
चितवन । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेललाई लक्षित गर्दै विद्यार्थी संगठन र कन्सल्टेन्सी सञ्चालकहरूले संयुक्त रूपमा कालो झण्डा प्रदर्शन गरेका छन् । विद्यार्थी संगठन खारेज गर्ने निर्णय, शिक्षामा लगाइएको कर तथा नयाँ कन्सल्टेन्सी नियमावलीको विरोधमा प्रदर्शन गरिएको हो ।
एक कार्यक्रममा सहभागी हुन चितवन पुगेका मन्त्री पोखरेललाई विरोधको सम्भावित अवस्थालाई ध्यानमा राख्दै प्रहरीले कडा सुरक्षा व्यवस्थासहित स्कर्टिङ गरेर कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो ।
प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले ‘शिक्षामा लगाएको कर फिर्ता गर’, ‘बालेन सरकार मुर्दावाद’ र ‘तानाशाही सरकार मुर्दावाद’ लगायतका नाराबाजी गरेका थिए । उनीहरूले सरकारले शिक्षा क्षेत्रमाथि अन्यायपूर्ण नीति लागू गरेको आरोप लगाउँदै ती निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।
यस घटनाले शिक्षा नीति र सरकारी निर्णयप्रति विद्यार्थी तथा सम्बन्धित व्यवसायीहरूको असन्तुष्टि थप सतहमा आएको देखिएको छ ।
काठमाडौं । मेटाको स्वामित्वमा रहेका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा आइतबार विश्वव्यापी रूपमा प्राविधिक समस्या देखिएको छ । सेवामा आएको अवरोधका कारण नेपालसहित विभिन्न देशका लाखौँ प्रयोगकर्ताले प्लेटफर्म प्रयोग गर्न कठिनाइ भएको बताएका छन् ।
नेपालमा पनि आइतबार दिउँसो करिब १ः३० बजेदेखि फेसबुक नखुलेको भन्दै प्रयोगकर्ताले गुनासो गरेका हुन् । विशेषगरी डेस्कटपबाट फेसबुक लगइन गर्न खोज्दा समस्या देखिएको छ भने केही प्रयोगकर्ताले मोबाइल एपमार्फत भने सेवा सामान्य रूपमा सञ्चालन भएको बताएका छन् ।
अमेरिकी सञ्चारमाध्यम न्युजविकका अनुसार अमेरिकी समयअनुसार बिहान ३ः२५ बजेदेखि समस्या सुरु भएको थियो । सुरुमा अमेरिकामा देखिएको अवरोध केही समयमै अन्य मुलुकमा फैलिएको जनाइएको छ ।
अनलाइन सेवा निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार हजारौँ प्रयोगकर्ताले एकै समयमा फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न नसकेको भन्दै रिपोर्ट गरेका छन् । प्राप्त विवरणअनुसार सबैभन्दा बढी असर डेस्कटप प्रयोगकर्तामा परेको छ । कुल गुनासामध्ये करिब ६३ प्रतिशत वेबसाइटमार्फत सेवा प्रयोग गर्ने प्रयोगकर्ताबाट आएका छन् भने २० प्रतिशत मोबाइल उपकरण र १० प्रतिशत मोबाइल एपसँग सम्बन्धित रहेका छन् ।
समस्या देखिएसँगै केही प्रयोगकर्ताले आफ्नो खाता अस्थायी रूपमा प्रतिबन्धित भएको सन्देश प्राप्त भएको अनुभव सामाजिक सञ्जाल रेडिटमार्फत सार्वजनिक गरेका छन् । पछि उक्त सन्देश सामान्य प्राविधिक त्रुटिमा परिवर्तन भएको उनीहरूको भनाइ छ । यसका कारण केही प्रयोगकर्ताले आफ्नो खाता ह्याक भएको वा बन्द गरिएको हो कि भन्ने आशंका समेत गरेका छन् ।
मेटाले भने आफ्नो आधिकारिक त्रुटि सन्देशमार्फत साइटमा आएको प्राविधिक समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध नभएको जनाएको छ । कम्पनीले समस्या समाधानका लागि काम भइरहेको उल्लेख गर्दै केही समयपछि पुनः प्रयास गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ । यद्यपि, समस्याको वास्तविक कारणबारे कुनै औपचारिक जानकारी दिएको छैन ।
यसअघि सन् २०२१ मा पनि फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टासम्म विश्वभर अवरुद्ध भएका थिए । त्यसबेला कम्पनीले नेटवर्क पूर्वाधारमा गरिएको कन्फिगरेसन परिवर्तनका कारण समस्या उत्पन्न भएको जनाएको थियो ।
