहारमा एउटा गम्भीर एकाग्रता बोकेर ककपिटबाट उहाँ ओर्लिनुभएको थियो ।
हेलिकप्टरको इन्जिन बन्द नहुँदै उहाँ आफैँ हिलोमा कुद्दै अघि बढ्नुभयो । पहिरोले क्षतविक्षत भएका वृद्धवृद्धालाई पिठ्युँमा बोक्न सघाउनेदेखि रोइरहेका बालबालिकालाई फकाएर हेलिकप्टरभित्र सिटमा बाँध्नेसम्मको काममा उहाँ आफैँ खटिनुभयो । पहिरोको हिलो र पीडितको आँसुका बीच उहाँले त्यो सक्रियता साच्चिकै मानवीयताले भरिएको देखिन्थ्यो ।
सामान्य अवस्थामा हिमाली र पहाडी भेगमा एक–दुई पटक उडान भर्न पनि पाइलटहरूले निकै कसरत र मौसमको पर्खाइ गर्नुपर्छ । तर, रसुवाको त्यो असाध्यै कठिन भूगोल, साँघुरो उपत्यका र कतिपय अवस्थामा शून्य प्रायः भिजिबिलिटी (दृश्यता) का बीच पनि प्रियाले दैनिक १० पटकसम्म उडान भनुभयो । एकपटक उड्नु, घाइतेलाई काठमाण्डौ वा सुरक्षित अस्पताल पुर्याउनु अनि फेरि तुरुन्तै रसुवाको जोमखिमयुक्त आकाशमा फर्किनु यो कुनै सामान्य व्यावसायिक जिम्मेवारी मात्र थिएन, वीरलै देखिने साहस थियो ।
हरेक पटक हेलिकप्टर आकाशतर्फ उड्दा भुइँमा बस्नेहरूका आँखामा आशाको त्यान्द्रो पलाउँथ्यो भने उहाँ फर्किंदा कयौँको जीवन जोगिइसकेको हुन्थ्यो । हेलिकप्टरको इन्जिनको चर्को आवाज र हावाको बेगका बीच उहाँले आफ्नो पसिना पुछ्दै भन्नुभयो, “जब म ककपिटमा बस्छु र कप्टरले जमिन छाड्छ, मलाई मेरो अगाडिको खराब मौसम वा खतराको महसुस नै हुँदैन । मेरो दिमाग र नजरमा केवल भुइँमा छटपटाइरहेका, उद्धारको पर्खाइमा रहेका ती निर्दोष अनुहार मात्र नाच्छन् । उनीहरूलाई समयमै बचाएर सुरक्षित ठाउँमा पुर्याउन पाउनु नै मेरो उडानको सबैभन्दा ठूलो सार्थकता र ऊर्जा हो ।”
त्यो बाढीले रसुवाको जमिन मात्र हल्लाएको थिएन, सिङ्गो देशको मन कम्पन गराएको थियो । तर, त्यो आँसु र हिलोको दलदलकाबीच क्याप्टेन प्रियाजस्ता साहसी सारथीले मल्हम लगाउने काम गर्नुभयो । दिनमा १० पटक मृत्युसँग जुध्दै जीवनको उडान भर्ने क्याप्टेन अधिकारीको साहस रसुवाको इतिहासमा र नेपाली नागरिकको मनमा सधैँ एउटा मार्गदर्शक र प्रेरणादायी कथाका रूपमा जीवित रहनेछ ।
मिस नेपालको मञ्चदेखि नेपाली आकाशसम्मको सफल यात्रा तय गरेकी क्याप्टेन प्रिया अधिकारी हालैको बाढीप्रभावित रसुवा जिल्लामा नागरिकको जीवन बचाउने महाअभियानमा अहोरात्र खटिएकी देशकै पहिलो महिला हेलिकप्टर क्याप्टेन हुनुहुन्छ । बाढीपछि रसुवा पुगेपछि क्याप्टेन अधिकारीको दैनिकी पूर्ण रूपमा उद्धार उडानमै व्यस्त रह्यो ।
यसबीचमा उहाँले १०० भन्दा बढी उद्धार उडान गर्नुभयो । विशेष गरी रसुवाको टिमुरे तथा नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा फसेका, घाइते भएका र अलपत्र परेका नागरिकहरूको उद्धारमा उहाँको हेलिकप्टर निरन्तर उडिनै रह्यो ।
काठमाडौं । नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने तय भएको हो ।
प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार बैठकमा कांग्रेससहित विभिन्न प्रतिपक्षी दलका नेताहरू सहभागी हुनेछन् ।
बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू सहभागी हुने बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय तथा प्रतिपक्षी दलहरूबीचको सहकार्यलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।





