
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले बुधबार पनि सकारात्मक लय कायम राखेको छ । यस दिन नेप्से परिसूचक १४ अंकले बढेर दुई हजार ५९० दशमलव २९ बिन्दुमा कायम भएको हो ।
बुधबार कुल ८४ लाख ७३ हजार १६ कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब १७ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो, जसको तुलनामा बुधबार कारोबार रकम उल्लेख्य रूपमा घटेको देखिएको छ ।
आज १९५ धितोपत्रको शेयर मूल्य बढ्दा ६० को घटेको छ । यस्तै १९ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३६२ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार विकास बैंक १ दशमलव ३७, निर्जीवन बीमा १ दशमलव ०३, बैंकिङ शून्य दशमलव ७४, होटेल तथा पर्यटन शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५७, जीवन बीमा शून्य दशमलव ५४, हाइड्रोपावर शून्य दशमलव ४७, माइक्रोफाइनान्स शून्य दशमलव २७, फाइनान्स शून्य दशमलव ७ र व्यापार समूहको उपसूचक शून्य दशमलव ६ प्रतिशतले बढेको छ ।
यसैगरी लगानी उपसूचक शून्य दशमलव ४६ प्रतिशतले घट्दा म्युचुअल फण्ड स्थिर रह्यो ।
आज नारायणी डेभलवमेन्ट बैंक ८ दशमलव ४ र सागर डिस्टीलरीको शेयर मूल्य ६ दशमलव ०३ प्रतिशतले बढेको छ ।
यसदिन उपकार लघुवित्त ७ दशमलव ३२, कएनआईबीएल स्टाबल फण्ड ६ दशमलव २८, एनआईसी एशिया सेलेक्ट फण्ड २० ३ दशमलव ७४, कर्पोरेट डेभलवमेन्ट बैंक ३ दशमलव ०६ आत्मनिर्भर लघुवित्तको शेयर मूल्य ३ प्रतिशतले घटेको छ ।
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गरेपछि प्रहरीले संगठनका ७ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
राज्य आतंक बढ्दै गएको आरोप लगाउँदै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै संगठनका अध्यक्ष दीपक धामीसहित अन्य नेताहरूलाई नियन्त्रणमा लिएको हो ।
अनेरास्ववियुका अनुसार पक्राउ पर्नेमा अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानून राष्ट्रिय कमिटी सचिव सुदीप थापा तथा सिरिस बुढाथोकी रहेका छन् ।
प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको जनाइएको छ ।
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले देशभर साधारणता बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणता बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशको पहाडी र तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणता बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-० ले पराजित गर्दै भव्य रूपमा फाइनलमा प्रवेश गरेको छ । डलासमा भएको उच्चस्तरीय प्रतिस्पर्धामा स्पेनले प्रभावशाली प्रदर्शन गर्दै फ्रान्सको लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने सपना समाप्त पारिदियो । योसँगै सन् २०१० पछि पहिलो पटक र समग्रमा दोस्रो पटक स्पेन विश्वकपको फाइनलमा पुगेको हो ।
विश्व फुटबलका दुई शक्तिशाली टोलीबीचको बहुप्रतीक्षित भिडन्तमा सुरुवातदेखि नै दुवै टोली आक्रामक देखिए । खेलको आठौं मिनेटमै फ्रान्सका आद्रिएन राबियोले पहेंलो कार्ड पाएपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो ।
स्पेनले २२औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई मिकेल ओयारजाबालले सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफ १-० मै सकिएको खेलमा स्पेनले दोस्रो हाफमा पनि आफ्नो लय कायम राख्यो । ५८औं मिनेटमा डिफेन्डर पेड्रो पोरोले आकर्षक गोल गर्दै अग्रता दोब्बर बनाए ।
त्यसपछि स्पेनले रणनीतिक रूपमा खेल नियन्त्रणमा राख्दै रक्षात्मक मजबुती देखायो । अन्तिमतिर उनाइ सिमोनमाथि फाउल गरेपछि फ्रान्सका कप्तान किलियन एम्बाप्पेले पनि पहेंलो कार्ड पाए ।
क्वार्टरफाइनलमा बेल्जियमलाई १-० ले हराएको स्पेनले प्रतियोगिताभर उत्कृष्ट रक्षात्मक प्रदर्शनलाई निरन्तरता दिँदै फ्रान्सविरुद्ध पनि क्लिन सिट राख्न सफल भयो । अर्कोतर्फ, मोरक्कोलाई हराएर सेमिफाइनल पुगेको फ्रान्स भने उपाधि यात्राबाट बाहिरिएको छ ।
यो जितसँगै स्पेन दोस्रो विश्वकप उपाधिबाट अब केवल एक जित टाढा पुगेको छ भने फ्रान्सको लगातार तेस्रो विश्वकप फाइनल खेल्ने सपना सेमिफाइनलमै टुंगिएको छ ।





