
काठमाडौं, १८ असार । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना एआईजीको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेलले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको बताए ।
त्यसैगरी सरकारले कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ । साथै शिक्षा नियमावलीको दशौँ संशोधन, २०८३ पनि स्वीकृत गरिएको छ ।
मन्त्रिपरिषद्ले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल तथा सुरक्षा मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ । साथै ‘युनाइटेड नेसन्स कन्भेन्सन अन द ल अफ द सी’ अन्तर्गत राष्ट्रिय अधिकार क्षेत्रभन्दा बाहिरका समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न पनि सरकारले स्वीकृति दिएको छ ।
यसका अतिरिक्त मन्त्रिपरिषद्ले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार सामान्य अंकले उकालो लागेको छ । कारोबारको अन्त्यसम्म नेप्से परिसूचक ८ दशमलव ७८ अंकले बढेर दुई हजार ६६१ दशमलव ७१ बिन्दुमा कायम भएको हो ।
आज ८९ लाख ६४ हजार २२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ८६ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १०८ धितोपत्रको शेयर मूल्य बढ्दा १५२ को घटेको छ । यस्तै १३ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५९ धितोपत्र कारोबारमा आएका छन् ।
यसदिन बैंकिङ २ दशमलव ०४, फाइनान्स शून्य दशमलव २८, जीवन बीमा शून्य दशमलव १६, म्युचुअल फण्ड शून्य दशमलव ०६ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले बढेको छ ।
यसैगरी उत्पादन तथा प्रशोधन शून्य दशमलव ८६, निर्जीवन बीमा शून्य दशमलव ३४, हाइड्रोपावर शून्य दशमलव २६, होटेल तथा पर्यटन शून्य दशमलव १३, विकास बैंक शून्य दशमलव १३, व्यापार शून्य दशमलव ५, लगानी शून्य दशमलव ०३ र अन्य उपसूचक शून्य दशमलव २ प्रतिशतले घटेको छ ।
आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा स्नो रिभर्स, अपार लहरे खोला हाइड्रोपावर र कालंगा हाइड्रो रहेका छन् । यस्तै सानिगढ हाइड्रो १४ दशमलव ९७ र धौलागिरी लघुवित्तको शेयर मूल्य १३ दशमलव ६७ प्रतिशतले बढेको छ ।
यसदिन भुजुंग हाइड्रोपावर ९ दशमलव ४३, सामुदायिक लघुवित्त ७ दशमलव ८३, सीवाईसी नेपाल लघुवित्त ७ दशमलव २३ र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ५ दशमलव ५६ प्रतिशतले घटेको छ ।
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह हेल्मेट नलगाई मोटरसाइकल चलाएको अभियोगमा ट्राफिक कारबाहीमा परेका छन् । मुख्यमन्त्री निवास परिसरभित्र हेल्मेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनको व्यापक आलोचना भएको थियो ।
आलोचनापछि ट्राफिक प्रहरी मुख्यमन्त्री निवासमै पुगेर शाहलाई चिट काट्दै ५०० रुपैयाँ जरिवाना गरेको हो । ट्राफिक प्रहरीले जारी गरेको चिटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ ।
पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरे । उनले नियमअनुसार आफूलाई कारबाही गर्न ट्राफिक प्रहरीलाई आफैं आग्रह गरेको पनि बताए ।
‘म ट्राफिक प्रहरीलाई धन्यवाद दिन्छु, कानुन सबैका लागि समान हुनुपर्छ, ठूला व्यक्तिलाई कानुन नलाग्ने भन्ने हुँदैन, कानुनले व्यवस्था गरेअनुसार सबैले कारबाही भोग्नुपर्छ,’ उनले भने ।
उनले पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै विभेद हुन नहुने उल्लेख गर्दै सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटकमार्फत शाहले हेल्मेटबिना मोटरसाइकल चलाएको भिडियो सार्वजनिक गरेका थिए । केही समयदेखि वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीसमेत भएका थिए ।
काठमाडौं, १८ असार । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लामो समय सेवा गरेका डा. सिंहलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालको अध्यक्षको जिम्मेवारी दिएको हो । उनले आफू नियुक्त भएको जानकारी मन्त्रालयबाट प्राप्त भएको बताएका छन् ।
अस्पतालको अध्यक्ष चयनका लागि मन्त्रालयले गत वैशाख १५ गते आवेदन आह्वान गरेको थियो। उक्त पदका लागि कुल आठ जनाले आवेदन दिएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ ।
सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ ।
बैठकमा समसामयिक सरकारी विषयमा छलफल हुनुका साथै विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरिने अपेक्षा गरिएको छ।
शैलुङ । दोलखाको शैलुङ गाउँपालिकाले पर्यटकीय गन्तव्य कालापानी–शैलुङ मिनी ग्रेटवालमा प्रवेश गर्न अब शुल्क लाग्ने व्यवस्था गरेको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ को स्वीकृत आर्थिक ऐन, २०८३ बमोजिम साउन १ गतेदेखि मिनी ग्रेटवाल प्रवेश गर्ने आगन्तुकबाट प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क लिइने जनाएको हो ।
प्रमुख प्रशासकीय अधिकृत संजिव न्यौपानेका अनुसार उक्त रकम मिनी ग्रेटवालको मर्मतसम्भार तथा नियमित सरसफाइका लागि खर्च गरिनेछ । यद्यपि विद्यार्थी र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिइनेछ ।
यस्तै, दोलखाको शैलुङ गाउँपालिका, मेलुङ गाउँपालिका तथा रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका स्थायी बासिन्दाले नेपाल सरकारबाट जारी स्थायी ठेगाना खुल्ने नागरिकता वा अन्य आधिकारिक प्रमाणपत्र पेश गरेमा प्रवेश शुल्क लाग्ने छैन ।
गाउँपालिकाले पर्यटकलाई तोकिएका नियमको पालना गर्दै भ्रमण गर्न र प्राकृतिक तथा पर्यटकीय सम्पदाको संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ ।

काठमाडौं । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका नागरिक रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित सडकमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गरी दुःख हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
कार्यक्षेत्रमा खटिएका प्रहरी टोलीले पक्राउ परेका उनीहरुलाई सम्झाईबुझाई गर्ने क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना छ । विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा कोसी र मधेस प्रदेशको तराईका एक/दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, देशका पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थान तथा कोसी र मधेस प्रदेशका तराईका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
राति गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपासका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।





