
धनकुटामा नेपाली कांग्रेसका संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । उनीहरूले कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै पार्टी परित्याग गरेको पत्र बुझाएका हुन् ।
पार्टी छाड्नेमध्ये कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा र क्षेत्रीय प्रतिनिधि राजकुमारी राईलगायत रहेका छन् ।
राजीनामा पत्रमा पार्टीभित्र वैचारिक मतभेद बढ्दै गएको, साथै सक्रिय रूपमा काम गर्ने अनुकूल वातावरण नरहेको उल्लेख गरिएको छ ।
पार्टी परित्याग गरेका नेताहरूले अब कुन राजनीतिक यात्रामा अघि बढ्ने भन्ने विषयमा औपचारिक घोषणा गरेका छैनन् । यद्यपि, उनीहरू हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध हुन सक्ने चर्चा राजनीतिक वृत्तमा भइरहेको छ ।


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारशमणि गेलालले मेयरलाई कर्मचारीसरह सरुवा गर्नुपर्ने अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि त्यसबारे चर्चा सुरु भएको छ । संविधान र स्थानीय तह सञ्चालन ऐनअनुसार निर्वाचित जनप्रतिनिधिलाई कर्मचारीझैँ सरुवा गर्ने व्यवस्था नभएकाले उनको भनाइमाथि कानुनी र राजनीतिक प्रश्न उठेको छ ।
सार्वजनिक भिडियोमा गेलालले एक व्यक्तिसँग कुरा गर्दै, ‘अधिकृत भनेको कर्मचारी हुन्, ती सुध्रिन सक्छन्, अब मेयरै सरुवा गर्नुपर्छ, मेयर सरुवा गर्ने तयारी गर्नुस्, मैले भन्या छु, तपाईंको विषय मैले बुझेँ, म त्यहाँ आएको बेला यो स्कुललाई …।’
यो भिडियो उदयपुर–२ का सांसद सूर्य तामाङले सार्वजनिक गरेका हुन् । पार्टीभित्र यस घटनाले थप बहस र आन्तरिक विवाद बढाउन सक्ने चर्चा भइरहेको छ ।
नेपालको संविधानको धारा २१५ तथा स्थानीय तह सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका अध्यक्ष र नगरप्रमुख (मेयर) निर्वाचित जनप्रतिनिधि हुन् । उनीहरूको पाँच वर्षको कार्यकाल हुन्छ र उनीहरूलाई कर्मचारीसरह सरुवा गर्ने कानुनी व्यवस्था छैन । पदबाट हटाउने प्रक्रिया भने संविधान र कानुनले तोकेका आधार तथा प्रक्रियाअनुसार मात्र सम्भव हुन्छ ।
स्नातकोत्तरसम्म अध्ययन गरेका गेलालको यस्तो अभिव्यक्तिप्रति राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आएका छन् । सांसदबाट संविधान र कानुनविपरीत देखिने अभिव्यक्ति आउनु उपयुक्त हो वा होइन भन्ने विषयमा पनि बहस भइरहेको छ ।
यस विषयमा रास्वपाले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
डोल्पा । जिल्लाको जगदुल्ला गाउँपालिका–५ स्थित गैरी गाउँमा लगातारको वर्षापछि आएको पहिरोसहितको बाढी बस्तीमा पसेर ठूलो क्षति पुर्याएको छ । घटनामा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बाढीले कम्तीमा १० वटा घरमा क्षति पुर्याएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार शनिबार राति करिब ३ बजे गैरी गाउँ नजिकको धुला खोलामा हिलो–माटोसहितको बाढी आएर बस्तीमा पसेको थियो ।
बाढी बस्तीमा प्रवेश गरेको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ र इलाका प्रहरी कार्यालय काईगाउँबाट प्रहरी टोली तत्काल उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको थियो ।
बाढीमा घाइते भएकी ५६ वर्षीया आनन्दी विकलाई प्रहरीले उद्धार गरी उपचारका लागि झ्याकोट स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी गिरीले जानकारी दिए ।
घटनामा एक पुरुष, तीन महिला र दुई बालिका गरी ६ जना घाइते भएका छन् । उनीहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था र अन्य विवरण संकलन भइरहेको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा पाँच सदस्यीय थप टोली राहत, उद्धार तथा क्षतिको विवरण संकलनका लागि घटनास्थलतर्फ पठाइएको छ । दुर्गम भौगोलिक अवस्थाका कारण टोलीलाई घटनास्थल पुग्न करिब दुईदेखि तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।





