
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन ५ अंकले घटेको बजार आज १.६३ अंकले सुधारिँदै २७०२ अंकमा पुगेको हो ।
पछिल्ला केही दिनदेखि बजारमा ठूलो उतारचढाव नदेखिएको अवस्था शुक्रबार पनि कायम रह्यो । कारोबार अवधिभर नेप्से २६९२ देखि २७११ अंकको सीमाभित्र घुमेको थियो, जसले लगानीकर्तामा अझै पनि पर्ख र हेरको अवस्था रहेको संकेत गरेको छ ।
यद्यपि, बजारमा कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ । बिहीबार ३ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएकोमा शुक्रबार यो रकम बढेर ४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । कारोबारमा सहभागी कम्पनीमध्ये ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको मूल्य घट्यो भने १७ कम्पनीको मूल्य स्थिर रह्यो ।
समूहगत सूचकतर्फ अधिकांश क्षेत्रको उतारचढाव १ प्रतिशतभन्दा कम सीमित रह्यो । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य समूहमा सामान्य गिरावट देखिँदा फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स तथा व्यापार समूहमा हल्का वृद्धि भएको छ । व्यापार समूह ०.७५ प्रतिशतले बढ्दै सबैभन्दा बढी लाभ गर्ने क्षेत्र बनेको छ ।
शुक्रबार दुई नयाँ सूचीकृत कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखियो । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य १५–१५ प्रतिशतले बढेको छ। मूल्य वृद्धिपछि सोपान फर्मास्युटिकल्सको प्रतिकित्ता मूल्य १ हजार ६० रुपैयाँ र एपोलो हाइड्रोपावरको ९१६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ९.०८ प्रतिशत, रिलायन्स फाइनान्सको ६.७२ प्रतिशत तथा गुराँस लघुवित्तको ४.५५ प्रतिशतले बढेको छ । विपरीत दिशामा बुंगल हाइड्रोपावरको सेयर मूल्य १२.४५ प्रतिशतले घट्दा आत्मनिर्भर लघुवित्तको १०.२१ प्रतिशत र सालपा विकास बैंकको ३.२८ प्रतिशतले मूल्य ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा भने सोपान फर्मास्युटिकल्स, आँखुखोला जलविद्युत्, युनाइटेड मोदी हाइड्रोपावर र बुंगल हाइड्रोपावर अग्रस्थानमा रहे । कारोबार रकम बढे पनि बजारको समग्र चाल भने अझै सीमित दायरामै देखिएको छ ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बोर्ड बैठकले नतिजा अनुमोदन गरेपछि सार्वजनिक गरिएको हो ।
बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि देशभर सञ्चालन गरिएको थियो । परीक्षाको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूले आफ्नो प्राप्ताङ्क तथा ग्रेड अनलाइन माध्यमबाट हेर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
यसैबीच, परीक्षा सञ्चालनको क्रममा मर्यादा विपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । परीक्षा रद्द हुनेमा नियमिततर्फका ३० जना र आंशिकतर्फका १० जना विद्यार्थी रहेका छन् ।
बोर्डले परीक्षा प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन आगामी दिनमा निगरानी तथा नियन्त्रणका उपायहरू थप प्रभावकारी बनाइने जनाएको छ ।

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिकलाई लक्षित गर्दै प्रोभिजनल राष्ट्रिय परिचयपत्र (eNID) अनलाइनमार्फत डाउनलोड गर्न सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। सरकारी सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभागले बिहीबारदेखि यो सुविधा लागू गरेको जनाएको छ।
सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गतको लक्ष्य कार्यान्वयन गर्दै विभागले राष्ट्रिय परिचय नम्बर (NIN) प्राप्त गरिसकेका नेपाली नागरिकलाई आफ्नै eNID डाउनलोड गर्ने व्यवस्था गरेको हो।
