
काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रमले भदौ महिनामा पनि निरन्तरता पाएको छ । बैंकहरूले सार्वजनिक गरेको भदौ महिनाको नयाँ ब्याजदरअनुसार व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेप दुवैतर्फको औसत ब्याजदर साउनको तुलनामा घटेको हो ।
भदौका लागि २० वाणिज्य बैंकमध्ये पाँच बैंकले व्यक्तिगत वा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बाँकी १५ बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । भदौमा कुनै पनि वाणिज्य बैंकले अघिल्लो महिनाको तुलनामा ब्याजदर बढाएका छैनन् ।
ब्याजदर सबैभन्दा बढी घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक छन् । सिद्धार्थले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.२९ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.२० प्रतिशत बिन्दुले घटाएको छ । नेपाल बैंकले व्यक्तिगततर्फ ०.१० प्रतिशत बिन्दु तथा संस्थागततर्फ ०.५० प्रतिशत बिन्दुले ब्याजदर कटौती गरेको छ ।
त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.१० प्रतिशत बिन्दुले घटाएको छ । कुमारी बैंकले व्यक्तिगततर्फ ०.०९ प्रतिशत बिन्दु र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् । यी बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने परिवर्तन गरेका छैनन् ।
नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबिआई, एभरेष्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकले व्यक्तिगत तथा संस्थागत दुवै मुद्दती निक्षेपमा साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
भदौमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा बढी ब्याजदर नबिल र प्रभु बैंकले दिने भएका छन् । दुवै बैंकले अधिकतम ४.५५ प्रतिशत ब्याजदर तोकेका छन् । व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम ब्याजदर भने कुमारी र सिद्धार्थ बैंकको छ । यी बैंकले अधिकतम ३.७६ प्रतिशत ब्याजदर दिनेछन् ।
संस्थागत मुद्दती निक्षेपतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, नेपाल बैंक, एभरेष्ट र हिमालयन बैंकले सबैभन्दा बढी ३.५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
यता प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दती निक्षेपमा सबैभन्दा कम २.७५ प्रतिशत ब्याजदर तोकेका छन् ।
बैंकहरूको ब्याजदर लगातार घट्दै जाँदा निक्षेपकर्ताले पाउने प्रतिफल घट्ने देखिएको छ भने अर्कोतर्फ कर्जाको ब्याजदरमा समेत यसको प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा ब्याजदर घट्ने प्रवृत्तिले निरन्तरता पाएको हो ।

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
आज राती देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान, मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका समेत एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।





