
काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशन तथा प्रसारणका लागि सरकारले लागू गरेको एकद्वार प्रणाली खारेज गर्न आदेश दिएको छ ।
न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार (असार ३०) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको उक्त व्यवस्था उत्प्रेषणको आदेशमार्फत बदर गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने उद्देश्यसहित एकद्वार प्रणाली लागू गरेको थियो ।
उक्त निर्णयले निजी तथा सार्वजनिक सञ्चारमाध्यमको हितविपरीत असर पार्ने भन्दै नेपाल मिडिया सोसाइटीले २०८२ चैत २३ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो ।
सर्वोच्च अदालतको संयुक्त इजलासले रिटमाथि सुनुवाइ गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको परिपत्रलाई कानुनविपरीत ठहर गर्दै बदर गर्ने आदेश दिएको हो।
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक ६ दशमलव ११ अंकले बढेर दुई हजार ५७६ दशमलव २९ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँको कारोबार भएको थियो ।
कारोबार भएका ३८३ धितोपत्रमध्ये १६४ कम्पनीको शेयर मूल्य बढ्दा १०१ कम्पनीको घटेको छ । यस्तै १० कम्पनीको मूल्य स्थिर रह्यो ।
मंगलबार उत्पादन तथा प्रशोधन शून्य दशमलव १८ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन व्यापार समूह सर्वाधिक १ दशमलव ४७ प्रतिशतले घटेको छ ।
यसदिन म्युचुअल फण्ड शून्य दशमलव ६१, लगानी शून्य दशमलव ५४, फाइनान्स शून्य दशमलव ५१, जीवन बीमा शून्य दशमलव ३७, विकास बैंक शून्य दशमलव २९, हाइड्रोपावर शून्य दशमलव २७, अन्य शून्य दशमलव १५, बैंकिङ शून्य दशमलव ९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०८, माइक्रोफाइनान्स शून्य दशमलव ०७ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले बढेको छ ।
आज उपकार लघुवित्त ९ दशमलव १९, एनआईबीएल स्टाबल फण्ड ७ दशमलव ७२ र ज्योति विकास बैंक २०८७ को शेयर मूल्य ७ दशमलव ६६ प्रतिशतले बढेको छ ।
यसदिन सामुदायिक लघुवित्त ८ दशमलव १, स्वावलम्बन लघुवित्त ४ दशमलव ४७ र सुपर खुदी हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ६५ प्रतिशतले घटेको छ ।
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा गएरातिदेखि लगातार वर्षा भइरहेको छ । आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह जल तथा मौसम महाशाखाले गरेको छ ।
महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव कायम रहँदा मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक उत्तरतर्फ अवस्थित छ । यही प्रणालीका कारण अधिकांश क्षेत्रमा बदलीसँगै वर्षा भइरहेको हो ।
आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिममा पनि आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ । लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि भारी वर्षाको जोखिम रहेको महाशाखाको पूर्वानुमान छ ।
रातिको समयमा पनि देशभर बदली कायम रहने र कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ । विशेषगरी कोसी प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले नदी–खोला आसपास तथा पहिरोको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।