विभागका अनुसार नागरिकले आधिकारिक सिटिजन पोर्टलमा प्रवेश गरी आफ्नो नाम (नेपाली वा अंग्रेजी), जन्ममिति तथा नागरिकता जारी भएको मिति उल्लेख गरेपछि eNID प्राप्त गर्न सक्नेछन्।
डाउनलोड गरिएको कार्डमा सम्बन्धित व्यक्तिको फोटोसहित क्यूआर कोड रहनेछ, जसलाई अनलाइनमार्फत प्रमाणीकरण गर्न सकिने व्यवस्था गरिएको छ। सुरक्षा सुनिश्चित गर्न eNID फाइल पासवर्डमार्फत सुरक्षित रहने विभागले जनाएको छ।
विभागले नागरिकलाई डाउनलोड गरिएको कार्ड सुरक्षित रूपमा भण्डारण गर्न आग्रह गरेको छ। यसअघि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले विभागबाट प्रिन्ट गरिएको फोटोसहितको निस्साका आधारमा सेवा उपलब्ध गराउँदै आएका थिए।
अब भने सेवा प्रदान गर्ने निकायहरूले eNID मा रहेको क्यूआर कोड स्क्यान गरी प्राप्त विवरण र सेवाग्राहीले प्रस्तुत गरेको परिचयपत्रको विवरण मिलाएर मात्र सेवा दिन विभागले अनुरोध गरेको छ।
सेवा प्रयोग गर्ने तरिकाबारे जानकारी दिन विभागले आफ्नो वेबसाइटमा प्रयोगकर्ता निर्देशिका (User Manual) समेत उपलब्ध गराएको जनाएको छ।
यद्यपि सेवा सुरु भएसँगै केही सेवाग्राहीले eNID डाउनलोड गर्ने क्रममा आवश्यक क्याप्चा विकल्प नदेखिएको भन्दै समस्या भोग्नुपरेको गुनासो गरेका छन्।
काठमाडौं । विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा क्यानडाले कतारलाई ६–० ले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको छ । विश्वकपको समूह चरणमा क्यानडाले पहिलोपटक जित निकाल्न सफल भएको हो ।
सन् १९८६ र २००२ को विश्वकपमा सहभागिता जनाए पनि क्यानडाले समूह चरणमा कुनै जित दर्ता गर्न सकेको थिएन । कतारविरुद्धको फराकिलो जित क्यानडाको विश्वकप इतिहासकै सबैभन्दा ठूलो अन्तरको विजय बनेको छ ।
क्यानडाले खेलको १६औँ मिनेटमा क्लाइल केरिनको गोलमार्फत अग्रता लिएको थियो । त्यसपछि ३९औँ मिनेटमा जोनाथन डेभिडले गोल थपे भने पहिलो हाफको इन्जुरी समयमा पुनः गोल गर्दै टोलीलाई ३–० को मजबुत अग्रता दिलाए ।
कतारले खेलभर दबाब झेल्नुपर्यो । ३३औँ मिनेटमा होमाम अहमद रेड कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो । दोस्रो हाफको ५५औँ मिनेटमा असिम ओमामिदो पनि रातो कार्ड पाएपछि कतार नौ खेलाडीमा झर्यो ।
खेलको ६३औँ मिनेटमा लियाम मिलरले क्यानडाको चौथो गोल गरे। ७४औँ मिनेटमा मोहम्मद मुनाइबाट आत्मघाती गोल भएपछि स्कोर ५–० पुग्यो । इन्जुरी समयमा जोनाथन डेभिडले व्यक्तिगत ह्याट्रिक पूरा गर्दै क्यानडाको जित ६–० मा सुनिश्चित गरे ।
यस जितसँगै क्यानडाले दुई खेलबाट चार अंक बनाएको छ । पहिलो खेलमा उसले बोस्निया–हर्जगोभिनासँग बराबरी खेल्दै एक अंक हासिल गरेको थियो ।
चेकिया र दक्षिण अफ्रिका बराबरीमा रोकिए
विश्वकपको अर्को खेलमा चेकिया र दक्षिण अफ्रिकाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
चेकियाले खेलको सुरुआतमै अग्रता बनाएको थियो । पाँचौँ मिनेटमा मिखाइल सेड्लिकले गोल गर्दै टोलीलाई अघि बढाएका थिए । एडम होल्जेकको पासलाई अलेक्सजेन्डर सोज्काले उत्कृष्ट रूपमा नियन्त्रण गरेपछि सेड्लिकले अवसर सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए ।
पहिलो हाफमा अग्रता जोगाएको चेकियाविरुद्ध दक्षिण अफ्रिकाले दोस्रो हाफमा पुनरागमन ग¥यो । ८१औँ मिनेटमा प्याबेल सुलकबाट ह्यान्डबल भएपछि दक्षिण अफ्रिकाले पेनाल्टीको अवसर पायो । उक्त अवसरलाई थेबो मोनेकाले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।
खेल १–१ को बराबरीमा सकिएपछि दुवै टोलीले एक–एक अंक प्राप्त गरेका छन् । यसअघि पहिलो खेलमा चेकिया दक्षिण कोरियासँग २–१ ले पराजित भएको थियो भने दक्षिण अफ्रिका मेक्सिकोसँग २–० ले हारेको थियो ।






