
काठमाडौं । सरकारले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कडा आर्थिक दण्डको व्यवस्था गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदामा न्यूनतम ५ सय रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको हो ।
प्रस्तावित व्यवस्थाअनुसार सवारी साधनमा अपारदर्शी सिसा जडान गर्ने वा बाहिरबाट भित्र नदेखिने गरी अन्य सामग्री प्रयोग गर्ने चालकलाई सबैभन्दा बढी १ लाख रुपैयाँसम्म जरिवाना गरिनेछ ।
मादक पदार्थ वा लागू पदार्थ सेवन (मापसे/लापसे) गरेर सवारी चलाएको पाइएमा सवारीको प्रकृतिअनुसार २५ हजार, ३५ हजार वा ५० हजार रुपैयाँसम्म जरिवाना लाग्ने प्रस्ताव छ । यसैगरी, तोकिएको गति सीमाभन्दा ६० प्रतिशतभन्दा बढी गतिमा सवारी चलाएमा पनि कडा आर्थिक दण्डको व्यवस्था गरिएको छ ।
मस्यौदामा पैदलयात्रीलाई पनि जिम्मेवार बनाइएको छ । तोकिएको जेब्राक्रसिङ वा निर्धारित स्थानबाहेकबाट सडक पार गर्ने पैदलयात्रीले ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
यी गल्तीमा यति जरिवाना प्रस्ताव
१० हजार रुपैयाँ : लेन अनुशासन उल्लंघन, फुटपाथमा सवारी चलाउने, वान–वे सडकमा उल्टो दिशाबाट सवारी चलाउने तथा सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने।
२५ हजार रुपैयाँ : अनुमति नलिई विदेशी सवारी साधन सञ्चालन गर्ने।
५ हजारदेखि २५ हजार रुपैयाँसम्म : सार्वजनिक सडकमा निर्माण सामग्री वा अन्य सामान राखी आवागमन अवरुद्ध गर्ने।
५ हजारदेखि २० हजार रुपैयाँसम्म : सार्वजनिक सवारीमा तोकिएको क्षमताभन्दा बढी यात्रु बोक्ने।
५ हजारदेखि १५ हजार रुपैयाँसम्म : सवारी प्रदूषण परीक्षण प्रमाणपत्र नहुने।
५ हजार रुपैयाँ : ढोका खुला राखेर वा प्राविधिक रूपमा उपयुक्त नभएको सवारी सञ्चालन गर्ने।
३ हजारदेखि ५ हजार रुपैयाँसम्म : ट्राफिक संकेत वा ट्राफिक लाइटको उल्लंघन गर्ने।
३ हजार रुपैयाँ : सीट बेल्ट वा हेल्मेट प्रयोग नगरी सवारी चलाउने।
विधेयकमा ट्राफिक जरिवाना डिजिटल माध्यमबाट मात्र भुक्तानी गर्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ । नागरिक एप वा अन्य विद्युतीय प्रणालीमार्फत जरिवाना तिर्न सकिनेछ ।
जरिवाना तत्काल नतिरेमा ट्राफिक प्रहरीले चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुक वा बाटो इजाजतपत्र नियन्त्रणमा लिन सक्ने व्यवस्था गरिएको छ । जरिवाना भुक्तानी गरेपछि मात्र ती कागजात फिर्ता गरिनेछ ।
यस्तै, एउटै ट्राफिक कसुर पटक–पटक दोहोर्याउने चालकलाई थप कडा सजायको व्यवस्था प्रस्ताव गरिएको छ । दोस्रो पटक सोही गल्ती गरेमा ५० प्रतिशत थप जरिवाना र त्यसपछि दोहोरिने प्रत्येक अवस्थामा शतप्रतिशत थप जरिवाना लाग्नेछ ।
यससँगै, यातायात निरीक्षकलाई जुनसुकै समयमा सवारी साधन, चालक, आवश्यक कागजात तथा चालकको व्यवहारसमेत निरीक्षण गर्ने अधिकार प्रदान गर्ने व्यवस्था पनि मस्यौदामा समावेश गरिएको छ ।


काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ भने कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक २ अंकले घटेर दुई हजार ६४९ दशमलव ५१ बिन्दुमा कायम भएको हो ।
यस दिन ७७ लाख २७ हजार ६२९ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ३ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बिहीबार २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँको मात्रै कारोबार भएको थियो ।
आज कारोबारमा आएका ३५९ धितोपत्रमध्ये ८५ कम्पनीको शेयर मूल्य बढ्दा १७० कम्पनीको घटेको छ भने २० कम्पनीको मूल्य स्थिर रह्यो ।
