
काठमाडौँस्थित होटल रेडिसनमा ठूलो परिमाणमा ग्यास सिलिन्डर मौज्दात राखिएको भेटिएको छ । उद्योग मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा होटलमा १८४ वटा ग्यास सिलिन्डर फेला पारेको हो ।
बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको दाबी भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले होटल तथा व्यावसायिक प्रतिष्ठानमा अनुगमन तीव्र बनाएको थियो । सोही क्रममा रेडिसन होटलमा नेपाल ग्यास र एसटीसी ग्यासका सिलिन्डर ठूलो संख्यामा मौज्दात रहेको पाइएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा नेपाल ग्यासका ११७ वटा भरिएका सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका छन् । त्यस्तै, होटलका विभिन्न चुलोमा करिब ७० वटा ग्यास सिलिन्डर प्रयोग भइरहेको पाइएको विभागले जनाएको छ ।
उपभोक्ताले बजारमा ग्यास अभावको सामना गरिरहेका बेला होटलमा ठूलो परिमाणमा सिलिन्डर भण्डारण गरिएको भेटिएपछि विभागले होटलमाथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
मन्त्रालयले बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था आउन नदिन होटल तथा व्यावसायिक प्रतिष्ठानमा हुने ग्यासको भण्डारण र प्रयोगमाथि निगरानी थप कडा बनाउने जनाएको छ । साथै, ग्यासको अनधिकृत भण्डारण तथा वितरणमा संलग्नमाथि कारबाही गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले मुलुकमा फेरि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताएका छन् । हङकङ भ्रमणबाट फर्किएलगत्तै विज्ञप्ति जारी गर्दै देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका हुन् ।
उनले २०३३ सालमा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रवादी तथा प्रजातन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याएको स्मरण गरेका छन् ।
त्यसैगरी, लामो समयपछि अहिले पनि राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबै पक्षबीच एकता आवश्यक रहेको देउवाको भनाइ छ ।
“म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु,” देउवाले विज्ञप्तिमा भनेका छन् । मुलुकको वर्तमान परिस्थितिमा राष्ट्रिय हितका लागि सबै पक्षबीच सहकार्य र एकताको आवश्यकता रहेको उनको धारणा छ ।


काठमाडौं । बाहिर झरी परिरहेको छ, मौसम चिसिएको छ र हातमा तातो कफीको कप छ । धेरैका लागि वर्षाको योभन्दा मनपर्ने दृश्य सायदै होला । कसैका लागि कफी दिन सुरु गर्ने ऊर्जा हो भने कसैका लागि कामको थकान र निद्रा भगाउने साथी ।
तर झरीसँगै पेटले पनि समस्या देखाउन थाल्यो भने यही कफीको कप भारी पर्न सक्छ ।
वर्षायाममा ग्यास, एसिडिटी, पेट फुल्ने, पेट दुख्ने, वाकवाकी तथा झाडापखालाजस्ता समस्या देखिन सक्छन् । यस्तो अवस्थामा कफीले पेटको समस्या थप बढाउँछ कि भन्ने प्रश्न स्वाभाविक हुन्छ ।
कफी छाड्नैपर्छ त ?
वर्षा लाग्यो भन्दैमा कफी पूर्ण रूपमा बन्द गर्नुपर्ने हुँदैन । स्वस्थ व्यक्तिले आफ्नो शरीरले सहने मात्रामा कफी पिउन सक्छन् । सामान्यतः दिनमा एक–दुई कप कफी धेरैका लागि पर्याप्त हुन सक्छ ।
तर पेट संवेदनशील छ, पहिले नै ग्यास्ट्रिक वा एसिडिटीको समस्या छ अथवा कफी पिएपछि पेट असहज हुने गरेको छ भने सावधानी अपनाउनुपर्छ ।
वर्षायाममा वातावरणमा आद्र्रता र तापक्रम बढ्दा विभिन्न ब्याक्टेरिया तथा फंगल फैलिन अनुकूल वातावरण बन्न सक्छ । दूषित खाना र पानीका कारण पेटमा संक्रमण हुने सम्भावना पनि बढ्छ ।
सडकछेउका खानेकुरा, अस्वच्छ पानी, लामो समय काटेर राखिएका फलफूल तथा दूषित बरफको सेवनले पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ । मौसम परिवर्तनका कारण पाचन प्रणाली संवेदनशील हुने व्यक्तिमा समस्या झन् बढ्न सक्छ ।
कफीले कसरी बढाउँछ एसिडिटी ?
