२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

रुमन श्रेष्ठ
पाटन । पहिले अतिक्रमण र बेवास्ताले संकटमा परेको ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरी अहिले मानिसहरूको चहलपहलले भरिन थालेको छ । पुनःस्थापनापछि पोखरीसँगै निर्माण गरिएको पार्कमा घुम्न, रमाउन र समय बिताउन आउनेको संख्या बढ्दै गएको छ ।

ललितपुर महानगरपालिकाले नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाएर पोखरी पुनर्निर्माण गरेको हो । लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पोखरी आसपास पार्कसमेत निर्माण गरिएको छ ।

पुनर्निर्माणपछि पोखरी अहिले सर्वसाधारणका लागि खुला र आकर्षक गन्तव्य बनेको छ । बिहान–बेलुका घुम्न आउनेदेखि परिवार तथा साथीभाइसँग समय बिताउन आउनेसम्मको उपस्थिति देखिन थालेको छ । पोखरीको किनार र पार्कमा बसेर वातावरणको आनन्द लिनेहरूका कारण क्षेत्रको रौनकसमेत बढेको छ ।

लिच्छविकालीन इतिहाससँग जोडिएको सप्तपाताल पोखरी लामो समयसम्म अतिक्रमण र संरक्षण अभावका कारण जीर्ण बनेको थियो । यसको संरक्षणका लागि २०६१ सालदेखि सुरु भएको कानुनी लडाइँमा सर्वोच्च अदालतले २०७६ सालमा अतिक्रमित १४ रोपनी जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दिएको थियो । थप ३२ रोपनी जग्गा फिर्ताको प्रक्रिया पनि अघि बढाइएको छ ।

वर्षौँको विवाद र उपेक्षापछि पुनःजीवन पाएको सप्तपाताल अहिले ऐतिहासिक सम्पदासँगै शहरभित्र घुमफिर र विश्राम गर्ने नयाँ गन्तव्यका रूपमा समेत स्थापित हुँदै गएको छ ।

काठमाडौं । रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा आएको भीषण बाढीपछि मानवीय क्षतिको अवस्था झन् भयावह बन्दै गएको छ । बाढीको १० दिन बितिसक्दा पनि विभिन्न आयोजनामा हराइरहेकाहरूको खोजी जारी छ भने कतिपय आयोजनामा शव भेटिने क्रमसमेत सुरु भएको हो ।

शुक्रबार मात्रै २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङ तथा हेडवक्र्स क्षेत्रमा ६ जनाको शव फेला परेको छ । तालिमप्राप्त कुकुरसहितको टोलीले खोजी गर्दा सल्लेटार क्षेत्रमा शव भेटिएका हुन् । नेपाली सेनाले ती शव बट्टार ल्याएको छ ।

आयोजनामा उद्धारका लागि कोरियाली उद्धार टोली, शेर्पा, सर्च तथा ड्रोन टोली परिचालन गरिएको छ । विशेष क्यामेरा र तालिमप्राप्त कुकुर पनि खोजीमा प्रयोग भइरहेका छन् । कम्पनीले १५ वटा उद्धार मेसिन तथा आवश्यक उपकरण आयोजनास्थलमा पु¥याएको जनाएको छ । सुरुङभित्र जमेको पानी निकाल्न वाटर पम्प सञ्चालनमा छन् ।

बाढी आउनुअघि माथिल्लो त्रिशूली–१ मा १ हजार ४ सय ३३ जना कार्यरत थिए । तीमध्ये ८ सय ७६ जनाको उद्धार भइसकेको छ भने ५ सय ५१ जना अझै सम्पर्कविहीन छन् ।

यता, १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा पनि उद्धार कार्य मौसम र नदीको उच्च बहावका कारण प्रभावित भएको छ । आवश्यक मेसिनरी तथा उपकरण त्रिशूली हुँदै धुन्चेसम्म पु¥याइए पनि आयोजनास्थलसम्म लैजान सकिएको छैन । आयोजनाबाट ९३ जना अझै बेपत्ता छन् । शनिबारदेखि अग्लो स्थानमा क्याम्प बनाएर उद्धार तथा खोजीलाई निरन्तरता दिने तयारी गरिएको छ ।

३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाको अवस्था पनि उस्तै छ । बाढी आएको १० दिन बितिसक्दा पनि हराइरहेकाहरूको अवस्थाबारे यकिन हुन सकेको छैन । साना मेसिन प्रयोग गरेर उत्खनन गर्दा विद्युत्गृह रहेको क्षेत्रसम्म नदीको बहाव पुगेको भेटिएको छ ।

त्रिशूली नदीको सतहबाट २ मिटरसम्म उत्खनन गर्दा संरचनाको अंशसमेत फेला नपरेपछि अब १२ मिटरसम्म खन्ने तयारी गरिएको छ । सुरक्षाकर्मीले सर्जट्याङ्कदेखि पेनस्टकसम्म खोजी गर्दा पनि अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाइएको छ ।

माथिल्लो त्रिशूली–३ ‘बी’ बाट मात्रै १ सय ९१ जना सम्पर्कविहीन छन् । बेपत्तामध्ये निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १ सय ४१ जना, प्रवद्र्धक कम्पनीका २१ कर्मचारी, कर्मचारीका ७ जना परिवारका सदस्य, परामर्शदाता चिलिमे इन्जिनियरिङका १२ जना, एक सुरक्षा गार्ड र काठमाडौं विश्वविद्यालयका ३ जना इन्टर्न रहेका छन् । सुरुङमा कार्यरत २३ जनाले भने सुरक्षित रूपमा बाहिर निस्किएर ज्यान जोगाएका थिए ।

यद्यपि, त्रिशूली–३ ‘ए’ आयोजनामा शुक्रबार एउटा सकारात्मक खबर पनि आएको छ । बाढीपछि विद्युत्गृहमा फसेका दुई प्राविधिक कर्मचारीको २ सय १६ घण्टापछि सकुशल उद्धार गरिएको छ । सप्तरीका सञ्जय साह र काठमाडौंका कबिर महर्जनलाई उद्धार टोलीले जीवितै बाहिर निकालेको हो । अन्य फसेकाहरूको खोजी भने जारी छ ।

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि ४१ जना सम्पर्कविहीन रहेकोमा दुई जनाको शव यसअघि नै फेला परिसकेको छ । शुक्रबार नेपाली सेनाले सुरुङभित्र प्रवेश गरी थप खोजी गरेको छ। आयोजनाबाट १९ जनाको उद्धार भइसकेको छ भने अझै ३९ जनाको अवस्था अज्ञात छ ।

यस्तै, चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहमा फसेका ६ जनाको समेत उद्धार हुन सकेको छैन । मैलुङखोला जलविद्युत् आयोजनामा कार्यरत ७ जना र निर्माणाधीन रसुवा भोटेकोशी आयोजनाका ४ जना पनि अझै सम्पर्कविहीन छन् ।

लगातारको वर्षा, नदीको बढ्दो बहाव र आयोजनास्थलसम्म ठूला मेसिन पु¥याउन नसक्दा उद्धारमा ठूलो चुनौती देखिएको छ । तर विभिन्न सुरक्षा निकाय, स्वदेशी तथा विदेशी उद्धार टोली र आयोजनाका प्राविधिकहरू सम्भावित जीवित व्यक्तिको खोजी र शव उद्धारमा निरन्तर खटिरहेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।