आज व्यापार १ दशमलव ०६, निर्जीवन बीमा शून्य दशमलव ५४, म्युचुअल फण्ड र होटेल तथा पर्यटनको समान शून्य दशमलव २३ र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव ६ प्रतिशतले बढेको छ ।
यस्तै लगानी शून्य दशमलव ५८, माइक्रोफाइनान्स शून्य दशमलव ५६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३८, फाइनान्स शून्य दशमलव ३१, विकास बैंक शून्य दशमलव २७, अन्य शून्य दशमलव ०७, बैंकिङ शून्य दशमलव ०६ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले घटेको छ ।
आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा स्नो रिभर्स, याम्बालिङ हाइड्रोपावार र टक्सार खोला हाइड्रोपावर रहेका छन् ।
यसैगरी कालिका लघुवित्त १० दशमलव ७६, सप्तकोशी डेभलवमेन्ट बैंक ९ दशमलव ४५ र हिमालयन इन्भेष्टमेन्ट इन्सुरेन्स प्रमोटरको शेयर मूल्य ४ दशमलव ९३ प्रतिशतले ह्रास आएको छ ।
काठमाडौं । भेनेजुएलामा बुधबार साँझ आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । स्थानीय अधिकारीहरूका अनुसार हालसम्म कम्तीमा २३५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
सीएनएनका अनुसार चार हजार ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने २०० भन्दा बढी मानिस अझै पनि भग्नावशेषमा फसेका छन् । स्वास्थ्य मन्त्रालयले करिब ३९ हजार मानिस सम्पर्कविहीन रहेको जनाएको छ ।
अधिकारीहरूले यसलाई पछिल्लो १२६ वर्षयताकै सबैभन्दा विनाशकारी भूकम्पमध्ये एक मानेका छन् । यसको धक्का छिमेकी ब्राजिलको अमेजन क्षेत्रसम्म महसुस गरिएको थियो ।
भूकम्पपछि प्रभावित क्षेत्रमा स्थानीयवासी आफन्तको खोजीमा भग्नावशेष हटाइरहेका छन् भने उद्धार टोलीले निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ । घाइतेहरूलाई भग्नावशेषबाट निकालेर उपचारका लागि अस्पताल पु¥याउने काम जारी छ ।
सरकारी टेलिभिजनले सिमेन्टको ठूलो स्ल्याबमुनि फसेकी एक महिलाको जीवित उद्धार गरिएको दृश्य प्रसारण गरेको छ । यद्यपि राजधानी काराकास बाहिरका धेरै प्रभावित क्षेत्रमा सरकारी उद्धार टोली अझै पर्याप्त रूपमा पुग्न नसकेको जनाइएको छ ।
सबैभन्दा बढी क्षति ला गुएरा तटीय क्षेत्रमा भएको छ, जहाँ दर्जनौँ भवनहरू भत्किएका छन् । देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल पनि सोही क्षेत्रमा रहेकाले त्यसमा समेत क्षति पुगेको छ । विमानस्थल बन्द गरिएकाले सबै उडान स्थगित भएका छन् र राहत सामग्री ढुवानीमा कठिनाइ उत्पन्न भएको छ ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले ला गुएरालाई विपद्ग्रस्त क्षेत्र घोषणा गर्दै देशभरका उद्धार टोलीलाई तत्काल प्रभावित क्षेत्रमा परिचालन गर्न निर्देशन दिएकी छन् ।
भूकम्पका कारण धेरै स्थानमा विद्युत्, मोबाइल नेटवर्क, ग्यास आपूर्ति तथा मेट्रो सेवा अवरुद्ध भएको छ । विद्यालयहरू बन्द गरी तिनलाई अस्थायी राहत शिविर र सहायता केन्द्रका रूपमा प्रयोग गर्न थालिएको छ ।
अमेरिका, मेक्सिको, ब्राजिल, क्यानडा, स्पेन, पोर्चुगल र कतारलगायत विभिन्न देशहरूले उद्धार टोली, चिकित्सक, राहत सामग्री, स्निफर डग, ड्रोन तथा पानी शुद्धीकरण उपकरण पठाउने घोषणा गरेका छन् ।
यसैबीच, राहत तथा उद्धार कार्यलाई सहज बनाउन अमेरिकाले भेनेजुएलामाथि लगाइएका केही आर्थिक प्रतिबन्ध आगामी अक्टोबर २३ सम्मका लागि अस्थायी रूपमा फुकुवा गरेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्नो देशले आवश्यक राहत सामग्री छिटो उपलब्ध गराउने बताएका छन् । तर मुख्य अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेकाले राहत सामग्री पु¥याउन र उद्धार अभियान सञ्चालन गर्न चुनौती थपिएको छ ।