कफीमा रहेको क्याफिनले केही मानिसमा पेटको अम्ल उत्पादन र पाचन प्रणालीको गतिविधि बढाउन सक्छ । त्यसैले कफी पिएपछि छाती वा पेट पोल्ने, अमिलो डकार आउने, वाकवाकी लाग्ने वा पेट असहज हुने हुन सक्छ ।
विशेषगरी ग्यास्ट्रिक, एसिडिटी, पेटको अल्सर वा संवेदनशील पेट भएका व्यक्तिले कफी पिउँदा आफ्नो शरीरको प्रतिक्रिया हेर्नुपर्छ ।
इरिटेबल बाउल सिन्ड्रोम (आईबीएस) भएका केही व्यक्तिमा पनि कफीले पेट दुख्ने, पेट फुल्ने वा दिसाको बानीमा परिवर्तन हुनेजस्ता लक्षण बढाउन सक्छ । कफीले आईबीएस गराउँछ भन्ने होइन, तर केही व्यक्तिमा यो लक्षण बढाउने कारण बन्न सक्छ ।
कफी पिउँदा यी कुरा सम्झनुहोस्
खाली पेटमा कफी नपिउनुहोस् । बिहान उठ्नेबित्तिकै कफी पिउने बानीले केही व्यक्तिमा एसिडिटी र पेटको असहजता बढाउन सक्छ । केही खानेकुरा खाएपछि कफी पिउनु राम्रो हुन्छ ।
खाना खाएलगत्तै कफी नपिउनुहोस् । खाना र कफीबीच करिब ३०–४५ मिनेटको अन्तर राख्दा राम्रो हुन्छ ।
धेरै कडा कफीबाट नखानुहोस् । दिनमा धेरै कप कडा वा ब्ल्याक कफी पिउने बानी छ भने मात्रा घटाउनु उपयुक्त हुन्छ । पेट संवेदनशील हुनेले हल्का कफी रोज्न सक्छन् ।
अन्ततः कफी कि स्वास्थ्य ?
कफीमा एन्टिअक्सिडेन्टलगायत केही उपयोगी यौगिक पनि पाइन्छन् । त्यसैले वर्षायाममा कफीलाई नै स्वास्थ्यको मुख्य शत्रु ठान्नुपर्ने हुँदैन ।
मुख्य कुरा हो—मात्रा, समय र आफ्नो शरीरको प्रतिक्रिया ।
कफी पिएपछि बारम्बार पेट पोल्ने, ग्यास बढ्ने, पेट दुख्ने वा दिसासम्बन्धी समस्या देखिन्छ भने कफीको मात्रा घटाउनु उचित हुन्छ । समस्या लगातार भइरहेमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।
त्यसैले झरी पर्दा तातो कफीको कप समाउन डराउनुपर्दैन । तर कफीको चुस्कीसँगै आफ्नो पेटले दिएको संकेत पनि सुन्न भने बिर्सनु हुँदैन ।
काठमाडौं । नेपाल प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो–भिडिओ बनाउने र भ्रामक सामग्री फैलाउनेमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रहरीको साइबर ब्युरोले सूचना जारी गर्दै पछिल्लो समय एआई प्रविधिको प्रयोगबाट विभिन्न व्यक्ति तथा संघसंस्थाका कृत्रिम फोटो तथा भिडिओ तयार पार्ने, गलत सूचना फैलाउने र चरित्रहत्या गर्ने उद्देश्यले श्रव्यदृश्य सामग्री तथा अभिव्यक्ति सार्वजनिक गर्ने गतिविधि बढेको जनाएको हो ।
यस्ता गतिविधिले समाजमा भ्रम तथा त्रास फैलाउनुका साथै व्यक्तिको प्रतिष्ठामा समेत गम्भीर असर पार्न सक्ने भन्दै ब्युरोले संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुने स्पष्ट पारेको छ ।
विशेषगरी एआईबाट तयार पारिएका नक्कली फोटो तथा भिडिओलाई वास्तविक भन्दै सामाजिक सञ्जालमा प्रसार गर्ने कार्यप्रति सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
ब्युरोले सामाजिक सञ्जाल तथा अनलाइनमा प्राप्त हुने सबै सामग्रीलाई तत्काल सत्य नमान्न र कुनै सूचना सार्वजनिक गर्नुअघि त्यसको विश्वसनीयता जाँच गर्न आग्रह गरेको छ । आधिकारिक तथा विश्वसनीय स्रोतबाट मात्र सूचना लिन पनि प्रहरीले अनुरोध गरेको छ ।

काठमाडौं । करिब ६ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि कार्यकर्ता भेला हुने तीन स्थान तय गरिएको छ ।