यस घटनाबारे न्युजविकले मेटासँग इमेलमार्फत प्रतिक्रिया मागेको भए पनि समाचार तयार पार्दासम्म कम्पनीले समस्याको कारण वा सेवा पूर्ण रूपमा कहिलेसम्म सुचारु हुने भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–स्थित जलविरेमा दुई बस र एक ट्रक आपसमा ठोक्किँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ ।
आइतबार बिहान करिब ७ः१० बजे भएको दुर्घटनापछि सडक केही समय पूर्ण रूपमा अवरुद्ध भएको थियो । दुर्घटनाग्रस्त सवारी साधन हटाएपछि सडक दुवैतर्फबाट सञ्चालनमा आएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा ३३ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुरका अस्पताल पठाइएको छ ।
दुर्घटनामा काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस तथा सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए ।
प्रहरीले दुर्घटनाको कारण खुलिनसकेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
काठमाडौं । फिफा विश्वकप २०२६ को गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) को प्रतिस्पर्धा फाइनल खेलसम्म पुगेको छ । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्ध भएको खेलमा दुई गोल गर्दै गोल्डेन बुटको दौडमा आफूलाई शीर्ष स्थानमा पुर्याएका हुन् ।
इंग्ल्यान्डसँग ६–४ को हार बेहोरे पनि एम्बाप्पेले प्रतियोगितामा आफ्नो व्यक्तिगत गोल संख्या १० पुर्याएका छन् । उनले अर्जेन्टिनाका कप्तान लियोनेल मेसीभन्दा दुई गोलको अग्रता कायम गरेका हुन् ।
अब स्पेनविरुद्ध हुने विश्वकप फाइनल नै गोल्डेन बुटको अन्तिम निर्णय गर्ने खेल हुनेछ । मेसीले उक्त खेलमा दुई गोल गर्न सके एम्बाप्पेसँग बराबरी गर्दै असिस्टको आधारमा गोल्डेन बुट जित्न सक्ने सम्भावना रहनेछ । तर दुई गोलभन्दा कममा सीमित भए एम्बाप्पे लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने इतिहास रच्ने पहिलो खेलाडी बन्नेछन् ।
विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको सूचीमा पनि यी दुई सुपरस्टारबीच कडा प्रतिस्पर्धा देखिएको छ । हाल एम्बाप्पेका नाममा २२ विश्वकप गोल रहेका छन् भने मेसी २१ गोलसहित दोस्रो स्थानमा छन् ।
इंग्ल्यान्डविरुद्ध गरेको दुई गोलसँगै एम्बाप्पेले यस संस्करणमा १० गोल पूरा गरेका छन्, जुन २१औँ शताब्दीमा विश्वकपको एउटै संस्करणमा कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल हो । यसअघि सन् १९७० मा पश्चिम जर्मनीका महान् स्ट्राइकर गर्ड मुलरले एउटै विश्वकपमा १० गोल गरेका थिए ।
पुरुष विश्वकपको एउटै संस्करणमा आठ वा त्यसभन्दा बढी गोल गर्ने खेलाडीहरूको सूचीमा गर्ड मुलर, जस्ट फन्टेन, सान्दोर कोक्सिस, अडेमिर, एउसेबियो, गुइलेर्मो स्टाबिले, रोनाल्डो र एम्बाप्पे रहेका छन् । यसपटक एम्बाप्पेले आफ्नो उत्कृष्ट प्रदर्शनलाई अझ उचाइमा पुर्याउँदै नयाँ कीर्तिमान कायम गरेका छन् ।
गोल्डेन बुटको प्रतिस्पर्धामा इंग्ल्यान्डका जूड बेलिंघम सात गोलसहित तेस्रो स्थानमा छन् । उनी एउटै विश्वकप संस्करणमा सर्वाधिक गोल गर्ने इंग्लिस खेलाडी बनेका छन् । बेलिंघमले असिस्टका आधारमा नर्वेका एर्लिङ हालान्डलाई पछि पारेका छन् । यस्तै, इंग्ल्यान्डका कप्तान ह्यारी केन र फ्रान्सका ओसमान डेम्बेले समान ६–६ गोलसहित सूचीमा रहेका छन् ।
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ ।
जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका अधिकांश स्थानमा तथा तराई भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ ।
महाशाखाका अनुसार आज राति देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा र तराई भूभागका अधिकांश स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ ।
अति भारी वर्षाको सम्भावना रहेका स्थानमा बाढी पहिरोको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।





