
आफ्नो गाडी चोरी वा क्षति हुने डर कति हदसम्म हुन सक्छ ? भारतको बिहारसँग जोडिएको एउटा भाइरल भिडियोले यसको अनौठो उदाहरण देखाएको छ । भिडियोमा महिन्द्रा स्कर्पियो क्लासिकलाई क्रेनको सहायताले घरको छतमाथि पुर्याएर पार्क गरिएको देखिन्छ ।
सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको भिडियोमा क्रेनले स्कर्पियोलाई भवनको छतसम्म उठाउँदै गरेको स्पष्ट देखिन्छ । जमिनमा पार्क गर्दा गाडी असुरक्षित हुने चिन्ताका कारण यस्तो गरिएको दाबी सामाजिक सञ्जालमा गरिएको छ ।
विदेश जानुअघि गाडी छतमाथि!
भाइरल भिडियोसँगै सार्वजनिक भएका विवरणअनुसार, गाडीका मालिक कामको सिलसिलामा विदेश जानुपर्ने भएकाले आफ्नो अनुपस्थितिमा स्कर्पियो सुरक्षित राख्न चाहन्थे । त्यसपछि उनले गाडीलाई खुला ठाउँमा पार्क गर्नुको सट्टा क्रेनको प्रयोग गरेर घरको छतमै पुर्याएको दाबी गरिएको छ ।
तर, यी विवरणहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् । भिडियोमा गाडी छतमाथि पुर्याइएको दृश्य देखिए पनि मालिक को हुन्, बिहारको कुन स्थानमा घटना भएको हो र गाडी छतमाथि राख्न आवश्यक अनुमति लिइएको थियो वा थिएन भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।
सामाजिक सञ्जालमा अनेक प्रतिक्रिया
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनालाई लिएर विभिन्न प्रतिक्रिया दिएका छन् । कतिपयले गाडीप्रतिको मालिकको असाधारण मोह भन्दै टिप्पणी गरेका छन् भने केहीले यस्तो तरिका सुरक्षाका दृष्टिले कत्तिको उचित हो भन्ने प्रश्न उठाएका छन् ।
सामान्यतया महँगो वा प्रिय सवारीसाधनलाई सुरक्षित राख्न मानिसहरूले सुरक्षित पार्किङ, ग्यारेज वा अन्य विकल्प रोज्ने गर्छन् । तर, यो घटनामा भने गाडीलाई नै क्रेनमार्फत घरको छतमाथि पु¥याइएको दृश्यले धेरैको ध्यान तानेको छ ।
हालसम्म उपलब्ध भिडियोले स्कर्पियो क्रेनको सहायताले छतमाथि राखिएको दृश्य पुष्टि गरे पनि त्यसको कारण, स्थान र गाडीधनीसम्बन्धी अन्य दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
भावनगर । भारतको गुजरातस्थित भावनगरमा हत्या आरोपीलाई क्राइम सीन रिक्रिएट गराउने क्रममा प्रहरीले सार्वजनिक स्थलमै कुटपिट गरेपछि प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ ।
३३ वर्षीया काजल बरैयाको हत्या आरोपमा पक्राउ परेका फैजल लखानीलाई प्रहरीले शनिबार घटनास्थलमा लगेको थियो । क्राइम सीन रिक्रिएसनका क्रममा फैजललाई डोरीले बाँधेर घिसार्दै लाठीले कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको हो ।
प्रहरीका अनुसार बिहीबार भावनगरको एक बस स्ट्यान्डमा फैजलले काजलमाथि कुटपिट गरेका थिए । गम्भीर घाइते काजलको उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि प्रहरीले शुक्रबार फैजललाई हत्या आरोपमा पक्राउ गरेको थियो ।
काजल र फैजल विगत करिब सात वर्षदेखि ‘लिभ–इन रिलेसनसिप’मा रहेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार फैजल यसअघि लुटपाटलगायतका अपराधमा समेत संलग्न थिए । जेलबाट रिहा भएपछि काजलको अर्का व्यक्तिसँग सम्बन्ध रहेको थाहा पाएपछि विवाद बढेको र त्यसक्रममा उनले काजलमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।
तर, हत्या अनुसन्धानका क्रममा आरोपीलाई नियन्त्रणमा लिएर प्रहरीले सार्वजनिक रूपमा गरेको व्यवहारले नयाँ विवाद सिर्जना गरेको छ । नीलमबाग प्रहरी चौकीका इन्स्पेक्टर डीपी उनादकटले सार्वजनिक स्थलमा महिलामाथि भएको क्रूरतापूर्ण आक्रमणपछि प्रहरीमाथि प्रश्न उठिरहेको भन्दै अपराधीलाई कडा सन्देश दिन यस्तो कदम आवश्यक ठानिएको बताएका छन् ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार प्रहरी अधिकारीले घटनापछि जनतामा सुरक्षाको प्रत्याभूति गराउन र अपराधीलाई कडा सन्देश दिन खोजिएको दाबी गरेका छन् ।
यद्यपि, प्रहरीको यो कदम गुजरात सरकारकै निर्देशनसँग बाझिएको देखिएको छ । गुजरात उच्च अदालतमा विचाराधीन एक जनहित याचिकाको सन्दर्भमा राज्यको गृह विभागले गत मे ७ मा जारी गरेको परिपत्रले प्रहरीलाई आरोपीलाई सार्वजनिक रूपमा कुटपिट गर्न, उठबस गराउन वा अपमानजनक व्यवहार गर्न रोक लगाएको छ ।
परिपत्रमा त्यस्तो कार्यमा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरिने र सम्बन्धित क्षेत्रका उच्च प्रहरी अधिकारीलाई समेत जिम्मेवार बनाइने उल्लेख छ ।
यसै कारण हत्या आरोपीमाथि सार्वजनिक रूपमा गरिएको कुटपिटले अपराध नियन्त्रणका नाममा प्रहरीले कानुनी सीमाभन्दा बाहिर जान मिल्छ कि मिल्दैन भन्ने बहस पुनः चर्काएको छ । घटनाले आरोपीमाथिको अनुसन्धानसँगै प्रहरी आचरण, मानव अधिकार र कानुनी शासनको विषयलाई समेत चर्चामा ल्याएको छ ।
रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि हराएका सुनचाँदी, नगद, अन्य धनमाल तथा महत्त्वपूर्ण कागजात फेला परेमा नजिकको प्रहरी कार्यालयमा बुझाउन नेपाल प्रहरीले आग्रह गरेको छ ।
बाढीका कारण हराएका सामान आफूसँग राख्ने वा त्यस्ता सामग्री बिक्री–वितरण गर्ने कार्य नगर्न समेत प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ । प्रहरीले यस्ता सामग्री फेला पारेर लुकाउने वा कारोबार गर्ने कार्यलाई आपराधिक तथा अमानवीय व्यवहारका रूपमा लिएको जनाएको छ ।
फेला परेको धनमाल तथा कागजात सम्बन्धित व्यक्तिसम्म पु¥याउन सहयोग गर्दै नजिकको प्रहरी कार्यालयमा बुझाएर असल नागरिकको भूमिका निर्वाह गर्न प्रहरीले अनुरोध गरेको छ ।
गत भदौ १० गते आएको हिमबाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । बाढीपछि हराएका धनमाल तथा कागजातको खोजी भइरहेका बेला प्रहरीले यस्तो आग्रह गरेको हो ।