कांग्रेसको संस्थापन इतर समूहका नेताहरूका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटअगाडिको खाली ठाउँ, नमस्ते गेटअगाडिको क्षेत्र र तिलगंगा आँखा अस्पतालअगाडिको स्थानमा कार्यकर्ता भेला हुनेछन् ।
जेन्जी प्रदर्शनका क्रममा बूढानीलकण्ठस्थित आफ्नै निवासमा भएको आक्रमणमा गम्भीर घाइते भएका देउवा उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका थिए । उनी बिहीबार थाई एयरवेजको उडानबाट मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको कांग्रेस नेता तथा इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए ।
देउवाको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा कांग्रेसका शीर्ष नेताहरू विमानस्थल पुग्ने तयारी छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू पनि स्वागतका लागि विमानस्थल जानेछन् ।
देउवा विमानस्थलमा ओर्लिएपछि सांस्कृतिक बाजागाजासहितको झाँकीले उनलाई स्कर्टिङ गर्ने तयारीसमेत गरिएको छ । त्यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका कांग्रेस कार्यकर्तालाई पार्टीको झण्डा र देउवाको तस्बिरसहित उपस्थित हुन निर्देशन दिइएको नेताहरूले बताएका छन् ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनः सर्वोच्च अदालत पुगेको अवस्थामा देउवा स्वदेश फर्किन लागेका हुन् ।
रोल्पा । जिल्लाको थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परी १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोले घर तथा गोठ पुरिएपछि उनीहरू बेपत्ता भएका हुन् ।
पहिरोमा परी यसअघि दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोले ६ वटा घर प्रभावित भएको प्रारम्भिक अनुमान छ ।
बोटलबारामा गएराति पहिरो खसेपछि तत्कालै प्रहरी टोली परिचालन गरिएको थियो । बिहीबार बिहानदेखि सुरक्षा निकायको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीका अनुसार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली घटनास्थलमा पुगेर उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएको छ ।
घटनास्थल रोल्पा–बागलुङ सीमा नजिक तथा जिल्ला सदरमुकामबाट करिब २१ कोशको दूरीमा रहेको जनाइएको छ ।
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । मधेश प्रदेश साथै बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केहि स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका साथै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेश पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राती देशभर साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना महाशाखाले जनाएको छ । मधेश प्रदेश साथै बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बनी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थान कोशी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै गण्डकी लुम्बनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बनी प्रदेशका हिमाली र पहाडी भू–भागको एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।





